जाजरकोट भूकम्प : बागमती र सुदूरपश्चिम प्रदेश सरकारद्वारा राहतको घोषणा,स्वास्थ्यकर्मी टोली पठाइने
सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो ।
यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको छ ।
यसैबीच बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, जाजरकोटका सांसद रहनुभएका उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वमन्त्री तथा रुकुम पश्चिमका सांसद जनार्दन शर्मा प्रभाकरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।
घाइतेहरुको रुकुम र जाजरकोटको जिल्ला अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत, नेपालगन्ज लगायतका ठाउँमा उपचार भइरहेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।त्यसयता पटक–पटक परकम्प पनि आएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत