भूकम्प अपडेट : ८० बढीको मृत्यु, प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहितको टोली
जाजरकोटमा हिजो राति गएको भूकम्पमा परी मृत्यु हुनेको करिब ८० पुगेको छ।प्रहरी तथा अन्य स्रोतबाट आएको जानकारी अनुसार आज बिहान ७ बजेसम्म करिब ८० जना जतिको मृत्यु भएको पुष्टि भएको रुकमबाट पत्रकार गोविन्द रोकाले जानकारी दिनुभएको छ ।
बत्ति गएर सबैतिर फोन सम्पर्क नभएकाले क्षतिको पूरा विवरण आउन नसकेको र मृतकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक समेत रहनुभएका रोकाका अनुुसार जाजरकोटसँग जोडिएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलो क्षति पुगेको छ । त्यहाँका लगभग सबै कच्ची घरहरु भत्किएका छन् । जाजरकोटकोटमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् ।
अहिले उद्धारको काम भइरहेको रोकाले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, जाजरकोटका सांसद रहनुभएका उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वमन्त्री तथा रुकुम पश्चिमका सांसद जनार्दन शर्मा प्रभाकरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।
सरकारले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी गरेको छ । घाइतेहरुको रुकुम र जाजरकोटको जिल्ला अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत, नेपालगन्ज लगायतका ठाउँमा उपचार भइरहेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
त्यसयता पटक–पटक परकम्प पनि आएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत