न्याम्सका आवासीय चिकित्सकले पाउने भए निर्वाह भत्ता, आन्दोलन स्थगित
३ महिनादेखि रोकिएको निर्वाह भत्ता पाउने भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
उपकुलपतिसहितका पदाधिकारी रिक्त रहँदा गत फागुन देखि आवासीय चिकित्सकहरुले निर्वाह भत्ता नपाउनुका साथै शैक्षिक तालिमहरु रोकिएका थिए ।
भत्ता तथा तालिमहरु रोकिएपछि आवासिय चिकित्सकहरुले हिजोदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका थिए ।
तर हिजाेमात्रै निमित्त उपकुलपतिमा नियुक्ति हुनुभएका डा. भुपेन्द्र बस्नेत र आन्दोलन थालेका आवासिय चिकित्सकहरुबीच आज बसेको बैठकको सहमतीपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो ।
डा. बस्नेत र आन्दोलनरत आवासीय चिकित्सकबीच दुई बुँदे सहमति भएको हो। बैठकमा विगत ३ महिनादेखिको निर्वाह भत्ता तथा पर्वभत्ता निकासाका लागि सम्पूर्ण कागाजात तयार गरी बैंक पठाइसकिएको जानकारी डा.बस्नेतले दिनुभएको थियो ।
साथै अबदेखि निर्वाह भत्ता हरेक महिनाको पहिलो हप्ताभित्र नियमित रुपमा निकासा गर्ने सहमति पनि बैठकमा भएको छ । सहमतिपछि आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले विज्ञप्ति निकालेर विरोधका कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ।
हेल्थपाटी 
तपाईँको अभिमत