माननीय ज्यूको मेडिकल कलेजमा आवासीय डाक्टरमाथि अन्याय
काठमाडौं मेडिकल कलेजका आवासीय चिकित्सकले आफूहरू धेरै अन्यायमा परेको गुनासो गरेका छन्।
अन्याय सहेरै विश्वविद्यालयले तोकेबाहेकका काममा खटिँदा समेत धर नपाएको भन्दै आवासीय चिकित्सकहरू आक्रोशित बनेका छन्।
यसैबीच अस्पताल व्यवस्थापनले एक आवासीय चिकित्सकलाई दुई साताका लागि निलम्बन गरेपछि आवासीय चिकित्सकहरु विरोधमा उत्रिएका छन् ।
यही चैत १ गते मेडिकल कलेजका अध्यक्ष केपी शर्मा निरीक्षणमा आउँदा अर्थाेपेडिक विभागका एक आवासीय चिकित्सक इमर्जेन्सीमा अनुपस्थित रहेको भन्दै निलम्बनको पत्र पठाइएको छ।
तर ती चिकित्सकले आफू उक्त दिन इमर्जेन्सीमा उपस्थित रहेको दावी गर्दै आउनुभएको छ । पूर्वाग्रही ढंगले आफूलाई निलम्बन गरिएको उहाँको गुनासो छ। उक्त दिनको सीसीटिभीमा हेर्न माग गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा.सुमन कुमार श्रेष्ठले चैत २ गते आवासीय चिकित्सकलाई निलम्बनको पत्र दिएको देखिन्छ ।
ती आवाशीय चिकित्सक तोकिएको आफ्नो ड्यूटीमा उत्सुक नभएको र पेशाप्रति अयोग्य रहेको पत्रमा उल्लेख गरिएको छ ।
दुई साताका लागि सबै ड्युटीबाट निलम्बन गरिएको छ । त्यो पछि थप निर्णय गर्ने भनिएको छ ।
अब एकदिन गयल मात्रै भएपनि फाइनल परीक्षा दिन नपाउने भन्दै आफूलाई प्रिन्सिपलको कार्यालयले धम्की दिएको निलम्बनमा पर्नुभएका आवासीय चिकित्सकको गुनासो छ ।
यही घटनालाई लिएर आवासीय चिकित्सकहरू आन्दोलति भएका छन्। आजबाट सबै आवासीय डाक्टरहरुले काम बन्द गरेका छन्।
निलम्बन गरिएका चिकित्सकको निलम्बन फुकुवा गर्नुपर्ने लगायत अन्य माग राखेर व्यवस्थापलाई निवेदन बुझाएका थिए ।


व्यवस्थापन र आवासीय चिकित्सकका प्रतिनिधिबीच आज छलफल समेत भएको थियो । छलफलमा मेडिकल कलेज व्यवस्थापनले निलम्बन फुकुवा पनि नहुने, अन्य माग पनि पूरा नगर्ने जवाफ आवासीय चिकित्सकलाई दियो ।
‘कुनै माग पूरा हुँदैन जे सक्छौ गर् भनेपछि हामीले ड्यूटी छाड्यौँ’ एक आवासीय चिकित्सकले भन्नुभयो ।
माग पूरा नभएसम्म ड्यूटीमा नफर्किने उहाँले बताउनुभयो ।
जता पनि आवासीय चिकित्सक
तीन वर्षका लागि २३ लाख तिरेर पढ्नका लागि भर्ना भएका आफूहरुलाई अस्पतालले विश्वविद्यालयको नियमविपरीत मनलाग्दी खटाउने गरेको चिकित्सकहरूको गुनासो छ ।
आफ्नो विषयमा ओपीडीमा र इमर्जेन्सीमा बिरामी हेर्ने मुख्य काम आवासीय चिकित्सकको हो । तर विषय बाहेकका बिरामी हेर्न बाध्य पारिने, अनावश्यक ठाउँमा खटाउने गरेको चिकित्सकहरुको गुनासो छ ।
अस्पतालले दैनिकजसो विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने गरेको छ। ती शिविरमा आवासीय डाक्टरहरुलाई पठाउने गरेको छ । अस्पतालको प्रचारका लागि सञ्चालन गरिने यस्ता शिविरले आफूहरु हैरान भएको एक आवासीय चिकित्सक बताउनुहुन्छ ।
‘महिनामा १५ दिन शिविरमै दौडाउँछ अनि हामीले कतिबेला पढ्ने ?’ ती चिकित्सक भन्नुहुन्छ ।
प्रचारका लागि अनावश्यक ठाउँमा शिविर राख्ने र त्यहाँ आवासीय चिकित्सकलाई दलाउने गरेको आरोप आवासीय चिकित्सकको छ ।
काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित अस्पतालमा खटाइएका बेला आफ्नो विषयबाहेकका सबै बिरामी हेर्न बाध्य बनाइएको गुनासो पनि चिकित्सकहरुको छ ।
मेडिकल अफिसरका प्राय पदमा मेडिकल अफिसर राखिएको छैन । मेडिकल अफिसरको काम पनि आवासीय डाक्टरलाई नै लगाइन्छ।
‘मेडिकल अफिसरलाई ४० हजार तलब दिनुपर्छ हामीलाई सित्तैमा दलाउन पाइन्छ’ एक आवासीय चिकित्सक भन्नुहुन्छ । जहाँ खटायो त्यहाँ खुरुखुरु काम गर्दा पनि झन पेल्दै गएको उहाँको गुनासो छ।
चिकित्सा शिक्षा ऐन अनुसार आवासीय चिकित्सकले पाउने १९ हजार तलब पनि समयमा नदिने गरेको गुनासो छ । ‘३ महिना ४ महिनामा त्यो पनि आन्दोलन नै गरेर लिनुपर्छ’ एक आवासीय चिकित्सक भन्नुहुन्छ ।

आवासीय चिकित्सकलाई समयमा तलब नदिने मेडिकल कलेजले आफूलाई बुझाउने शुल्कमा एक दिन बिलम्ब भएमा हरेक दिन जरीवाना थपिँदै जाने सूचना जारी गरेको देखिन्छ।
अस्पतालमा बेथिति, मार आवासीय चिकित्सकलाई
अस्पताल व्यवस्थापनको कमजोरीले बिरामी घटेको तर त्यसको दोष आफूहरुलाई दिएर पूर्वाग्रह साध्ने गरेको विद्यार्थीको आरोप छ।
अस्पतालका एक चिकित्सकका अनुसार इमर्जेन्सीमा जचाउन आउने बिरामीलाई सकेसम्म भर्नै गर्नु भन्ने खालको सर्कुलेसन अस्पताल व्यवस्थापनले दिने गरेको छ ।
यसमा आवासीय डाक्टरहरुको पनि मुख्य भूमिका रहन्छ । उनीहरुको योजनामा सहयोगी नबने प्रर्वाग्रही व्यवहार गर्ने गरेको आरोप छ।
काठमाडौं मेडिकल कलेजको मुख्य लगानीकर्ता प्रतिनिधिसभा सदस्य समेत रहनुभएका डा.सुनिल कुमार शर्मा हुनुहुन्छ ।
शर्मा साढे २ वर्षपहिले ५१ प्रतिशत सेयर किनेर काठमाडौं मेडिकल कलेजको मालिक बन्नुभएको थियो । मेडिकल कलेज व्यवस्थापनमा शर्माकै बोलवाला छ।
मेडिकल कलेजको अध्यक्ष पनि शर्मा नै हुनुुहुन्थ्यो।
गत मंसिरमा भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसचा सदस्य निर्वाचित भएपछि आफ्ना दाजु केपी शर्मालाई अध्यक्षको जिम्मेवारी सुम्पिनुभएको छ ।
तर सबै निर्णय भने डा. शर्माकै चल्छ ।
अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन नगरेर ठेक्कामा दिएको छ । त्यस कारण पनि यहाँ प्रयोगशाला शुल्क महंगो छ । प्रयोगशाला शुल्क महंगो भएकै कारण बिरामीको संख्या घटेको एक चिकित्सकको दावी छ ।
प्रयोगशालाको ठेक्का अस्पतालका इमर्जेन्सीमा कार्यरत एक डाक्टरका श्रीमानले लिनुभएको छ । ती डाक्टरले फाइदाका लागि इमर्जेन्सीमा आउने बिरामीलाई आवश्यक नभएका परीक्षण समेत गराउन सिफारिस गर्ने गरेको आरोप छ।
बाहिर परीक्षण गरिएका रिपोर्टलाई मान्यता दिइँदैन।
व्यवस्थापन राम्रो नभएर लामो समयदेखि कार्यरत थुप्रै प्राध्यापकहरुले छाडेर गएको जानकारी अस्पतालका एक चिकित्सकले दिनुभयो ।
ठेक्कामा दिइएको अस्पतालको फार्मेसीमा समेत औषधिहरु बाहिर भन्दा महंगो छ ।
व्यवस्थापनको यस्ता कमजोरीले अस्पपतालमा बिरामी घटेपछि त्यसको क्षतिपूर्ति भर्न अनेक फण्डा अपनाउने गरेको छ । त्यसको मारमा आफूहरु खेप्नु परेको आवासीय चिकित्सकहरूको गुनासो छ।
हेल्थपाटी 

तपाईँको अभिमत