राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित गर्न उच्च अदालतको आदेश
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपति नियुक्ति प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ। स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते जारी गरेको उपकुलपति नियुक्तिसम्बन्धी सूचनाविरुद्ध परेको रिटमा उच्च अदालत तुलसीपुरले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
मंगलबार भएको दुईपक्षीय छलफलपछि उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले अन्तरिम आदेश कायम राख्ने निर्णय गरेको हो। अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते दुवै पक्षलाई बोलाएर गरिएको बहसपछि आदेशलाई निरन्तरता दिइएको हो।
यसअघि उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको पछिल्लो निर्णयसँगै उपकुलपति नियुक्ति प्रक्रिया हाललाई पूर्ण रूपमा रोकिएको छ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिनुभपछि पछिल्ला तीन महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत