मनाइयो विश्व ध्यान दिवस, ५० हजार बढीको प्रत्यक्ष सहभागिता
नेपालमा पनि दोस्रो ध्यान दिवस मनाइएको छ । डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवस नेपालमा आर्ट अफ लिभिङ नेपालको पहलमा मनाइएको हो ।
नेपालका महासचिव प्रभुराज वैद्यका अनुसार मुलुकभरका विभिन्न स्थानमा गरिएको कार्यक्रममा ५० हजार बढी व्यक्तिले सहभागिता जनाएका छन् । यसले शान्ति, मानसिक स्वास्थ्य र सामाजिक सद्भावतर्फ जनस्तरमा बढ्दो प्रतिबद्धता देखाएको उहाँको भनाइ छ ।
यसैक्रममा १ हजारभन्दा बढी सहभागीले विश्व ध्यान दिवसअघि सञ्चालन गरिएको ७ दिने निर्देशित ध्यान यात्रामा निरन्तर सहभागिता जनाउँदै सफलतापूर्वक पूरा गरेका छन् । ध्यान कार्यक्रमहरू विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी कार्यालय, निजी संस्था, प्रहरी इकाइ, सेना प्रतिष्ठान तथा सामुदायिक केन्द्रहरूमा सञ्चालन गरिएका थिए ।
साता भरि सञ्चालन गरिएका ध्यान सत्रहरू प्रशिक्षित आर्ट अफ लिभिङका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।
राष्ट्रियस्तरको मुख्य कार्यक्रम काठमाडौँको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री शर्माले ध्यानले मानसिक स्वास्थ्यलाई चुस्त बनाउने बताउनुभयो । पछिल्लो समय परम्परागत स्वास्थ्य सेवा प्रणालीलाई विश्वले अध्ययन गर्न थालेको र यसको महत्व बुझेको भन्नुहुँदै त्यस्ता प्रणाली विज्ञानसँग जोडिएको बताउनुभयो ।
‘ध्यान हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको छ । यसले मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ’, उहाँले भन्नुभयो ।
मन्त्री शर्माले लामो आयुमा बाँचेर मात्र नहुने भन्नुहुँदै स्वस्थ जीवनयापन गर्नु प्रमुख रहेको बतायनुभयो । यसको लागि मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने उहाँको भनाइ थियो ।
विश्व ध्यान दिवस संयुक्त राष्ट्रसंघद्वारा आधिकारिक रूपमा घोषणा गरिएको दिवस हो र हरेक वर्ष डिसेम्बर २१ मा विश्वभर मनाइन्छ। यस दिवसको उद्देश्य ध्यानलाई आन्तरिक शान्ति, भावनात्मक सन्तुलन तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नु रहेको आर्ट अफ लिभिङ नेपालले जनाएको छ ।
सन् २०२५ मा मनाइएको यस उत्सव दोस्रो विश्वव्यापी उत्सवको रूपमा रहेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत