इ–सिगरेटले ध्यान केन्द्रित गर्नमा कठिनाइ, प्रयोगकर्तामा मानसिक समस्या निम्तिने
आधुनिक प्रविधिसँगै बढ्दो युवापीढीमा लोकप्रिय बनेको इ–सिगरेट र हुक्का स्वास्थ्यका लागि हानिकारक छ। स्वास्थ्य विज्ञहरूका अनुसार यी उपकरणहरूले शरीरमा दीर्घकालीन नकारात्मक असर पुर्याउँछन् ।
इ–सिगरेट वा इलेक्ट्रोनिक सिगरेट भनेको ब्याट्रीबाट चल्ने एक प्रकारको धूम्रपान गर्ने उपकरण हो । यसले निकोटिनसहित विभिन्न तरल पदार्थलाई वाफको रूपमा उत्सर्जन गर्छ, जसलाई प्रयोगकर्ताले सेवन गर्छन् । यसमा विभिन्न सुगन्ध र हानिकारक रसायनहरू मिसाइएका हुन्छन्, जसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउँछ। इ–सिगरेटहरू विभिन्न आकार र डिजाइनमा पाइन्छन् ।
त्यसैगरी, हुक्का पनि एक प्रकारको धूम्रपान उपकरण हो जसमा पाइपको माध्यमबाट सुर्तीलाई बलिरहको कोइलाले तातो बनाइ धुवा निकालेर सेवन गरिन्छ। हुक्कामा विभिन्न स्वाद र सुगन्ध जस्तै स्याउ, पुदिना, चकलेट, नरिवल आदि प्रयोग गरिन्छ।
इ–सिगरेट सेवन गर्दा निकालेको धुँवामा विभिन्न विषाक्त पदार्थहरू हुने हुँदा यसको सेवनले केवल प्रयोगकर्ताको स्वास्थ्यमा मात्र असर गर्दैन, वरिपरिका अन्य व्यक्तिलाई समेत जोखिममा पार्छ।
यी उपकरणहरूको प्रयोग प्रायः किशोरकिशोरीमा बढी देखिएको छ। आकर्षक डिजाइन र विभिन्न स्वादका कारण युवापीढीको रुचि बढिरहेको भएता पनि, यसमा हुने निकोटिनले मस्तिष्कको विकासमा असर पुर्याउन सक्छ।
विशेषज्ञहरूका अनुसार, यी उपकरणहरूको सेवनले बालबालिका र किशोरकिशोरीमा ध्यान केन्द्रित गर्न कठिनाइ, चिन्ता, डरजस्ता मानसिक समस्याहरू निम्त्याउन सक्छ।
स्वास्थ्य अधिकारीहरूले आम नागरिकलाई यी उपकरणहरूबाट टाढा रहन र युवापीढीलाई सुरक्षित राख्न विशेष सचेत रहन आग्रह गरेका छन्।
हेल्थपाटी 
तपाईँको अभिमत