राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका : रणनीतिक लक्ष्य र सञ्चालन उद्देश्य
नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा रहेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम ग्रामीण तथा दुर्गम समुदायमा निवारक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा पुर्याउने एक महत्वपूर्ण पहल हो। वि.सं. २०४५ (सन् १९८८/८९) मा २८ जिल्लाबाट सुरु भएको यो कार्यक्रम हाल देशभर ५१,४२३ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत सञ्चालनमा छ। कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण समुदायमा आमा र बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्नु हो।
स्वयंसेविका कार्यक्रमको मूल रणनीति भनेको महिला सशक्तीकरण र सहभागितामार्फत समुदायको स्वास्थ्य चेतना अभिवृद्धि गर्दै स्थानीय तथा राष्ट्रिय स्वास्थ्य लक्ष्य हासिल गर्न सहयोग पुर्याउनु हो।
भर्खरै मात्र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रम गरियो । संघीय राजधानी काठमाडौंमा पनि स्वास्थ्य मन्त्रालयले उत्कृष्ट स्वयंसेविकाहरूलाई सम्मान गर्दै दिवस मनायो ।
स्वयंसेविका कार्यक्रमको मूल रणनीति भनेको महिला सशक्तीकरण र सहभागितामार्फत समुदायको स्वास्थ्य चेतना अभिवृद्धि गर्दै स्थानीय तथा राष्ट्रिय स्वास्थ्य लक्ष्य हासिल गर्न सहयोग पुर्याउनु हो। यसका लागि विभिन्न उद्देश्यहरू निर्धारण गरिएका छन् । प्रमुख उद्देश्यहरू यहाँ प्रस्तुत गरिएको छ ।
१. आमा समूहमार्फत घर–घरमा स्वास्थ्य जानकारी पुर्याई स्वास्थ्य सेवाको उपयोग बढाउनु।
२. स्वास्थ्य संस्था र समुदायबीच सेतुको रूपमा काम गर्दै सरकारी स्वास्थ्य कार्यक्रमहरू समुदायसम्म प्रभावकारी रूपमा पुर्याउनु।
३. महिलालाई स्थानीय स्वास्थ्य समस्या समाधानमा सक्रिय बनाउँदै आवश्यक ज्ञान र सीप प्रदान गर्नु।
४. एफसीएचभी कार्यक्रमको व्यवस्थापनमा स्थानीय सरकारको स्वामित्व र सहभागिता सुनिश्चित गर्नु।
५. संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वयमा महिला स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नु।
नीतिगत रूपमा यो कार्यक्रम समयानुकूल परिमार्जन हुँदै आएको छ। वि.सं. २०६७/६८ मा रणनीति पुनर्लेखन गरिएको थियो भने वि.सं. २०७६ मा पहिलो संशोधन लागू गरिएको हो।
स्वयंसेविकाको भूमिका र प्रोफाइल
सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू आफ्नै समुदायबाट छनोट गरिन्छन्। छनोटका आधारहरूमा स्थायी बासिन्दा हुनु, कम्तीमा पाँच वर्ष स्वयंसेवकका रूपमा काम गर्न इच्छुक हुनु प्रमुख हुन्। सामान्यतः २५–४५ वर्ष उमेर समूहका, विवाहित तथा सामाजिक सेवामा रुचि राख्ने महिलालाई प्राथमिकता दिइन्छ।
शैक्षिक योग्यता कम्तीमा कक्षा १० उत्तीर्ण भए पनि हिमाली तथा दुर्गम क्षेत्रमा आधारभूत शिक्षा स्वीकार गरिन्छ। साथै, स्वयंसेविकाहरू कुनै पनि नागरिक वा राजनीतिक पदमा बहाल हुनु हुँदैन।
स्वयंसेविकाहरूको मुख्य योगदान आमा र बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित छ, जसअन्तर्गत परिवार नियोजन, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, रोग व्यवस्थापन तथा जनचेतना पर्दछन् । परिवार नियोजनका लागि परामर्श दिने, गर्भनिरोधक चक्की र कण्डम वितरण गर्ने जस्ता कार्य पर्दछन् । गर्भवती महिलालाई आवश्यक परामर्श दिनु पनि स्वयंसेविकाहरूको योगदानको रूपमा रहेको छ । गर्भवती महिलालाई आइरन चक्की वितरण पनि स्वयंसेविकाहरूले गाउँगाउँमा गर्दै आइरहेका छन् ।
बालबालिकाहरूको स्वास्थ्यका विषयमा पनि स्वयंसेविकाहरूले नवजात शिशु हेरचाहबारे परामर्श, खोप अभियानमा सामाजिक परिचालन, भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गर्दै आइरहेका छन् । रोग व्यवस्थापन गर्न झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी रोगमा परामर्श दिने, ओआरएस र जिंक चक्की वितरण गर्ने, जटिल अवस्थामा स्वास्थ्य संस्थामा रेफरल गर्ने कार्य पनि गर्ने गरेका छन् । जापानी इन्सेफलाइटिस, कुष्ठरोग, मलेरिया, कालाजारजस्ता संक्रामक तथा महामारीजन्य रोग नियन्त्रणमा सहयोग स्वयंसेविकाहरूले गर्दै आइरहेका छन् ।
जनचेतना जगाउनु पनि स्वयंसेविकाहरूको कार्यका रूपमा रहेको छ । व्यक्तिगत र वातावरणीय सरसफाइ प्रवर्द्धन, महिलामाथि हुने हिंसाविरुद्ध चेतना अभिवृद्धि जस्ता कार्य पनि स्वयंसेविकाहरूले गरेको पाइन्छ ।
घरमै सुत्केरी भएका आमालाई जन्मपछिको सेवा, जस्तै जन्मेको एक घण्टाभित्र स्तनपान परामर्श, नाल हेरचाह (जेल प्रयोग) र मिसोप्रोस्टोल चक्की वितरण पनि स्वयंसेविकाहरूले गरेका छन्।
सहयोग, तालिम र आर्थिक सुविधा
– स्वयंसेविकाहरूको योगदानलाई कदर गर्दै सरकारले विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ :
– स्वास्थ्य बीमा : बीमा प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्ने।
– पोशाक भत्ता : वार्षिक रु. १०,०००।
– यातायात भत्ता : आ.व. २०७८/७९ देखि वार्षिक रु. १२,०००।
तालिम व्यवस्था
– नयाँ स्वयंसेविकालाई १० दिने आधारभूत तालिम।
– प्रत्येक चार वर्षमा ४ दिने पुनर्ताजगी तालिम।
सेवा निवृत्ति र सम्मान
६० वर्षसम्म सेवा गर्न सकिने।
कम्तीमा १० वर्ष सेवा गरी ६० वर्ष पुगेकालाई रु. २०,००० सहित सम्मानपत्रसहित बिदाइ।
पाँच वर्षभन्दा बढी सेवा गरेका स्वयंसेविकाको दुर्घटनामा मृत्यु भएमा उक्त रकम आश्रितलाई प्रदान।
स्वास्थ्य स्वयंसेविका सम्बन्धी एकीकृत सफ्टवेयर प्रणाली विकास गर्न जरुरी देखिन्छ । आधारभूत र पुनर्ताजगी तालिमलाई अनिवार्य र नियमित बनाउने सके स्वयंसेविकाहरूलाई आत्मविश्वास बढ्ने हुन्छ ।
वर्तमान चुनौतीहरू
स्वयंसेवी कार्यक्रमले केही महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ :
– आमा समूह बैठक नियमित गर्न कठिनाइ, विशेषतः दुर्गम जिल्लाहरूमा।
– स्वयंसेविका कोष प्रभावकारी रूपमा सञ्चालन नहुनु।
– स्वास्थ्य बाहेक अन्य क्षेत्र (कृषि, सहकारी, वन) मा बढी संलग्न गरिँदा मुख्य भूमिकाबाट विचलन।
– स्वयंसेविकाको उमेर र शिक्षामा विविधता हुँदा कार्य क्षमता असमान हुनु।
– ६० वर्ष पुगेका स्वयंसेविकाको सम्मानजनक बिदाइ कार्यक्रम कार्यान्वयनमा समस्या।
– नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको बढ्दो चुनौती।
– आगामी तीन वर्षमा ३,५३८ जना स्वयंसेविका अवकाश हुने सम्भावना।
अबको बाटो
आगामी दिनमा कार्यक्रमलाई सुदृढ बनाउन विविध कदम चाल्न आवश्यक देखिन्छ । स्वास्थ्य स्वयंसेविका सम्बन्धी एकीकृत सफ्टवेयर प्रणाली विकास गर्न जरुरी देखिन्छ । आधारभूत र पुनर्ताजगी तालिमलाई अनिवार्य र नियमित बनाउने सके स्वयंसेविकाहरूलाई आत्मविश्वास बढ्ने हुन्छ । साथै उनीहरूमा नयाँ रोगसम्बन्धी जानकारी पनि प्राप्त हुन्छ ।
यसैगरी स्थानीय तहबाट निरन्तर अनुगमन, सुपरिवेक्षण र प्रतिफल सुनिश्चित गर्नुपर्छ । साथै समयानुकूल नीति तथा रणनीति परिमार्जन पनि आवश्यक देखिन्छ ।
संघीय सरकारले मापदण्ड निर्धारण गर्ने र व्यवस्थापन स्थानीय तहमा हस्तान्तरण गर्ने संरचनाले विकेन्द्रित स्वास्थ्य सेवाको अवधारणालाई बल दिएको छ, जुन राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुरूप छ।
अन्ततः, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम ग्रामीण दूरदराजका घर–आँगनसम्म स्वास्थ्य सन्देश र आधारभूत सेवा पुर्याउँदै समुदायको समग्र स्वास्थ्य सन्तुलन कायम राख्ने अग्रपङ्तिको आधारस्तम्भ हो । यो स्वास्थ्य प्रणालीको नसा प्रणाली जस्तै हो ।
(नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा दिनुभएको प्रस्तुतिमा आधारित ।)
हेल्थपाटी 
तपाईँको अभिमत