नेपालको बाल स्वास्थ्यमा धेरै काम गर्न बाँकी छ : प्राडा.भगवान कोइराला
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा.भगवान कोइरालाले नेपालको बालस्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
वासिंटन डिसीमा आयोजित अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ) को २९औं वार्षिक सम्मेलनमा मुख्य वक्ता रहनुभएका डा. कोइरालाले नेपालमा बालबालिकामा खोपको दायरालाई बढाउनपर्ने, सरसफाइ एवं पोषण कार्यक्रमलाई शशक्त रुपमा लैजानपर्ने,बालस्वास्थमा स्रोत साधन एवं जनशक्तिलाई बढाउनपर्ने आवश्यकता रहेको बताउनुभयो ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किआचका अध्यक्ष समेत रहनुभएका डा.कोइरालाले नेपालमा अझैपनि बेलैमा उपचार नपाउँदा धेरै बालबालिकाको मृत्यु भइरहेको परिस्थिति रहेकाले आफू बालस्वास्थ्य क्षेत्रमा पनि चासो देखाएको बताउनुभयो ।
उहाँले बाल बच्चाहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफू तत्पर रहेको बताउनुभयो । किओचले सुरुमा राजधानीमा एक सय शैंयाको अस्पताल निर्माण गर्ने छ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गरिनेछ ।
एएनएमएफले बालस्वास्थ्य क्षेत्र सुधार अन्तर्गत किआचलाई ९६ हजार २५२ अमेरिकी डलर सहयोग गरिसकेको छ । सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट ३५० भन्दा बढी नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि हुनेछ । आज साँझ हुने गाला डिनरमा एएनएमएफ फण्ड संकलन गरिनेछ ।
सम्मेलनमा नेपाली तथा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुभव आदानप्रदान र नेपालमा स्वास्थ्य प्रणाली मजबुत बनाउने उपायहरूमा छलफल भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत