अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सम्मेलनमा विषयतग प्रतिवेदन प्रस्तुत
अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ) को २९औं वार्षिक सम्मेलनको आज दोस्रो दिन,संस्थाको वार्षिक प्रतिवेदन एवं आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ ।
फाउण्डेशनका अध्यक्ष डा.विष्णु सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामि दिनहरुमा नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सशक्त रुपमा लागिरहने बताउनुभयो ।
उहाँले संस्थाको स्थापनाकालदेखि हालसम्म ३ सय वटा प्रोजेक्ट सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले आगामि केही वर्ष नेपालको बाल स्वास्थ्य र क्यान्सर उपचारमा सहयोग गरिने जानकारी दिनुभयो ।
यसका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नवजात शिशुहरूको सघन हेरचाहका लागि नियोनेटल इंटेन्सिभ केयर युनिट परियोजनालाई ९६ हजार २५२ अमेरिकी डलर सहयोगको निर्णय गरिएको उहाँले सम्मेलनमा जानकारी दिनुभयो ।
एनएनएमले उहाँका अनुसार वर्ष २०२४, २५ मा क्यान्सर उपचारका लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई मोबाइल मेमोग्राम युनिट सञ्चालनका लागि ६९ हजार अमेरिकी डलर,धुलिखेल अस्पतालमा पोइजन इन्फरमेसन सेन्टर सञ्चालनका लागि १५ हजार ७५२ अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको छ । साथै यसैवर्ष मानसिक स्वास्थ्य,जर्नल अफ नेपाल मेडिकल एसोसियसनलाई पोडकास्ट स्टुडियो सञ्चालनका लागि सहयोग गरिएको पनि उहाँले बताउनुभयो ।
सम्मेलनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै फाइनान्स कमिटी मेम्बर डोबा ढकालले वर्ष २०२४-२५ को मे ३० सम्म नेपालको स्वास्थ्य क्षेत्रमा २ लाख ४६ हजार २७५ अमेरिकी डलर बराबरको सहयोग गरिएको जानकारी दिनुभयो ।
उहाँले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पोइजन इन्फरमेशन सेन्टर,अंगदान जनचेतनामूलक कार्यक्रम,तालिम लगायतमा यो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सहयोग रकम संकलनका लागि एएनएमएफले आज साँझ गाला डिनर प्रोगामको आयोजना गरेको छ । उक्त कार्यक्रममा एएनएमएफका सदस्य एवं आमन्त्रित अन्य क्षेत्रका व्यक्तिले सहयोग गर्न सक्नेछन् ।
फाउण्डेसनका सचिव डा.नविनराज कैनीले संस्थाले एक वर्षमा गरेको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
अमेरिका नेपाल मेडिकल फाउण्डेसन नेपालका अध्यक्ष प्राडा.सन्ध्या चापागाइले अमेरिका र नेपालबीच सहकार्यमा भएका गतिविधिबारे जानकारी दिनुभयो । सम्मेलनमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम काकीले नेपाल बाहिर रहेका नेपाली चिकित्सकहरुलाई कुनै पनि बेला नेपाल आएर आफ्नो दक्षता प्रस्तुत गराउने वातावरण निर्माणका लागि आफूहरु लागि परिरहेको बताउनुभयो । नेपालमा आउने वातावरण नरहेको भन्ने भाष्यलाई अब चिर्नपर्ने उहाँले बताउनुभयो ।
उहाँले नेपालमा गैरआवासिय चिकित्सकका लागि हाल देखिरहेको चुनौतीबारे कार्यपत्र प्रस्तुत गनुभयो । सम्मेलन आयोजक कमिटी अध्यक्ष डा.दिनेश सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
भोलिसम्म वासिङ्टन डिसीमा चल्ने सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि डायस्पोरामा रहेका नेपाली चिकित्सकको एकतालगायतका विषयमा बृहत् छलफल हुनेछ ।
नेपालमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि प्रवासी एकता” भन्ने मूल नाराका साथ चलिरहेको सम्मेलनमा अमेरिकी स्थित नेपाल दूतावासका प्रतिनिधी युवराज पाण्डेले केही वर्ष यता नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भइरहेकोमा खुशी व्यक्त गर्दै भावी दिनहरुमा स्वास्थ्य क्षेत्रमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट ३५० भन्दा बढी नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
सम्मेलनमा नेपाली तथा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुभव आदानप्रदान र नेपालमा स्वास्थ्य प्रणाली मजबुत बनाउने उपायहरूमा छलफल गर्नेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत