को बन्ला युनिफाइड केन्द्रीय अस्पतालको निर्देशक ? यी हुन् चर्चित नाम
काठमाडौं । कोरोना संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन गर्न र व्यवस्थापन गर्न वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको काभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुसार वीर अस्पताललाई युनिफाइड अस्पताल बनाउन लागिएको हो। यो अस्पतालको सञ्चालन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ । यस युनिफाइड अस्पतालले देशभर कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्नेछ।
अध्यादेश जारी गरेर वीरलाई युनिफाइड अस्पताल बनाउने निर्णय भएसँगै सो अस्पतालको निर्देशक को बन्छन् भन्नेबारे चासो बढेको छ। अध्यादेशमा उल्लेख गरिए अनुसार अस्पतालको प्रमुख निजामती सेवाको राजपत्राङित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११औं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने छ।
स्वास्थ्य सेवाकै ११औं तहको अधिकृत वा चिकित्सक नै युनिफाइड अस्पतालको प्रमुख बन्ने सम्भावना उच्च छ। अस्पतालको प्रमुखमा स्वास्थ्य सेवाका ८ जना चिकित्सकको नाम बढी चर्चामा छ। उच्च स्रोतका अनुसार युनिफाइड अस्पतालको प्रमुखमा यी ८ जनाको नाम चर्चामा छ तर जिम्मेवारी कसको हातमा पर्छ त्यो हेर्न बाँकी छ।
१.प्राडा.भगवान कोइराला प्राध्यापक डाक्टर भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ । अहिले उहाँ मेडिकल काउन्सिलको अध्यक्ष समेत रहनु भएको छ । उहाँले यसअघि गंगालाल अस्पताल र शिक्षण अस्पतालको निर्देशक भएर काम गरिसक्नुभएको छ ।
२.प्राडा.जागेश्वर गौतम हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता रहनुभएका प्राध्यापक डाक्टर गौतम पनि युनिफाइड अस्पतालको निर्देशक बन्ने सम्भावित उम्मेदवारको सूचीमा हुनुहुन्छ । उहाँ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । हाल उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख पनि हुनुहुन्छ । मन्त्रालय आउनुअघि उहाँ परोपकार स्त्री तथा प्रसुती अस्पतालको निर्देशक हुनुन्थ्यो ।
३.डा. गुणराज लोहनी उहाँ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना तथा अनुगमन महाशाखा प्रमुख हुनुहुन्छ ।
४.डा.दिलीप शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक शर्मा पनि युनिफाइड अस्पतालको प्रमुखको दाबेदारी नाम हो ।
५.प्रा.डा.ज्योतेन्द्र शर्मा ह्याम्स अस्पतालका कार्यकारी निर्देशक एवं गंगालाल अस्पतालका पूर्व निर्देशक प्राध्यापक जोतेन्द्र शर्माको पनि युनिफाइड अस्पतालको प्रमुख बन्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा डा.शर्मालाई उहाँले गंगालालको निर्देशक बनाउनुभएकाले अहिले पनि उहाँको सम्भावना बलियो नै रहेको स्रोत दाबी गर्छ ।
६.डा.बुलन्द थापा हाडजोर्नी विशेषज्ञ एवं वीर अस्पतालका पूर्व निर्देशक
७.डा.भुपेन्द्र बस्नेत पेटरोग विशेषज्ञ एवं वीर अस्पतालका पूर्व निर्देशक, स्रोतका अनुसार डा. बस्नेतलाई सांसद एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्र महेश बस्नेतको साथ छ ।
८. डा.अर्जुन कार्की वरिष्ठ छातीरोग विशेषज्ञ, हाल ह्याम्स अस्पताल । उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत हुनुहुन्छ ।
यो अस्पताल प्रमुखको पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सरकारले निर्धारण गर्ने भएपनि कम्तिमा २ देखि ३ लाखसम्म मासिक पारिश्रमिकको प्रस्ताव मन्त्रिपरिषद्मा लगिंदै गरेको स्रोतले हेल्पाटीलाई जानकारी दिएको छ । प्रमुखको समयावधि भने स्वास्थ्य मन्त्रालयले तोके अनुसार हुनेछ ।
जगन्नाथ ढकाल

तपाईँको अभिमत