अमेरिका नेपाल मेडिकल फाउन्डेसनको वार्षिक सम्मेलन भोलिदेखि वासिङ्टन डिसीमा
अमेरिका नेपाल मेडिकल फाउन्डेसन
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९औं वार्षिक सम्मेलन तथा साधारण सभा भोलिदेखि तीन दिनसम्म (जुन १३ देखि १५ ) वासिङ्टन डिसीमा हुँदैछ ।
'नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रवासी एकता' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको तीन दिने सम्मेलनमा मुख्य वक्ताका रुपमा नेपालबाट वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा.भगवान कोइराला, अमेरिका नेपाल मेडिकल फाउण्डेसन नेपालका अध्यक्ष प्राडा.सन्ध्या चापागाइ, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.मंगल रावल, ‘हेल्थ कन्सर्न नेपालका सिइओ एवं अध्यक्ष डा.सुवास प्याकुरेल, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.विराज कर्माचार्य लगायत अमेरिका आइसक्नुभएको छ ।

सम्मेलनको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी हुनुन्छ । एएनएमएफका अध्यक्ष डा.विष्णु सापकोटाका अनुसार सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट ३ सयभन्दा बढी नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता रहने छ ।
सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि डायस्पोरामा रहेका नेपाली चिकित्सकको एकतालगायतका विषयमा बृहत् छलफल हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
सम्मेलनमा, नेपालमा बाल स्वास्थ्यसँग सम्बन्धित चुनौती र अवसर, स्वास्थ्य शिक्षा र सीप विकासमा डायस्पोरा चिकित्सकहरूको योगदान तथा भविष्यमा उनीहरूले खेल्नुपर्ने भूमिकाबारे गहन छलफल हुनेछ ।
सम्मेलनमा नेपाली तथा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुभव आदानप्रदान र नेपालमा स्वास्थ्य प्रणाली मजबुत बनाउने उपायहरूमा छलफल गर्नेछन् । साथै उनीहरूले स्वास्थ्य सेवा, प्रविधि, अनुसन्धान र नेपाली समुदायमा चिकित्सा पहुँच सुधारका लागि गर्नुपर्ने काम लगायतका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

साथै साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । एएनएमएफमा ५४० जना आजीवन सदस्यसहित ६०० सदस्यहरू आवद्ध छन् । अमेरिकामा ३००० नेपाली डाक्टरसहित नर्स तथा स्वास्थ्यकर्मी गरी करिब ५००० हाराहारीमा बसोबास गरिरहेको अनुमान छ ।
सन् १९९७ मा नेपाली डाक्टरहरू र नेपाललाई माया गर्ने अमेरिकी डाक्टर तथा समाजसेवीहरूको समूहले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को स्थापना गरेको थियो । एएनएमएफको संस्थापक अध्यक्ष डा. अर्जुन कार्की हुनुन्छ ।
विगत २९ वर्षको अवधिमा हामीले ३ सयभन्दा बढी परियोजनाहरू सफलतापूर्वक सम्पन्न भइसकेको छ । आगामी केही वर्षसम्म विशेष रूपमा बाल स्वास्थ्य हेरचाह र क्यान्सर स्क्रिनिङमा एएनएमएफले जोड दिनेछ ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नवजात शिशुहरूको सघन हेरचाहका लागि नियोनेटल इंटेन्सिभ केयर युनिट परियोजनालाई अझ मजबुत बनाउँदै अगाडि बढाइने, क्यान्सर स्क्रिनिङलाई अझ पहुँचयोग्य बनाउन मोबाइल मेमोग्राम युनिट सञ्चालन गर्ने योजना रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत