काठमाडौंमा ४ सहित १० जनालाई ब्ल्याक फंगस, समस्या बढ्दो
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितहरुमा अत्याधिक मात्रामा म्युकोमाइकोसिस अर्थात् ब्ल्याक फंगस(कालो ढुँसी)को समस्या देखिएपछि यसलाई महामारीको रुपमा नै घोषणा भइसकेको छ ।
पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितहरुमा म्युकोमाइकोसिसको समस्या बढ्दै गएको छ । यस्तो समस्या केही संक्रमितलाई अस्पतालमा उपचारकै क्रममा र केहीलाई डिस्चार्ज भइसकेपछि देखिएको छ ।
अहिलेसम्म १० जनालाई यो समस्या देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार युवाहरुलाई यो समस्या देखिएको छ । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ , वीर र नर्भिक अस्पतालमा १/१ जनालाई यो समस्या देखिएको छ ।
वीर अस्पतालमा एक जनाको अपरेशन गरिएको छ । वीरगञ्जमा २ र बाँकेमा १ जना संक्रमितलाई कालो ढुँसीको समस्या देखिएको छ । भेरीमा ३ जनालाई यसको मिल्दोजुल्दो लक्षण देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कोभिड व्यवस्थापनमा रहनुभएका आइओएमका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार नेपालगञ्जबाट रिफर गरिएका ४० वर्षका एक पुरुषको ६ दिन अगाडी आँखा र नाकको शल्यक्रिया गरिएको छ । उहाँका अवस्था स्थिर छ । उहाँलाई अहिले एम्फोटेरिसिन बी’ औषधिको प्रयोगबाट उपचार गरिरहेको बमले जानकारी दिनुभयो ।
यस्तै सोही अस्पतालमा अर्का एक जना अन्दाजी ४५ वर्षका पुरुषको अपरेशनको तयारी गरिएको छ । मष्तिष्कसम्म संक्रमण फैलिएकाले न्यूरो सर्जरी टोलीले अपरेशनको तयारी गरेको छ ।
डा. बमले रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा यसको जोखिम उच्च रहेको बताउनुभयो । संक्रमितहरुमा स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक प्रयोग गर्दा रोग प्रतिरोध क्षमता घटाइदिने भएकाले ती औषधिहरुको प्रयोग गरिएका संक्रमितहरुमा यस्तो समस्या बढी देखिएको उहाँले बताउनुभयो ।
‘हामीले मधुमेहको बिरामीलाई उच्च निगरानीमा राखेका छौ किनभने सुगरको मात्रा बढ्ने बित्तिकै कमजोर बनाउँछ र विभिन्न समस्या थपिन्छ । कालो ढुँसीको समस्याबाट जोगाउन पनि हामीले सम्पूर्ण मधुमेहका बिरामीलाई उच्च निगरानीमा राखेर उपचार गरिरहेका छौ, उहाँले थप्नुभयो ।’
सुरुमा म्युकोमाइकोसिसको समस्या वीरगञ्जमा देखिएको थियो । केस बढ्दै गएपछि इडिसिडीले सुरुकै चरणमा यसको निदान गरी संक्रमण रोक्न अस्पताल अस्पतालमा तथ्यांक संकलन सुरु गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यसका लागि अस्पतालमा भर्ना भएकै बेलामा फिजिसियन, रेस्पिटरी फिजिसियन, क्रिटिकल केयर युनिट तथा इनटी सर्जनहरुलाई यसबारे सचेत रहन निर्देशन जारी गरिएको छ । म्युकोमाइकोसिस एक प्रकारको दुर्लभ संक्रमण हो जसको बेलैमा निदान र उपचार नभए बिरामीको मृत्युसमेत हुन्छ ।
कुनै पनि उमेर समूहलाई यसको जोखिम रहेपनि सबैभन्दा धेरै समस्या युवाहरुलाई देखिएको छ । साधरणतया कोरोनाको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुँसीको समस्या देखिन्छ तर संक्रमण भएको १० देखि ६० दिनसम्म पनि यो समस्या देखिने सम्भावना रहन्छ ।
म्युकर नयाँ प्रकारको रोग होइन यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा देखिने एउटा जटिल समस्या हो । संक्रमित बाहेक अंग प्रत्यारोपण गरिएका, क्यान्सरको उपचार गराइरहेका बिरामी, मिर्गौला सम्बन्धी समस्या भएका दीर्घ बिरामीमा पनि म्युकोमाइकोसिसको जोखिम हुन्छ । म्युकर एक प्रकारको अपरट्यूनिस्कि ढुँसी हो जुन वातावरण तथा माटोमा पाइन्छ ।
यसका सुरुवाती लक्षणहरु :
अनुहारमा अत्याधिक दुखाइ,
आँखा र नाक वरपरको भाग सुन्निनु,
नाक बन्द हुनु,
नाकको रङ रातो या कालो हुँदै जानु,
ज्वरो आउनु, दाँत दुख्नु, दाँत झर्नु हो ।
पछिका चरणमा भने बिरामीको अनुहार सुन्निनु, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्नु, आँखाको गतिविधिमा ह्रास आउनु जस्ता लक्षणहरु देखिन्छन् ।
उपचार
म्युकोमाइकोसिसका बिरामीहरुलाई छुट्टै वार्डमा राखेर उपचार गर्ने प्रोटोकल इडिसिडिले बनाएको छ । म्युकोमाइकोसिससँग मिल्दोजुलल्दो लक्षण भएका बिरामीलाई तुरुन्तै उपचारको प्रक्रिया अगाडि बढाउने र संक्रमितहरुको सुगरको स्तर जाँच्न स्वास्थ्यकर्मीलाई भनिएको छ । यसको उपचार एम्फोटेरिसिन बी औषधिको प्रयोग र अपरेशन हो । यसको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । हप्तादेखि महिनौंसम्म लाग्न सक्ने ईडिसिडी प्रमुख डा.पौडेल बताउनुहुन्छ ।
बच्ने उपायहरु
होम आइसोलेसनका संक्रमितहरुले सुख्खा मास्कको प्रयोग गर्नुपर्दछ । बारम्बार साबुन पानीले हात धुनुपर्दछ । पटक–पटक एउटै मास्क प्रयोग गर्नु हुँदैन । आफु बस्ने कोठा सफा राख्नुपर्छ । नाक बारम्बार सलाइन पानीले सफा गर्नुपर्छ ।
अस्पतालमा
आइसोलेसेन सेन्टर, क्वारेन्टाइन उपचार केन्द्रहरु बारम्बार सफा गर्नुपर्दछ ।
एउटै सामग्री लामो समयसम्म प्रयोग गर्न नहुने विज्ञहरुले सुझाव दिनुभएको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत