१४ वर्षका किशोरीलाई एचपीभी खोप दिन सुरु, किन आवश्यक छ यो खोप ?
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) आजबाट दिन सुरु गरिएको छ । खोप १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीहरुलाई आजबाट खोप दिन सुरु गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल पुगेर खोप कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
मन्त्री बस्नेतले अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई खोप बक्स हस्तान्तरण गरी कार्यक्रम सुभारम्भ गर्नुभयो । पहिलो खोप धुम्बाराहीकी आइरिस मानन्धरलाई दिइएको थियो ।
मन्त्री बस्नेतले अहिले सीमित खोप रहेकोले सबै प्रदेशमा समानुपातिक रुपमा वितरण गरी लगाइएको जानकारी दिनुभयो ।
थप खोपका लागि ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको बताउनुभयो । एक वर्ष भित्र लक्षित गरिएको सबैका लागि एचपीभी खोप आइसक्ने उहाँको भनाइ छ ।
सातै प्रदेशका ठूला सरकारी अस्पतालहरुबाट एचपीभी खोप दिइँदैछ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार डडेल्धुरा अस्पतालमा २७ देखि २९ गते, प्रदेश अस्पताल, भेरी अस्पताल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा २७ देखि ३० गते, नारायणी अस्पतालमा २९ देखि ३१, कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म खोप दिइनेछ ।
विभिन्न देशहरूमा गरिएको अध्ययन पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढि क्यान्सर एचपीभीले गराउँछ।
यसमध्ये पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाती १६ र १८ बाट भएको देखिन्छ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।
सरकारले १० देखि १४ वर्ष उमेर समूहका झण्डै साढे १६ लाख किशोरीहरुलाई यो खोप दिने योजना बनाएको छ ।
चीनबाट दुई महिना अघि २० हजार भाइल खोप ल्याइएको छ । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।
खोप २ मात्रा पुरा गरेमा संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्छ । यो खोपबाट मुख, यौनांगमा आउने मुसा एवं यौनांगको क्यान्सरबाट जोगाउन सकिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत