डिमेन्सियाका रोगी बढ्दै, यस्ता छन् यसका कारण र रोकथामका उपाय

सांकेतिक तस्बिर ।
पछिल्लो समय ‘डिमेन्सिया’ अर्थात् बिर्सने रोग/समस्याले धेरै मानिस पीडित हुन थालेका छन् । यो रोग लाग्दा व्यक्तिको सोच्ने शक्ति, स्मरण शक्ति तथा तर्क गर्ने शक्ति क्षय हुँदै जान्छ । यसले सामान्य जीवनमै असर पार्छ ।
डिमेन्सिया उमेर ढल्किदै जाँदा हुने रोग हो । यो रोगका कारण व्यक्तिले दैनिक जीवनका क्रियाकलापहरूमा अरूको भर पर्नुपर्ने अवस्था सिर्जना हुँदै जान्छ । यो रोग विशेषगरी पाका उमेर (६० वर्षमाथि) हुने गर्छ ।
किन हुन्छ डिमेन्सिया ?
बिर्सने रोग/समस्या खासगरी ६० वर्षभन्दा माथिका व्यक्तिलाई हुने गर्छ । तर औषधिको ‘साइड इफेक्ट’, भिटामिन १२ को अभाव, थाइरोइडको समस्या लगायतका कारण वयस्क उमेरमा पनि यो रोगले सताउन सक्छ । भिटामिन १२ को कमी हुँदा आवश्यक मात्रामा रातो रगत नबन्ने र प्रत्यक्ष स्नायुमा असर गर्ने हुन्छ ।
कसलाई डिमेन्सियाको जोखिम बढी हुन्छ ?
बिर्सने समस्याको सबभन्दा बढी जोखिममा उमेर पाका भएका व्यक्ति हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार करिब ५० लाख मानिसलाई बिर्सने समस्या भएको छ । ती ६५ वा सोभन्दा पाका उमेरका छन् । त्यस्तै सन् २०६० सम्ममा उक्त सङ्ख्या १ करोड ४० लाख पुग्ने अनुमान गरिएको छ ।
यसैगरी पारिवारिक तथा वंशाणुगत पनि डिमेन्सिया हुन सक्छ । आमाबुवा वा परिवारका कुनै सदस्यलाई यस रोगले सताएको थियो भने अन्य व्यक्तिमा पनि हुन सक्ने सम्भावना हुन्छ । मुटुको समस्या भएका, धूम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेहलगायतका कारण पनि डिमेन्सिया हुने जोखिम हुन्छ ।
कुनै जाति विशेष यसको जोखिममा रहेको हुन्छ । एक अध्ययनअनुसार काला जातिमा यसको जोखिम बढी हुने गरेको छ । १४ प्रतिशत काला जातिमा डिमेन्सियासँग सम्बन्धित रोग लागेको देखिएको छ । त्यस्तै १२ प्रतिशत हिस्प्यानिक (स्पेनिस), हिस्प्यानिक भन्दा अन्य गोरा जातिलाई १० प्रतिशत, अमेरिकी–भारतीय ९ प्रतिशत तथा मध्य एसिया र एसियाका ८ प्रतिशत मानिसमा यसको जोखिम देखिएको थियो ।
जोखिमको अर्को व्यक्ति भनेको मस्तिष्क वा टाउकोमा चोट लागेकाहरू हुन् । टाउको अपरेशन तथा टाउको ठोक्किने गरी ठूलो दुर्घटनामा परेका व्यक्ति डिमेन्सियाको जोखिममा हुन्छन् । त्यस्तै ट्रमा गराउने किसिमको दुर्घटनाले पनि यो रोग हुने जोखिम बढी देखिन्छ ।
डिमेन्सियाका लक्षणहरू
डिमेन्सिया हुँदा विशेषगरी एकैछिनमा घटेको घटना बिर्सने हुन्छ । कोही बोल्दाबोल्दै एकैछिन अघिको कुरा सोधिहाल्ने जस्ता सुरुवातमा लक्षण देखिन्छन् । यसका अन्य लक्षणहरू निम्न देखा पर्छन् :
– एकैछिनमा कुनै घटना बिर्सने,
– सुन्दा सुन्दै केही क्षण अगाडिको कुरो सोध्ने,
– सधैँ चलाउने सामान ठिक ठाउँमा नराख्नु,
– याम नचिन्ने वा वर्ष, महिना जस्ता तिथिमिति थाहा नपाउने,
– शब्द छनोटमा समस्या हुने,
– चाहना, व्यवहार जस्ता कुरामा परिवर्तन ।
डिमेन्सियाको रोकथाम
डिमेन्सियालाई अन्तत: रोक्न सकिदैन । तर यसको जोखिमलाई न्यूनिकरण गर्न भने सकिन्छ । रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ । चिनीको मात्रालाई पनि सन्तुलनमै राख्नुपर्छ र वजनलाई वृद्धि हुन दिनु हुँदैन । समग्रमा दैनिक जीवनशैलीलाई सन्तुलित बनाउँदा डिमेन्सियाको जोखिमलाई कम गर्न सकिन्छ ।
डिमेन्सियाको जोखिमलाई कम गर्न धूम्रपान नगर्ने, सन्तुलित आहार खाने, दैनिक शारिरीक व्यायाम गर्ने, दिमागलाई व्यस्त राख्ने (पज्जल मिलाउने, शब्द खेल खेल्ने आदि), सामाजिक कार्यमा सरिक हुने आदि गर्नुपर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत