स्वास्थ्यमन्त्रीको अभिव्यक्तिको चौतर्फी आलोचना, राजीनामा माग
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको पछिल्लो विवादास्पद अभिव्यक्तिप्रति चौतर्फी आलोचना भएको छ । आफू नियुक्ती भएपछिका कामकारबाही बताउन सोमबार मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कर्मचारीको सरुवा प्रसंगमा उहाँले मानव अधिकारकोसमेत उल्लंघन हुने गरी आत्महत्या दुरुत्साहन हुने अभिव्यक्ति दिनुभएको थियो ।
मन्त्री बस्नेतले हिजो ‘स्वास्थ्यकर्मी सरुवा रोक्नका लागि आत्महत्या गर्ने सम्मको धम्की दिने गरेको भन्दै आफूले सचिवहरुलाई त्यस्तो धम्की दिन आए झुण्डिनका लागि डोरी किनेर पठाइदिनुहोस’ भनेकाे अभिव्यक्ति दिनुभएको थियो ।
उक्त अभिव्यक्तिको सांसद, मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी लगायतले व्यापक विरोध गर्नुभएको छ । निवर्तमान स्वास्थ्य राज्यमन्त्रीसमेत रहनुभएकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्री बस्नेतको राजिनामा माग्नु भएको छ ।
सांसद डा. कार्कीले सामाजिक सञ्जालमा टिप्पणी लेख्दै मन्त्रीको अभिव्यक्ति तुच्छ, निकृष्ट र आपत्तिजनक भएको बताउनुभएको छ ।
‘न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयसँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्यहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छू यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ ? भनेर कार्कीले प्रश्न गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पनि मन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ । महासंघका अध्यक्ष डा.झलक गौतमले विज्ञप्ति निकालेर मन्त्री बस्नेतले सार्वजनिक रुपमै डोरी दिएर झुन्डिन पठाउनु भन्ने अभिव्यक्ति दिनु गैरकानुनी, गैरजिम्मेवारपूर्ण र आपत्तिजनक रहेको भन्दै देख व्यक्त गर्नुभएको छ ।
‘संविधानको धारा १६ को सम्मानपूर्वक बाँचन पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को व्यवस्था विपरित कसुर हुने गरि आएको आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्न आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत