स्वास्थ्यमन्त्री विवादमा : मानवअधिकार उल्लंघन र आत्महत्या दुरुत्साहनको अभिव्यक्ति
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक रुपमा आत्महत्या दुरुत्साहन हुने अभिव्यक्ति दिनुभएको छ ।
सोमबार मन्त्रालयमा आफू नियुक्ति भएपछि गरिएका कामको विवरण बताउन आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कर्मचारी सरुवाको प्रसंगमा यस्तो बताउनुभएको थियाे ।
पत्रकार सम्मेलनमा कुरा गर्दै जाँदा मन्त्री बस्नेतले भन्नुभयो, ‘अब म अलि प्रष्ट कुरा गर्ने भएर यहाँ म केही कुरा भन्छु । केही मान्छेलाई सरुवा गर्यौं । यही ठाउँमा गर्नुपर्छ भनेर विभिन्न तागत लिएर आउने त छँदैछन् । हुँदाहुँदा कोही कोही त आत्महत्या गर्छु भन्दैं आउँछन् । केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन् । सचिवज्यूहरु यही दायाँ बायाँ हुनुहुन्छ । एउटा आएर म यही आत्महत्या गर्छु भनेछ । सचिवज्यूहरु त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ। अनि म कहाँ आउनुभयो । झन उहाँको त कमलो मन ९प्रशासन सचिव देवकुमारी गुरागाईतिर हेर्दै० लौन केही गर्नुप¥यो आत्महत्या गर्छु भन्छ भन्नुभयो । मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन अप्ठेरो लागेको भए मन्त्रीको गेटमा आएर झुण्डिनु भन्दिनुस भन्दिए । उहाँहरुले त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो । यहाँ दंग्याउने घुर्काउने तर्साउने सबैकुरा भएका छन् । सबैकुरा पचाएरपुरा पनि नहुने, यसमा तपाईहरुको साथ चाहिन्छ । ’
धम्काउने, तर्साउनेको कुरा सुन्दिन भन्ने हिसाबले मन्त्री बस्नेतले अभिव्यक्ति दिएको जस्तो देखिएपनि जिम्मेवार र सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक र मानवअधिकार विरुद्ध रहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले कसैले कसैलाई आत्महत्या गर भन्न नमिल्ने र यो आत्महत्या दुरुत्साहनमा पनि जान सक्ने बताउनुभयो । व्यक्तिको आत्मसम्मानको कुरा हुन्छ, उहाँले भन्नुभयो, कानूनभन्दा विपरीत रही कसैलाई आत्महत्या गर भन्न पाइदैन । कानूनले निषेध गरेको कुराहरुलाई यसो गर भन्नु मानवअधिकारको उल्लघंन हाे ।’
यसैगरी वरिष्ठ अधिवक्ता लब मैनालीले आत्महत्या दुरुत्साहन हुने गरि कसैले कसैलाई व्यवहार गर्न नहुने बताउनुभयो । बारम्बार एउटै कुरा (आत्महत्या प्रोत्साहन) हुने गरि विषय उठाउनु गलत रहेको उहाँको भनाइ छ । ‘यदि डिप्रेशनको समस्या भएको अथवा मानसिक स्वास्थ्यमा केही समस्या रहेको व्यक्ति रहेछ भने उसलाई बारम्बार आत्महत्याको कुरा गर्दा उसले आत्महत्या गर्नपनि सक्छ ।’ ‘त्यस्तो अवस्थामा आत्महत्या दुरुत्साहनको मुद्धा लाग्न सक्छ, उहाँले भन्नुभयाे ।’
आत्महत्या दुरुत्साहन हुने गरी कसैले पनि अभिव्यक्ति दिन र व्यवहार गर्न नमिल्ने मनोचिकित्सकहरु बताउँछन् । जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा के बोल्न हुन्छ, के बोल्न हुँदैन ? भन्ने हेक्का राख्नपर्ने उहाँहरुको भनाई छ ।
नोट : आत्महत्या वा आत्महानीको सोच आएमा ११६६ मा फोन गरी परामर्श लिन सकिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत