त्रिवि शिक्षण अस्पतालमा एमआर आतंक, ३ बजेअघि छिर्न प्रतिबन्ध
त्रिवि शिक्षण अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ(एमआर) का कारण तनाव उत्पन्न भएको छ । औषधि मार्केटिङका लागि दिनहुँ सयौँको संख्यामा एमआरको भीड हुन थालेपछि एमआरलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ।
बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल परिसरमा एमआरहरुको भीड देखिन्थ्यो । कोही–कोही भित्र छिरेर ओपीडि अगाडि बसिरहेका थिए बिरामीसँगै ।
केहीलाई भने भित्र पस्नै नदिनु भनेका छन् भनेर सुरक्षागार्डहरूले रोकिरहेका थिए । औषधि उत्पादक र वितरक कम्पनीका प्रतिनिधिहरु औषधिको मार्केटिङ गर्न बिरामी जाँचिरहेका डाक्टरको कोठा-कोठा पुग्ने गर्छन्। आफ्नो औषधि बिरामीलाई सिफारिस गरिदन डाक्टरलाई आग्रह गर्ने गरिन्छ ।
यो प्रचलन लामो समयदेखि चल्दै आएको छ । ओपीडी अगाडि एमआरहरु भीड लागेर बस्दा उपचार गर्न आएका बिरामीलाई सास्ती भएपछि ओपीडी समयमा भित्र प्रवेश गर्न रोक लगाइएको त्रिवि शिक्षण अस्पतालका कर्मचारीहरुको भनाइ छ ।
ओपीडी अगाडी चिटिक्क मिलेका लुगा लगाएका, गह्रौँ झोला भिरेका एमआरहरुको ठूलो समूह डाक्टर कुरेर बसेको देखिन्थ्यो ।
शिक्षण अस्पतालले यही असार ६ गतेबाट ओपीडी समयमा एमआरलाई भित्र प्रवेश गर्न रोक लगाएको शिक्षण अस्पताल कर्मचारी युनियनका अध्यक्ष शिव गिरीले जानकारी दिनुभयो ।
अस्पतालमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि एमआरलाई रोक लगाइएको उहाँको भनाइ छ ।
डाक्टरको कोठामा छिर्न समेत नमिल्ने गरी भीड लागेर बस्ने, उनीहरुका झोलाले बिरामीलाई लडाउने जस्ता समस्या भइरहेको थियो ।
केहीदिन अघि एक महिला एमआरको ब्यागको चेनले कोरेर बच्चाको हात नै काटिदिएको शिक्षण अस्पतालका एक सुरक्षा गार्डले जानकारी दिए ।
२ साताअघि विवादका कारण एक एमआर र सुरक्षा गार्डबीच हानाहान नै भएको थियो । विवाद मिलाउनका लागि प्रहरी नै आउनु परेको ती सुरक्षा गार्डको भनाइ छ ।
यस्तै समस्याहरु भएपछि ओपीडी समय ३ बजेसम्म भित्र प्रवेश गर्न निषेध गरिएको कर्मचारी युनियन अध्यक्ष गिरीको भनाइ छ ।
गिरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा दैनिक २०० देखि ३०० सम्म एमआर आउने गरेका थिए ।
बिरामी बाहिर कुरिरहेका बेला समेत छिरेर डाक्टरलाई अल्मल्याउने गरेको आरोप अस्तपालका एक स्वास्थ्यकर्मीले लगाउनुभयो ।
ओपीडी अगाडि कुर्ने बिरामी भन्दा औषधि मार्केटिङ गर्न आउनेको भीड धेरै हुने गरेको गुनासाे एक सेवाग्राहीले गरे । युरोलोजीमा आफन्तलाई लिएर आएको बताउने ती व्यक्तिका अनुसार एमआरहरू ओपीडी अगाडि राखिएका कुर्सीमा ढपक्कै ढाकेर बस्दा अशक्त बिरामी समेत उभिएर पालो कुरिरहेको देखिन्थ्यो।
बिहीबार दिउँसो पनि ५०–६० जना जतिको एमआर जम्मा भइसकेका थिए । भित्र पस्न नदिएकोमा सुरक्षा गार्डसँग गुनासो गरिरहेका थिए । ३ बजेपछि डाक्टर नै नभेटिने भएकाले अहिल्यै छिर्न दिन आग्रह गरिरहेका थिए ।
सर्जिकल ओपीडी अगाडि धेरै जना एमआर जम्मा भएपनि सुरक्षा गार्ड र कर्मचारी युनियन अध्यक्ष गिरी आएर सम्झाउनु भएको थियो ।
उहाँहरुले अस्पताल प्रशासनले नै भित्र छिर्न नदिनु भनेकाले ३ बजेसम्म नछिर्न आग्रह गर्दै बाहिर निकालिएको निकालियो ।
सुरक्षा गार्डको आँखा छलेर भित्र ओपीडी अगाडि डाक्टर ढुकिरहेका एमआरहरुलाई पनि खोजी खोजी बाहिर निकालियो ।
यसरी मार्केटिङ गर्न प्रतिबन्ध लगाउदा आफूहरुलाई समस्या पर्ने एमआरहरुको गुनासो थियो।
अन्य अस्पतालमा निर्वाध मार्केटिङ गर्न पाइने भएपनि टिचिङमा रोकिएको एक एमआरले बताउनुभयो।
धेरै समयपछि शिक्षण अस्पताल आएको सुनाउने ती एमआरले भने–नयाँ औषधिबारे डाक्टरलाई थाहै हुँदैन । अनि कसरी सिफारिस गर्छन् ? हामीलाई यसरी रोक्न मिल्दैन ।’
ढोकैमा नकुरे डाक्टरलाई भेट्न नसक्ने भएकाले ३ बजे भित्र छिर्दा कोही डाक्टर नभेटिने उहाँको भनाइ छ ।
नयाँ–नयाँ औषधि बजारमा आइरहने भएकाले प्रचारका लागि डाक्टरलाई भेटेर मार्केटिङ गर्नुको विकल्प नभएको शिक्षण अस्पतालको ओपीडीबाट निकालिएको एक एमआरले बताउनुभयो ।
‘औषधिको टिभी, पत्रिकामा विज्ञापन गर्नै पाइँदैन, डाक्टरलाई भेटेर नभने कसरी मार्केटिङ गर्नु’ ती एमआरको प्रश्न छ, ‘डाक्टरले थाहै नपाइ कसरी बिरामीलाई सिफारिस गर्छ ?’
‘हामीलाई प्रशासनले छिर्न नदिन भनेको छ, फेरिफेरि यहाँ देख्यो भने जबरजस्ती गर्न बाध्य हुन्छौँ’ भन्दै सुरक्षागार्ड र अस्पतालका कर्मचारीले एमआरलाई सम्झाइरहेका थिए ।
एमआरहरु अस्पतालमा पुगेर डाक्टरलाई आफ्ना औषधि सिफारिस गरिदिन कन्भिन्स गर्ने गर्छन् ।
डाक्टरले बिरामीसँग परामर्श गर्ने कोठामा छुट्टै टेबल राखेर एमआर बस्ने गरेको समेत पाइएको टिचिङमा भेटिनुभएका एक सेवाग्राहीले बताउनुभयो । डाक्टरले औषधि प्रिस्क्राइव गर्ने र सो औषधिबारे बुझ्न एमआरको टेबलमा आफूलाई पठाएको ती सेवाग्राहीको भनाइ छ।
'डाक्टरले सोधेर औषधि लेखिदिनुभयो अनि औषधिबारे उता सर बसिरहनु भएको छ, त्यहाँ गएर सोध्नुहोला भन्नुभयो, अचम्म लाग्यो' ती सेवाग्राहीले भन्नुभयो।
६ महिनाअघि छातिरोगबारे जचाउन आफन्तलाई लिएर आउँदा त्यस्तो भोगेको ती सेवाग्राहीले जानकारी दिनुभयो ।
केदार गौतम

तपाईँको अभिमत