मनाइयो ‘क्यान्सर सर्भाइभर दिवस’, क्यान्सर जितेकाहरू भन्नुहुन्छ— योसँग नडराउनूस्, यसले मरिँदैन
३८औँ क्यान्सर सर्भाइभर दिवस राष्ट्रिय रूपमा मनाइएको छ । राजधानीमा नेपाल अर्वुदरोग विजेता समाजले एक कार्यक्रम गरी दिवस मनाएको हो ।
कार्यक्रममा सहभागीहरूले क्यान्सरबाट मान्छेको मृत्यु हुन नसक्ने भन्दै क्यान्सरलाई जित्न सकिने बताएका छन् । क्यान्सर विजेता तथा ‘साइकलयात्री’ ध्रुवप्रसाद हुमागाईँले क्यान्सर लाग्दैमा व्यक्तिको मृत्यु नभइहाल्ने बताउनुभयो । ‘क्यान्सरलाई जित्न सकिन्छ । यो लाग्दैमा मरिदैन’, उहाँले भन्नुभयो, ‘म साइकल यात्रा गरिरहेको छु । यस्तो यात्रा गर्न जरुरी छ । हामी क्यान्सर फाइटरहरूले अरूलाई पनि फाइटर बनाउनुपर्छ ।’
क्यान्सर विजेतासमेत रहनुभएकी वरिष्ठ गायिका मीरा राणाले अहिले पनि क्यान्सर सुन्दा डर लागे पनि जित्न सकिन बताउनुभयो । आफूलाई स्तन क्यान्सर हुँदाको क्षण सम्झँदा डर लाग्ने उहाँको भनाइ छ । ‘नेपालमा हुँदा मलाई क्यान्सर होइन भनेर औषधि दिइरह्यो’, उहाँले भन्नुभयो, ‘पछि लन्डनमा गएर जाँच गर्दा क्यान्सर थाहा भयो । ४० कटेपछि चाहिँ महिलाले दुई वर्षको फरकमा मेमेग्राफ गराउनुपर्दो रहेछ ।’
उहाँले क्यान्सर भएका व्यक्ति घरको पर्खालभित्र मात्रै नबसी बाहिर निस्केर केही न केही काम गर्नुपर्ने र त्यसले मानसिक समस्या ल्याउन नदिने सुझाव दिनुभयो ।
समाजकी अध्यक्ष प्रमिला खनालले क्यान्सर विजेताहरूमा भावनात्मक रूपमा गहिरो गरी सम्बन्ध रहेको बताउनुभयो । ‘आफन्तले बोलाउँदा जाँदैनौँ होला’, उहाँले भन्नुभयो, ‘हामी क्यान्सर पीडितहरूले बोलाउँदा जसरी पनि पुगिन्छ । हामीमा भावनात्मक सम्बन्ध गहिरो छ ।’ उहाँले क्यान्सर पीडितहरू एक अर्कामा हौसला दिने र आत्मबलसहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।
समाजकी कोषाध्यक्षसमेत रहनुभएकी विनु केसीले पनि आत्मबल बलियो र त्यसमा परिवारको साथ हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार परिवारले साथ दिँदा आत्मबल झन बलियो भएर आउँछ । त्यसैले पहिले परिवारले साथ दिनुपर्छ ।
त्यस्तै घाँटीको क्यान्सर विजेता तथा साइकलयात्री नमिता बस्नेतले पनि आत्मबलकै कारण आफूले मेची–महाकाली साइकलयात्रा गर्न सकेको बताउनुभयो । ‘रोग लागेर मरिन्छ भनेर नडराउनूस्’, उहाँले भन्नुभयो, ‘क्यान्सर लागेर मरिँदैन । यसलाई जित्ने हो ।’
कार्यक्रममा सहभागी गीता रानाभाटले आफ्नो छोरीले उनको र परिवारको आत्मबलकै कारण क्यान्सर जितेको दाबी गर्नुभयो । छोरीको आयु लामो नभएको बताउँदा पनि आफ्नो आत्मबलका कारण १५ वर्षसम्म जिवितै रहेको र उच्च शिक्षा हासिल गरिरहेको बताउनुहुँदै उहाँले क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।
कार्यक्रममा घाँटीको क्यान्सरमुक्त हुनुभएपछि साइकल यात्रामा निस्कनुभएकी नमिता बस्नेतलाई सम्मान गरिएको थियो । क्यान्सरग्रसित भएर पनि सामान्य जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिन मेची-महाकाली साइकलयात्रा पूरा गर्नुभएकोप्रति धन्यवाद ज्ञापन गर्दै सम्मान गरिएको हो । त्यस्तै पाँच जनाले कविता वाचन गर्नुभएको थियो भने नाचगानसमेत गरिएको थियो ।
‘क्यान्सर सर्भाइभर डे’ सन् १९८८ मा अमेरिकाबाट सुरु भएको थियो । जुन महिनाको पहिलो आइतबार यो दिवस मनाउने गरिएको छ । नेपालमा राष्ट्रिय क्यान्सर सर्भाइभर दिवस भनेर मनाउन थालिएको आठ वर्ष भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत