पछिल्लो ४ दिनमा २ हजारभन्दा बढीलाई डेंगी, ७४ जिल्लामा फैलियो संक्रमण
पछिल्लो ४ दिनमा २ हजारभन्दा बढीलाई डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार अगस्ट ३ देखि ७ सम्म २ हजार १५८ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । यो सँगै डेंगी संक्रमितको संख्या ९ हजार ४११ पुगेको छ । अगस्ट ३ सम्म डेंगी संक्रमितको संख्या ७ हजार २५३ रहेको थियो ।
संक्रमण ७४ जिल्लामा फैलिएको छ । डेंगीका कारण ७ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा भेटिएको छ । त्यसमा पनि सुनसरी धरानमा अत्याधिक संख्यामा संक्रमित पुष्टि भएका छन् ।
यो वर्ष अहिलेसम्मको अवस्था हेर्दा, सबैभन्दा धेरै डेंगी संक्रमण सुनसरी, मोरङ धादिङ कास्की, धनकुटा, दार्चुला, झापा, काठमाडौं, संखुवासभा र कञ्चनपुरमा देखिएको छ । यी जिल्लाहरुमा संक्रमितको संख्या ८ हजार ३८२ रहेको छ । यो संख्या कुल संक्रमितको ८९ प्रतिशत हो । गतवर्ष संक्रमण नदेखिएका जिल्लाहरुमा यसवर्ष संक्रमण देखिएको छ । एक स्थानमा संक्रमण देखिएपछि कम्तिमा २ देखि ३ वर्षसम्म सो स्थानमा फेरि उहि गतिमा संक्रमण नदेखिने प्रवृति देखिएको छ ।
गत वर्ष काठमाडाैं उपत्यका, हेटाैडा चितवन लगायतका स्थानमा डेंगीले महामारीकाे रुप लिएकाे थियाे । यस वर्ष पनि कुनै पनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीकाे रुप लिनसक्ने जाेखिम कायमै रहेकाले लामखुट्टेकाे टाेकाइबाट जाेगिन इडिसिडीले अनुराेध गर्दै आएकाे छ ।
स्रोत : इडिसिडी
हेल्थपाटी 
तपाईँको अभिमत