कलेजो काटेर दिने श्रीमती अगाडि आउँदा बोल्नै सकिन

छोरीले एसइई पास गरेको उपलक्ष्यमा सगुन दिने कार्यक्रम थियो कीर्तिपुरका इच्छाकुमार महर्जनको घरमा । कुरा गतसाल असोजको हो । घरमा सानोतिनो भोज आयोजना गरिएको थियो । खानेकुरा खाएसकेपछि इच्छाकुमारलाई एक्कासी पेट फुलेको अनुभूति भयो ।
इच्छाकुमारले उसिनेको अण्डा अलि बढी खानुभएको थियो । त्यसैले ग्यास्ट्रिक भएको होला भन्ने लाग्यो । कोरोना महामारी अलि कम भएपनि त्रास कायमै थियो । अलिअलि ज्वरो पनि आयो । थकाइ धेरै लागेजस्तो भयो । कोरोना होकि भन्ने लाग्यो ।
कीर्तिपुरमै रहेको एक पोलिक्लिनकमा गएर त्यहाँका डाक्टरसँग परामर्श लिनुभयो । उहाँले अलिअलि परीक्षण गरेर ग्यास्ट्रिक हो, खासै केही भएको छैन भनेर औषधि लेखिदिनुभयो ।
त्यो औषधिले केही ठिक भएजस्तो भयो । ग्यास्ट्रिक नै रैछ भन्नेमा पुग्नुभयो इच्छाकुमार । तर थाक्ने क्रम रोकिएन । अर्काे दिन गाडीमा आफन्तलाई लिएर दक्षिणकाली जानुपर्ने थियो । फर्पिङनजिकै पुग्दा गाडीको टायर पञ्चर भयो । टायर फेर्दाफेर्दै असाध्यै थाकेको अनुभूति भयो । त्यति धेरै थाकेको अनुभव उहाँलाई यसअघि भएको थिएन । एकछिन आराम गरेर बल्लतल्ल टायर फेर्नुभयो ।
त्यसको केही दिनपछि तीन परिवार मिलेर २ वटा गाडीमा घुम्न जानुभयो । एउटा गाडी इच्छाकुमारले हाक्नुभएको थियो । पहिलो रात बन्दीपुरमा बिताउनुभयो । त्यो दिन पनि उहाँलाई निकै थाकेको अनुभव भयो । त्यहाँबाट घुम्दै पोखरा फर्किनुभयो । धेरै थाकेको महसुुस भयो । घुम्नजाने टोलीमा टिचिङ अस्पतालमा काम गर्ने स्टाफ नर्स बहिनी पनि हुनुहुन्थ्यो । उहाँले बहिनीलाई समस्या सुनाउनुभयो ।
उहाँले पनि ग्यास्ट्रिकै समस्या होकि भन्नुभयो । खान रुची हुन छाड्यो । बेलुका होटलमा सुत्ने बेला उहाँकी श्रीमती ज्ञानीशोभाले तपाईको खुट्टा बेस्सरी सुन्निएको छ भन्नुभयो । त्यसपछि नर्स बहिनीलाई यो कुरा सुनाउनुभयो । उहाँले–गोडाा झुण्डिएर होला सुन्निएको खुट्टा छाती भन्दामाथि राखेर सुत्नु अह्राउनुभयो । सिरानीमाथि गोडा राखेर सुत्नुभयो । नभन्दै बिहान गोडा सुन्निएको बस्यो । थाक्ने क्रम भने रोकिएन । अब इच्छाकुमारलाई मेरो रोग ग्यास्ट्रिक होइन भन्ने लाग्नथाल्यो । उहाँलाई गाह्रो भएपछि भ्रमण छोट्याएर काठमाडौं फर्कनुभयो ।
काठमाडौं फर्किएको अर्काे दिन जचाउन शिक्षण अस्पताल पुग्नुभयो । त्यहाँ परीक्षण गराउँदा डाक्टरले पेटमा पानी जमेको देखिएको र यो कलेजोको समस्याले भएको भन्नुभयो । सोही दिननै भर्ना हुन भनियो । त्यसपछि उहाँ अचम्ममा पर्नुभयो । परीक्षण नगराएर घुम्न गएको, रोगलाई बेवास्ता गरेको भनेर केही आफन्तले इच्छाकुमारलाई गाली पनि गरे । अवस्था जटिल नै भएको डाक्टरहरूले सुनाए । ‘यस्तो अवस्थामा त तपाई बेहोस् हुनुपर्ने कसरी हिँडिरहनु भएको छ’ डाक्टरले सुनाउनु भएको थियो ।
आफैँ गाडी चलाएर अस्पताल जानुभएका इच्छाकुमार गाडी चलाएरै घर फर्किनुभयो । भोलिपल्ट अस्पताल भर्ना हुने तयारीमा लाग्नुभयो । पीसीआर गर्न दिनुभयो । अर्काे दिन भने साथीले अस्पताल पुर्याउनुभयो । त्यसपछि उहाँ भर्ना हुनुभयो ।
३ महिना औषधिबाट उपचार गराइयो । त्यसमा खासै सुधार भएन त्यसपछि । अब विकल्प भनेको कलेजो प्रत्यारोपण मात्रै रहेको डाक्टरहरूले सुनाउनुभयो । कहाँ–कहाँ कसरी प्रत्यारोपण हुन्छ ? के व्यवस्था छ ? भनेर परिवार, आफन्तले बुझिरहनुभएको थियो ।
त्यति बेलासम्म इच्छाकुमारको आत्मबल निकै कमजोर भइसकेको थियो । ४६ वर्षीय उहाँलाई अब पक्कै बाँच्दिन जस्तो लागिसकेको थियो । कोही अगाडि देख्यो भने बोल्नै नसक्ने । रुन आइहाल्थ्यो ।
‘मत पूरै होपलेस भइसकेको थिएँ’ इच्छाकुमार भन्नुहुन्छ, ‘परिवार र आफन्तले जसरी पनि प्रत्यारोपण गर्ने व्यवस्था मिलाउँछौँ । केही हुँदैन पीर नगर त भनिरहेका थिए । तर मन के मान्थ्यो ? ’
प्रत्यारोपण गर्न भारतमा कस्तो व्यवस्था छ भनेर पनि आफन्त, साथीहरूले बुझिरहेका थिए । कलेजो प्रत्यारोपण गरेका अरु व्यक्तिसँग पनि कुरा भयो । सबै कुरा बुझ्दा नेपालमै प्रत्यारोपण हुने थाहा भयो ।
कोरोनाका कारण टिचिङमा नहुने भएकाले भक्तपुरको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा गर्न सल्लाह परिवारमा भयो ।
परिवारको मिटिङ बस्यो अब त्यहाँ प्रत्यारोणका लागि कसलाई भेट्ने ? धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नर्भिकमा समेत काम गर्दै आउनुभएका डा.प्रदेश सापकोटालाई भेट्न जानुभयो ।

डा. प्रदेशलाई पहिलो पटक भेट्दा नै उहाँले इच्छाकुमारको मनमा आशा जगाउनुभयो । ‘उहाँलाई भेटेपछि मनै हलुंगो भयो, यस्तो आशा जगाइदिनुभयो कि फुटिसकेको बेलुनमा हावा भरेजस्तै भयो’ इच्छाकुमार भन्नुहुन्छ, 'सकारात्मक भएर खुसीसाथ घर फर्कियौँ ।'
त्यसपछि उहाँले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बोलाउनुभयो । परामर्श भयो । परीक्षणहरू सुरु भयो । कलेजो प्रत्यारोपणका लागि विभिन्न ठाउँमा अनेक थरी परीक्षण गर्नुपर्थ्यो । त्यो सक्न सामान्यतया ६ महिना लाग्थ्यो । परिवार, आफन्त, साथी सबैको निरन्तर खटाइले २ महिनामा सबै परीक्षण सकियो । खर्च १० लाख जति भयो ।
इच्छाकुमारलाई कलेजो दिन धेरै जना आफन्त तयार हुनुहुन्थ्यो । छोरीले म दिन्छु भन्नुभएको थियो । आफ्नो सन्तानको कलेजो काटेर लिने कुरा सम्झँदा पनि इच्छाकुमारलाई भक्कानो छुट्यो । ‘कसरी मेरो कलिला बच्चाको अंग काटेर लिन सक्थेँ, त्यसो गर्नुभन्दा बरु मर्नु नै ठिक लाग्यो’ उहाँ भन्नुहुन्छ ।
श्रीमती ज्ञानीशोभाले यो आफ्नो समस्या भएकाले अरुलाई दुख: नदिने अठोट लिनुभयो । मिलेसम्म आफैँ दिने, नमिले मात्रै विकल्प सोचौँला भन्नुभयो । परीक्षण गर्दा ज्ञानीशोभाकै कलेजो दिन मिल्यो ।
सबै तयारी सकेर चैत्र २० गते अप्रेसन भयो। उहाँलाई निकै पीर थियो । आफ्नो भन्दा पनि श्रीमतीको धेरै चिन्ता थियो । आफू त यसैउसै मृत्युको मुखमा पुगिसकेको मान्छे, स्वस्थ्य श्रीमतीलाई पनि केही हुने होकि भनेर निकै मन आत्तिएको थियो ।
अप्रेसन सकेको भोलिपल्ट भोलिपल्ट ह्विलचियरमा राखेर ज्ञानीशोभालाई इच्छाकुमारको अगाडि ल्याइयो । ‘आँखाभरि आँसु भयो । केही कुरा गर्न सक्नुभएन । ‘मलाई बचाउन कलेजो काटेर दिने श्रीमती अगाडि देख्दा बोल्नै सकिन रुन मात्रै आयो।’ यी कुरा सुनाइरहँदा इच्छाकुमारको गला अवरुद्ध भयो ।
‘केहीदिन पछि हाम्रो म्यारिज एनिभर्सरी छ । मेरो जीवनसाथीले मलाई म्यारिज एनिभर्सरीका लागि यति अमूल्य उपहार दिइन्, यो सम्झिँदा आसुँ थाम्नै सक्दिन ।’
त्यसको एकसातापछि ज्ञानीशोभा हिँडेरै इच्छाकुमारलाई भेट्न आउनुभयो । दुवै जनाको मनमा कति खुसी थियो बयान गर्नै सकिँदैन । डिस्चार्जको दिन पनि उहाँ भेट्न आउनुभएको थियो ।
भर्खरै उठेर शौचायल जान थाल्नुभएका इच्छाकुमार डिस्चार्ज हुने दिनको प्रतीक्षामा हुनुहुन्छ । उहाँलाई घर गएर आफूलाई कलेजो काटेर दिने जीवनसाथीसँग बसेर अघाइञ्जेल रुन मन, छ अनि खुसी हुन पनि । दुई छोरी र परिवारसँगै दोस्रो जीवनको खुसी मनाउने सुखद कल्पनाले उहाँलाई रोमाञ्चित र भावुक बनाइरहेको छ ।
अस्पतालका डाक्टर नर्सको व्यवहार देखेर उहाँ औधि खुसी हुनुहुन्छ । आफ्नो परिवारका सदस्यले भन्दा धेरै हेरचाह गरिरहनुभएको इच्छाकुमार सुनाउनुहुन्छ । ‘उहाँहरूले नै नयाँ जीवन दिनुभयो । आभार प्रकट गर्ने शब्द नै छैन । यति धेरै भरोसा र केयर पाउँछु भनेर सोचेकै थिइन’ इच्छाकुमार खुसी व्यक्त गर्नुहुन्छ ।
तपाईँको अभिमत