'२० लाख सक्किएपछि थाहा भयो भक्तपुरमा राष्ट्रिय प्रत्यारोपण केन्द्र रहेछ'
झापाका रामचन्द्र ओली अहिले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गरिरहनुभएको छ। उहाँको डिस्चार्ज हुने समय भइसक्यो। १ वर्ष अगाडिसम्म उहाँलाई न आफ्नो कलेजो बिग्रिएको कुरा थाहा थियो न धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भन्ने अस्पतालकै बारेमा सुन्नुभएको थियो।
डाक्टरले छोरीको आधा कलेजो काटेर आफ्नो शरीरमा राखेपछि आफूले नयाँ जीवन पाएको कुरा उहाँलाई सपनाजस्तै लागिरहेको छ।
चैत्र २१ गते करिब ११ घण्टा लगाएर उहाँको कलेजो प्रत्यारोपण गरिएको थियो। प्रत्यारोण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको शल्यक्रियामा भारतीय डाक्टरहरुको टोली पनि सहभागी थियो।
अप्रेसन कोठाभित्र छिरेपछि केही सुघाएजस्तो लागेको थियो रामचन्द्रलाई, त्यसपछि केही थाहा छैन। एक्कै पटक उहाँले आफूलाई बेडमा सुतिरहेको पाउनुभयो। राम्रोसँग होस आएपछि उहाँले सोध्नुभयो-कतिखेर मेरो अप्रेसन सुरु हुन्छ ? डाक्टरले भन्नुभयो–तपाईको अप्रेसन भइसक्यो त।
‘म त अचम्ममा परेँ सपनाजस्तै भयो, केही थाहा छैन अप्रेसन सकिएछ’ रामचन्द्र भन्नुहुन्छ; ‘विज्ञानले क्या चमत्कार गरिदियो।’
कोभिडपछि रोग पत्ता लाग्यो
गतसाल बैशाखको अन्त्यतिर नेपालमा कोभिड–१९ महामारीको दोस्रो लहरले उग्ररुप लिएको थियो। यो मारमा रामचन्द्र ओलीको परिवार पनि पर्यो। सुरुमा उहाँकी श्रीमतीलाई र पछि उहाँलाई कोरोना संक्रमण भयो। केही कठिन बनाए पनि घरमै बसेर उहाँहरूले कोभिडलाई जित्नुभयो।
कोभिड निको भएको दुई–चार दिनपछि रामचन्द्रलाई दिसा, पिसाब गर्दा अप्ठेरो हुनथाल्यो। अलि गाह्रो भएपछि उहाँ परीक्षणका लागि मेडिसिटी अस्पताल जानुभयो। परीक्षण गर्दै जाँदा पत्ता लाग्यो कलेजोमा ट्युमर रहेछ। त्यो भनेको क्यान्सर हो।
हेपाटाइसिटसको समस्या बढ्दै गएर यस्तो भएको कुरा परीक्षण पछि थाहा भयो। करिब २५ वर्ष पहिले विदेश जान लाग्दा स्वास्थ्य रिपोर्टमा जण्डिस देखियो मिलेन भनेका थिए। त्यतिबेला देखि नै हेपाटाइटिस रहेको कुरा रामचन्द्रले अहिले थाहा पाउनुभयो। स्वास्थ्य सामान्य भएकाले कुनै उपचार गर्नुपरेको थिएन।
त्यसपछि मेडिसिटीमा उपचार सुरु भयो कोभिडले गर्दा कतै अस्पतालमा छिर्न सकिने अवस्थामा थिएन।
इमिनोथेरापी गरेर ट्युमर घटाउन सकिन्छ भन्ने कुरा डाक्टरले सुनाएपछि उहाँले त्यहाँ त्यो उपचार लिनुभयो। ५ महिना भन्दा बढी मेडिसिटीमा उपचार भयो। सुधारको संकेत देखिएन।
मेडिसिटीकै डाक्टरको सल्लाहमा रामचन्द्रले भारतमा गएर पनि उपचार गराउनुभयो। यसबाट पनि सुधार नभएपछि मेडिसिटीका डाक्टरले प्रत्यारोपणको सम्भावनाका लागि खोजी गर्न भन्नुभयो। त्यसपछि गत पुसमा रामचन्द्र त्रिवि शिक्षण अस्पतालमा पुग्नुभयो। सोधपुछ गर्ने क्रममा कसैले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने कुरा सुनाएको थियो।
त्यहाँ गएर उहाँले डाक्टर अजित थापालाई भेट्नुभयो। उहाँको सुझावअनुसार रामचन्द्र भर्ना पनि हुनुभयो। परीक्षण गर्दा ट्युमर पनि बढेको र केही जोखिम देखिपछि उहाँलाई केही समय कुर्न भनियो। एक महिनापछि पुन परीक्षण गर्दा रिपोर्ट सामान्य आयो। अब प्रत्यारोपण गर्न मिल्ने भयो। तर टिचिङमा कोभिडलगायत विभिन्न कारणले अहिले प्रत्यारोपणको काम हुन नसक्ने कुरा आयो।
डा.प्रदेज सापकोटाको पहलमा कलेजो प्रत्यारोपणका लागि रामचन्द्र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुग्नुभयो।
छोरीको साथ
१९ वर्षीया छोरी सुमित्रा रामचन्द्रकी एक्ली सन्तान हुनुहुन्छ। कलेजो प्रत्यारोपण गर्नुपर्ने कुरा आउनेवित्तिकै उहाँले नै बुबालाई कलेजो दिने अठोट गरिसक्नुभएको थियो। ‘मैले त अब जे हुन्छ हुन दिउँ, कलेजो प्रत्यारोपण गर्दिन भनेको थिएँ। छोरीले निकै जिद्धि गरिन्’ रामचन्द्र भन्नुहुन्छ, ‘शरीरको अंग काटेर जो पायो उहिले दिँदैन मिलेसम्म मै दिन्छु भनेर लागिन्।’ आखिर मिल्यो पनि। त्यसपछि प्रत्यारोपणको काम अघि बढ्यो।
आफूलाई अब छिट्टै मर्छु भनेर कहिले डर नलागेको र कहिले पनि हरेश नखाएको रामचन्द्र सुनाउनुहुन्छ। 'कलेजो पूरै बिग्रियो प्रत्यारोपण नगरे बाँच्ने उपाय छैन भन्ने थाहा पाउँदा पनि म कत्ति डराइन एक किसिमको आत्मविश्वास मनमा थियो’ उहाँ भन्नुहुन्छ।
रामचन्द्रलाई नेपालमा मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाउनुभएको थियो। तर नेपालमै कलेजो पनि प्रत्यारोपण हुन्छ भन्ने कुरा सोच्नु नै भएको थिएन।
मेडिसिटीमा उपचार गर्दा र भारत जाँदा समेत गरेर २० लाख भन्दा बढी खर्च भइसकेको थियो। यता आएर कजेलो प्रत्यारोपण गराइसक्दा थप २५ लाख जति सक्कियो। यसमा आधा जति कमाएर जम्मा गरेको पैसा थियो। बाँकी ऋण लागेको छ।
‘यहाँ प्रत्यारोपण हुने कुरा सुरुमै थाहा भएको भए २५ लाख जति मात्रै खर्च हुने रहेछ’ रामचन्द्र सुनाउनुहुन्छ, ‘भक्तपुर क्यान्सर अस्पताल भन्ने चाँही थाहा थियो। धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भन्ने थाहै थिएन।’ शिक्षण अस्पताल जाँदा डाक्टर प्रदेज सापकोटाले भनेपछि मात्रै राष्ट्रिय प्रत्यारोपण केन्द्रको नाम सुनेको उहाँ बताउनुहुन्छ।
डाक्टर प्रदेजमार्फत धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेपछि राम्रो परामर्श भयो। विश्वस्त बनाउने काम यो। अप्रेसनमा भारतको रिनियर डाक्टरहरु पनि सहभागी हुने कुरा उहाँहरुले सुनाउनु भयो। त्यसपछि रामचन्द्र ढुक्क हुनुभयो।
नेपालमा त्यो पनि सरकारी अस्पतालमा यस्तो सुरक्षित तरिकाले कजेलो प्रत्यारोपण गर्न पाउँदा आफूले सोचे भन्दा स्वास्थ्य क्षेत्रमा नेपाल निकै अगाडि बढिसकेको रहेछ भन्ने उहाँलाई लागेको छ ।
यहाँका डाक्टर, नर्सहरुले दिएको हौसला, व्यवहारले उहाँलाई निकै खुसी तुल्याएको छ। उहाँका लागि त्यति खर्च ठूलो हो लागेको छैन। विदेश गएर उपचार गराउनु परेको भए त्यसको दोब्बर पनि लाग्थ्यो। आफ्नो जस्तै रोग लागेका र निम्न आय भएकाले पनि यसरी उपचार पाएर बाच्नु पाउन् भन्ने लागेको छ रामचन्द्रलाई ।
‘यति धेरै खर्च भयो भनेर चिन्ता लागेको छैन। बाँचे अब ऋण तिर्छु भन्ने आत्मविश्वास छ’ रामचन्द्र भन्नुहुन्छ, ‘यो देशमा १ लाख रुपैयाँ निकाल्न नसकेर जीवन गुमाउनेहरु थुप्रै छन्। तिनले पनि यस्तो उपचार पाउन सक्ने गरी व्यवस्था होस्।’
जीवित व्यक्तिको कलेजो दिएर प्रत्यारोपण गर्ने काम सबैभन्दा जटिल उपचार पद्धति भएको धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ। डा.श्रेष्ठका अनुसार जीवित व्यक्तिको आधा कलेजो काटेर अर्को व्यक्तिको शरीर जोड्नु निकै जोखिमपूर्ण शल्यक्रिया हो।
प्रत्यारोपण केन्द्र स्थापना भएयता ८ जनाको कलेजो प्रत्यारोपण भएको छ। केन्द्रले अहिलेसम्म जीवित व्यक्तिबाट लिएर गरिने कलेजो प्रत्यारोपणमा भारतीय डाक्टरको सहयोग लिने गरेको छ। यसका लागि दिल्लीस्थित म्याक्स अस्पतालसँग सहकार्य गर्दै आएको छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट गरिने कलेजो प्रत्यारोणमा भने कसैको सहयोग आवश्यक नभएको डा.पुकार सुनाउनुहुन्छ। अब केही प्रत्यारोपण गरेपछि जीवित व्यक्तिबाट लिइने कलेजो प्रत्यारोपणमा पनि बाहिर सहयोग आवश्यक नहुने उहाँले जानकारी दिनुभयो।
तपाईँको अभिमत