कान्ति बाल अस्पताल : ठाउँ साँघुरो, वार्ड पानी चुहिने, जनशक्ति कम
देशकै सबैभन्दा ठूलो बाल अस्पताल कान्ति बाल अस्पतालमा देशभरबाट बालबालिकालाई उपचार गर्न ल्याइन्छ। यस अस्पतालमा २४ सै घण्टा भीडभाड देखिन्छ। अस्पताल निकै साँघुरो छ । भवनमा पानी चुहिने समस्याका कारण आइसीयू बेड पूर्णरुपमा सञ्चालन गर्न सकिएकाे छैन ।
कान्ति बाल अस्पतालमा आइसीयू वार्डको क्षमता ५२ बेडको रहेपनि ३६ बेडमा मात्रै सञ्चालनमा छ । बाँकी १६ वटा बेड पनि छिट्टो सञ्चालन गर्ने प्रक्रियामा रहेको अस्पतालले जनाएको छ। अस्पतालमा एनआइसीयू र पीआइसीयू (एक महिनादेखि १४ वर्षसम्म उमेरका बालबालिकाका लागि) मा धेरै चाप छ ।
आईसियू वेड खाली नहुँदा दैनिक २-३ वटा केस रिफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका निर्देशक डा.युवनिधी बसौलाले जानकारी दिनुभयो । यसैगरी २० सिट रहेको ३ वर्षे क्रिटिकल नर्सिङ बीएन कोर्षको पढाइ सञ्चालन भइरहेकाे छ । तर पर्याप्त कक्षा काेठा छैन ।नर्सिङ पढ्ने विद्यार्थीका लागि कोठा, पुस्तकालय र ल्याबका लागि छुट्टै कोठा निर्माण प्रकियामा रहेकाे उहाँले बताउनुभयाे । यस्तै इ.एन.टी. र अर्थोपेडिक सेवा भने जनशक्ति अभावले सञ्चालन गर्न सकिएको छैन ।
ओपीडीमा बढ्यो बिरामीको चाप
कोरोना संक्रमणको केस बढिरहेका बेला २५ बेडको छुट्टै आइसोलेसन वार्ड सञ्चालन गरेको यस अस्पतालले हाल संक्रमण घटेपछि उक्त वार्डलाई हटाएको छ । पोजेटिभ केसका लागि ४ वटा बेड छुट्याइएको छ । कोभिडको समयमा बहिरंग सेवामा दैनिक करिब २०० जना आउने गरेकोमा हाल ८०० को हाराहारीमा अस्पताल पुग्ने गरेका छन् । जसमध्ये करिब २ सय जति केस इमरेजेन्सीको रहने गर्दछ । अस्पतालकाे डीपीआर, मास्टर प्लानको काम सुरु भएको बसाैलाले जानकारी दिनुभयाे । परामर्शदाता खरिदका लागि विज्ञापन निकाल्ने तयारी भएको उहाँले बताउनुभयाे ।
इमरजेन्सीमा बेड संख्या बढाइँदै
इमरेजेन्सीमा बिरामीको चाप बढेपछि बेड संख्या बढाएर १४ बाट २५ पुर्याइने भएको छ । निर्देशक डा. बसौलाका अनुसार करिब २ करोड खर्चेर बेड तथा उपकरणहरु थप्न लागेको र उक्त कार्यले केही दिनमै पूर्णता पाउनेछ।
नयाँ सेवाहरु थपिँदै अस्पततालमा बार कोडबाट ल्याबको रिपोर्टहरु उपलब्ध गराउने तयारी भएको छ । यस्तै कान्ति बाल अस्पतालमा बालबालिकाका लागि ब्रोन्स्कोपी सेवा सुरु भएको डा. बसौलाले बताउनुभयो । उक्त सेवा हाल नेपालमा बालबालिकाको लागि सरकारी अस्पतालमा उपलब्ध छैन ।
ब्रोन्सकोपी भनेको बालबालिकामा दमको समस्या भए, छातीको घ्यार-घ्यार भए, घाँटीमा केही वस्तु अड्केमा, घुर्ने, नाक तथा घाँटीको मासु पलाएको हेर्नलाई नाकबाट पाइप हालेर श्वासनलीको अवस्था हेर्ने प्रविधि हो । ब्रोन्सकोपी माध्यमबाट जाँच गराउनुपर्ने बालिबालिकाको संख्या बढिरहेको छ।
अस्पतालमा हाल २६४ जना सरकारी दरबन्दी छ । अवकाश पाउने कर्मचारी बढिरहेको छ तर उक्त स्थानमा नियुक्त गर्न सकिने अवस्था छैन । अहिले अस्पताल विकास समिति बोर्ड निक्रिय हुँदा जनशक्ति थप, पूर्वाधार विकास लगायतका कार्यमा समस्या परेको छ ।
हाल कान्ति बाल अस्पतालमा नेपाल सरकार, अस्पताल विकास समिति र सुरक्षा / ठेकेदारका गरी ६०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
अपरेशनका लागि १० महिना कुर्नपर्ने
बिरामीको संख्या बढ्दै जाँदा अपरेशन (इमरजेन्सीबाहेक ) गर्न बालबालिकाले महिनौँ कुर्नपर्ने बाध्यता छ । उपत्यका बाहिर सरकारी अस्पतालमा बालबालिकाको शल्यक्रियाको सुविधा नरहनु तथा निजीमा महँगो शुल्क पर्ने हुँदा अप्रेसन गर्नुपर्ने धेरैजसो बालबालिकालाई कान्तिमै पुर्याइन्छ । अपरेशनका लागि १० महिनासम्म कुुर्नुपर्ने अवस्था छ ।
१ हजार बेडसहित बाल अध्ययन संस्थान बनाइँदै
९५ रोपनीमा अवस्थित कान्ति बाल अस्पताललाई बालस्वास्थ्य अध्ययन संस्थानमा विकास गर्न अवधारणापत्र तयार भएको छ । एक हजार बेडको संस्थान बनाइनेछ जसमा १०० बेडको इमरजेन्सी कक्ष हुनेछ । संस्थानलाई बालरोगको विभिन्न विद्यामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।
अस्पताललाई बालअध्ययन स्वास्थ्य संस्थानको विकास गरी नेपालको सातै प्रदेशको बालबालिकाको प्रेषण अस्पतालको रुपमा विकास गर्ने योजना बनाइएको छ।
बालस्वास्थ्यको सबै विशिष्टिकृत सेवाहरुको स्थापनासहित एकीकृत रुपमा सेवा उपलव्ध गराउने केन्द्रको रुपमा विकसित गरिनेछ।
देशका सवै बाल अस्पताल/बिभाग/ईकाईहरुको लागि आधारभुत मापदण्ड तथा उपचार निर्देशिकाहरु तयार पारी लागू गराउने समन्वयकारी संस्थाको रुपमा विकास गर्ने, नेपाल सरकारको बाल उपचारको राष्ट्रिय निति तर्जुमा गर्ने मुख्य सहयोगी केन्द्रको रुपमा बिकास गर्ने, बाल स्वास्थ्य सम्बन्धी उच्च शिक्षा अध्ययन अध्यापन तथा बाल स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने तथा बाल स्वास्थ्य तथ्यांक बैंक स्थापना गरी सम्बन्धित सूचना तथा सूचीकरण बर्गीकरण प्रवाहीकरण गर्न केन्द्रबिन्दुको रुपमा काम गर्न संस्थाको विकास गर्ने कार्यक्रम अवधारणापत्रमा समेटिएको छ ।
बि.स. २०१९ साल पौष २२ गते ९९ जनाको दरबन्दीसहित ५० शैयाको जनरल अस्पतालको रुपमा यो अस्पताल स्थापना भएको थियो । स्थापनाको ६० वर्षमा हाल ३०३ शैयामा अस्पताल चलिरहेको छ । यद्यपी अस्पतालको वेड क्षमता भने ३६२ रहेको छ । अस्पतालमा मेडिसिन बालचिकित्सा, बाल सल्यचिकित्सा, नवजात शिसु सेवा, पिआसीयूसेवा , एसआसीयूसेवा ,नियोनेटल र पेडीयाट्रीक इन्टरमेडीयट, डर्माटोलोजी, दन्त चिकित्सा सेवा, बाल मनोचिकित्सा, पोषण सेवा, थालासेमिया र हेमोफिलियाको सेवा, एनेस्थेसिया, रेडियोलोजी, अन्कोलोजी, फिजियोथेरापी, प्याथोलोजी, नर्सिङ सेवाका साथै सब स्पेसियालिटी सेवाहरु समेत सञ्चालनमा छन ।
हेल्थपाटी 
तपाईँको अभिमत