भक्तपुरमा अर्काे ठाउँमा पनि भेटियो बर्डफ्लू

फाइल फोटो ।
भक्तपुर जिल्लामा फेरि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना बर्डफ्लू रहेको पुष्टि भएको शर्माले बताउनुभयो । उक्त फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ।
साथै बैठकले बर्डफ्लू भेटिएको कुखुरा फार्मलाई केन्द्रविन्दु मानी आसपासका क्षेत्रमा पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री अण्डा, दाना, सुलीसमेत अन्यत्र निकासी हुन नपाउने गरी नियन्त्रणमा लिने निर्णय गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धित स्थानीय तहको समन्वयमा उचित व्यवस्थापन गर्ने निर्णय समेत भएको प्रजिअ शर्माले बताउनुभयो ।
गतसाता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो ।
तपाईँको अभिमत