अप्रेसनको विषयमा विवाद, रिस फेर्न डा.पुकारविरुद्ध उजुरी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत एक डाक्टरले कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको भन्दै विभिन्न निकायमा उजुरी गर्नुभएको छ।
कार्यकारी निर्देशक डा.श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै केन्द्रमा कार्यरत सर्जन डा.अनिषा तिवारीले विभिन्न ४ निकायमा उजुरी गर्नुभएको छ।
डा.अनिषाले नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, महानगरीय प्रहरी वृत्त भक्तपुर र राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्डमा उजुरी दिएको जानकारी प्राप्त भएको छ।
निज डाक्टरले आफ्नो कमजोरी ढाकछोप गर्न र कार्यकारी निर्देशक डा.श्रेष्ठमाथि रिस फेर्न झुटो आरोप लगाएको अस्पतालको अप्रेसन थियटर युनिटले स्पष्ट पारेको छ।
यो पनि पढ्नुहोस् : 'उपचारमा डाक्टरले गरेको लापरवाही ‘महिला कार्ड’ प्रयोग गर्दैमा क्षम्य हुँदैन'
निज डाक्टरले गरेको कामका विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको थाहा पाएपछि निर्देशक डा.पुकारविरुद्ध उजुरी दिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर, नर्सले हेल्थपाटीलाई बताएका छन्।
उहाँहरुका अनुसार डा.तिवारी अस्पतालमा गयल भइरहने, हाजिर भएको बेला पनि ओपिडीमा नगई गफ चुटेर बस्ने गरेकाले डा. पुकारले काममा केन्द्रीत हुन पटक–पटक सचेत गराउनुहुन्थ्यो ।
अस्पतालको अप्रेसन युनिटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव अंग प्रत्यारोपण विकास समिति, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, एसडिएनटीसी कर्मचारी युनियनलाई स्पष्टीकरण पत्र बुझाएको छ।
उक्त पत्र अनुसार निज डाक्टरले आफ्नो कमजोरी ढाकछोप गर्न र कार्यकारी निर्देशक डा.श्रेष्ठमाथि रिस फेर्न झुटो आरोप लगाएको दावी गरिएको छ।
साउन २४ को घटनाले विवाद
प्राप्त जानकारी अनुसार गत साउन २४ गते एक बिरामीको शल्यक्रियाको विषयलाई लिएर डा.अनिषा र अप्रेसन थिएटरका अन्य कर्मचारीबीच विवाद भएको थियो। यस विषयमा डा.पुकारसँग पनि डा.अनिषाको लफडा भएको थियो।
अस्पतालकै कर्मचारी गणेशमान कोजुका आफन्त कमल केशरी कोजुको अप्रेसनमा डा. अनिषाले लापरवाही गरेको भन्ने विषयमा विवाद भएको हो।
कमल केशरी कोजुले सुरुदेखि नै डा.अनिषालाई ओपिडिमा देखाउँदै आउनु भएको थियो। सोही आधारमा अप्रेसनको जिम्मा डा.अनिषलाई नै दिइएको थियो।
साउन २४ गते अप्रेसन गर्ने समय बिहान ९ बजे तोकिएको थियो। बिरामीलाई बेहोस बनाउने काम सुरु भइसक्दा पनि डा.अनिषालाई फोन गर्दा आफू बाटोमै भएकाले अर्का सर्जनलाई काम लगाउँदै गर्नु भनेको बिरामीका आफन्त तथा सोही अस्पतालका कर्मचारी गणेशमान कोजुको भनाइ छ।
डा. अनिषा मध्यान्ह १२ बजेसम्म नआएकोले अर्का सर्जन डा.प्रदेज सापकोटालाई गर्दै गर्नु भनेको तथ्य स्पष्टीकरणमा देखिन्छ।
डा.अनिषा १२ बजेतिर अपरेशन थियटरमा आएपछि डा.प्रदेजले उक्त केश अनिषालाई नै जिम्मा दिनुभएको थियो।
शल्यक्रियाका क्रममा बिरामीको रक्तश्राव भई जटिल समस्या आयो। त्यसपछि अप्रेसन टोलीमा रहेका स्वास्थ्यकर्मीहरुले प्रा.डा.राकेश कुमार बर्मा र डा.पुकारलाई बोलाएर समस्या समाधान गर्न खोज्दा उनीहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
डा.अनिषाले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै अप्रेसन युटिनका स्वास्थ्यकर्मीहरुले कार्यकारी निर्देशक डा.पुरकारलाई साउन २६ गते नै पत्र लेखी यस्ता गतिविधि बन्द गराउन आग्रह गरेका थिए।
त्यसपछि सिनियर सर्जन प्रा डा. राकेशमुमार बर्मा आउँदा डा. अनिषाले यो तपाईको विषय होइन भन्ने आशय व्यक्त गरी काममा असहयोग गरेको र केही समयपछि अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ आउँदा उहाँलाई पनि अभद्र व्यवहार गरी बिरामीको उपचारमा सहयोग नगरी गैरजिम्मेवार बनेको आरोप अप्रेसन युनिटका स्वास्थ्यकर्मीले लगाएका छन्।
अप्रेसन थियटर बाहिर गई केन्द्रकै अर्का डाक्टर सञ्जीतकुमार साहलाई फोन गर्दै बसेको, अपरेशन नसकिदै अस्पतालबाट बाहिर जानुभएको अप्रेसन थियटर युनिटको स्पष्टीकरण पत्रमा भनिएको छ।
निर्देशक डा.श्रेष्ठ, डा.तिवारीको सुपरभाइजर रहेकाले केसबारे बुझ्न खोज्दा केश समेत दिन नखोजेको आरोप लगाइएको छ।
बिरामीको अवस्था जटिल भई अत्यन्त गम्भीर अवस्था भएपछि डा. श्रेष्ठले आफैले जिम्मा लिएर अप्रेसन गर्न खोज्नुभयो। डा.अनिषाले डा.साहलाई बोलाएर बिरामीको गोपनियता भंग हुने गरी फोटो / भिडियो खिच्न लगाई अप्रेसनमा बाधा पुर्याएको जानकारी स्पष्टीकरण पत्रमा दिइएको छ।
यही विषयमा डा. पुकारले डा.अनिसालाई केस छोड, तिमी बाहिर जाउ भनेको निहुँमा रिसाएको, अप्रेसन थियटर युनिटका स्वास्थ्यकर्मीहरुको भनाइ छ। यसै रीस फेर्नलाई डा.अनिषाले उजुरी दिनुभएको उनीहरुकाे दाबी छ ।
डा. अनिषाले अपरेशय थियटर भित्रै अन्य डाक्टर तथा नर्सलाई समेत दुर्व्यवहार गरेकाले काम गर्ने सहज वातावरण मिलाइदिन अनुरोध गर्दे पत्र बुझाएका छन्।
अप्रेसनकै क्रममा बिरामीको अवस्था जटिल भएपछि डा.अनिषाले एक नर्सलाई 'गेट आउट' भन्दै गर्नुभएको थियो। ती नर्सले पनि आफूमाथि डा.अनिषाबाट दुर्व्यवहार भएको भन्दै कार्यकारी निर्देशक डा.पुरकार समक्ष निवेदन दिनुभएको छ। यस प्रकारकाे दुर्व्यवहार राेक्न भन्दै ती नर्सले साउन ३१ गते पत्र लेख्नुभएको देखिन्छ।
यो घटनापछि डाक्टर अनिषाले बिरामीलाई राउण्डमा हेर्न समेत नआउनुभएको बिरामीका आफन्तको भनाइ छ।
घटनाबारे प्रहरी कार्यालय र मेडिकल काउन्सिलले सोधपुछ गरिसकेको छ। सोधपुछका क्रममा डा.अनिषाकै गल्ती रहेको निष्कर्ष निक्लिएको एक चिकित्सकले जानकारी दिनुभएको छ।
तोकिएको समयमा शल्यक्रिया कक्षमा नआउने, सुपरीवेक्षकले दिएको निर्देशन पालना नगर्ने, कार्यालय समयमा हाजिर भई निस्कने, पछि कार्यलय समय सकिने बेला डिजिटल हाजिर गर्न आउने जस्ता हर्कत गर्ने गरेको आरोप कार्यकारी निर्देशक डा.श्रेष्ठको छ।
कर्मचारीबीच गुटबन्दी गरी भड्काउने र केन्द्रको कार्यमा समेत असहयोग गर्ने, आफू भन्दा सिनियर तथा जुनियर कर्मचारीप्रति उचित व्यवहार नगर्ने, व्यक्तिगत अहंकार लिने जस्ता कार्यका कारण सो सम्बन्धमा स्पष्टीकरण सोध्ने निश्चित भएपछि उजुरी दिन गएको भनाइ डा.पुकारको छ।
डा.स्थायी भएकै कारण आफूलाई कसैले केही गर्न नसक्ने अहम लिएर डा. पुकारमाथि हुँदै नभएको आरोप लगाइएको अस्पतालका अधिकांश डाक्टर नर्सहरूको जिकिर छ।
तपाईँको अभिमत