डा.पुकारचन्द्र श्रेष्ठको माग : ममाथि छानबिन होस्
'उपचारमा डाक्टरले गरेको लापरवाही ‘महिला कार्ड’ प्रयोग गर्दैमा क्षम्य हुँदैन'

पत्रकार सम्मेलनका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठसहित चिकित्सक स्वास्थ्यकर्मी।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी सर्जन डा.अनिषा तिवारीको कदमप्रति केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले आपत्ति जनाउनु भएको छ।
आफैँले चिकित्सकीय मर्यादाविपरीत काम गर्ने अनि उल्टै पीडित भएँ भन्दै उजुरी दिँदै हिड्नु आश्चर्यजनक भएकाे डा.पुकारको भनाइ छ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषाले आफूलाई दुर्व्यवहार भएको भन्दै डा.पुकारविरुद्ध विभिन्न निकायमा उजुरी दिनुभएको छ।
यसै विषयमा स्पष्ट पार्न राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकार र अप्रेसन थियटर(ओटी)का अन्य चिकित्सक, स्वास्थ्यकर्मीले डा.अनिषालाई नै दोषी ठहर्याएका छन्।
केन्द्रकै ओटीमा कार्यरत कर्मचारी गणेशराम कोजुकी बहिनीको शल्यक्रियामा डा.अनिषाले गम्भीर लापरवाही गरेको अप्रेसनमा संलग्न चिकित्सक स्वास्थ्यकर्मीको भनाइ छ।
अप्रेसन गत साउन २४ गते भएको थियो।
उक्त लापरवाहीबापत आफूमाथि हुने कारबाहीको डरले डा.अनिषाले उल्टै डा.पुकारमाथि झुटा आरोप लगाएको उनीहरुको दाबी छ।
कार्यकारी निर्देशक डा.पुकार, पीडित परिवार तथा उक्त शल्यक्रियामा संलग्न डाक्टर, नर्सहरुको कथनअनुसार डा.अनिषाले उपचारमा ठूलो लापरवाही गरेको देखिन्छ।
डा.अनिषामाथि लागेका आरोप
१.आफैँले अप्रेसन गर्नुपर्ने बिरामीलाई ९ बजे समय दिएर १२ बजे मात्रै अस्पताल आएको र आफ्नो सट्टा अर्कै चिकित्सकलाई अप्रेसन गर्न लगाएको।
२.अप्रेसनमा बढी रक्तश्राव भई जटिल समस्या आउँदा पनि सिनियर सर्जनलाई नबोलाएको
३ बिरामीका आफन्तले आत्तिएर.विभागीय प्रमुख डा.पुकारसहितलाई बोलाएर ल्याउँदा उल्टै रिसाएको र उपचारमा अवरोध गरेको।
४.जटिल अप्रेसन गर्दा विभागीय प्रमुख तथा सिनियर डाक्टरलाई पूर्वजानकारी दिई आवश्यक परेमा तयारी रहनु भनी जानकारी दिनुपर्नेमा सो नगरेको।
५.गम्भीर अवस्थामा बिरामीको अप्रेसन भइरहेका बेला स्टन्टबाजी गर्न अप्रेसन थियरटरमै अर्का डाक्टर बोलाएर भिडियो खिच्न लगाएको।
६.आफ्नो अप्रेसन टिमका स्वास्थ्यकर्मीमाथि उल्टै दुर्व्यवहार गरेको।
उपचारमा गम्भीर लापरवाही गरी बिरामीलाई गम्भीर अवस्थामा पुर्याएको आरोप बिरामीका दाजु गणेशराम कोजुको छ।
गणेशमानको दाबी अनुसार डा.अनिषाकै कारण बिरामीको झण्डै मृत्यु भएको थियो। अहिले बिरामीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। फेरि शल्यक्रिया गर्नुपर्ने भएको छ।
उपचारमा लापरवाहीले बिरामीको स्वास्थ्य खराब भएको, आफूहरुमाथि ठूलो आर्थिक भार समेत परेकोले त्यसको जिम्मेवारी कसले लिने ? भनी बिरामीका दाजु गणेशरामले प्रश्न गर्नुभएको छ।

यत्रो गल्ती गर्दा पनि तत्काल कारबाही नगरेर उदारता देखाउँदा उल्टै खेल्ने मौका पाएको डा.पुकार बताउनुहुन्छ।
विभिन्न निकायमा जाँदा आफ्नै गल्ती देखिएपछि भ्रम छरेर मिडियाबाजी गराएको आरोप छ।
सो दिन डा.पुकारले डा.अनिषालाई अप्रेसेन कक्षबाट बाहिर जान भन्दै चर्काे स्वरमा आग्रह गरेको कुरा भने सत्य रहेको अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीहरुले बताउनुभयो।
बिरामीको अवस्था जटिल भइसकेको बेला तत्काल आएर केस सम्हाल्न खोज्दा डा.अनिषाले केस हस्तान्तरण गर्न नखोजेको उल्टै यसो गर, त्यसो गर भन्दै किचकिच गरिरहेपछि ‘गो आउट’ भनेर बाहिर पठाएको टोलीकी एक नर्सले बताउनुभयो।
‘एकदमै तनावपूर्ण अवस्था थियो। यस्तो बेला एक सिनियर डाक्टरले आफू मातहतको डाक्टरले 'गो आउट' भन्नु सामान्य हो’ ती नर्सले भन्नुभयो, ‘यसलाई ठूलो इस्यु बनाउनु पर्ने कुरै थिएन।’
जटिल अवस्थामा आएर सिनियर डाक्टरहरुले आफ्नो बिरामीको ज्यान बचाउँदा इगो लिएर उल्टो आरोप लगाउनु कतिसम्म जायज कुरा हो ? घटनाका साक्षी स्वास्थ्यकर्मीहरुको प्रश्न छ।
डा.अनिषालाई प्रत्यारोपण केन्द्रको व्यवस्थापनले ५ दिनअघि स्पष्टीकरण सोधेको थियो। बिरामी भएको लगायतका कारण देखाउँदै विदामा बस्नुभएकी उहाँले शुक्रबार बिहान आएर पत्र बुझ्नुभएको प्रत्यारोपण केन्द्रको प्रशासनले जानकारी दिएको छ।
आफू महिला भएको सहानुभूति बटुलेर उपचारमा भएको लापरवाहीलाई छुट दिन नमिल्ने डा. पुकार बताउनुहुन्छ।
'बिरामीको ज्यानै जोखिममा पार्ने घटनामा ‘महिला कार्ड’ प्रयोग गर्दैमा क्षम्य हुँदैन'डा.पुकार भन्नुहुन्छ'
घटनाको विषयमा आफूहरु समेत छानबिनको दायरामा आउन तयार रहेको डा.श्रेष्ठ र अप्रेसन थिएटरका अन्य चिकित्सक, स्वास्थ्यकर्मीहरुले बताउनुभयो।
'बिरामीको ज्यानै जोखिममा पार्ने कुरा सामान्य विषय होइन, यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, ‘डा.पुकारले भन्नुभयो, ‘ममाथि समेत छानबिन होस्।’
तपाईँको अभिमत