मानौ स्यानिटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो !
स्यानिटरी प्याडको मूल्य पत्ता लगाउँदा डेढ सयदेखि २ सय रुपैयाँसम्म पर्दोरहेछ । यसरी सामान्य दृष्टिमा हेर्ने हो भने पनि नेपालका गाउँघरमा किशोरीहरूले वर्षको २ हजार २५ सय रुपैयाँको स्यानिटरी प्याड किन्नै सक्दैनन् ।
केहीपहिले गाउँका विभिन्न स्कुलमा गएर किशोरीहरूलाई सोधेकी थिएँ, ‘महिनावारी हुँदा तिमीहरू कसरी व्यवस्थापन गर्छौ ?
थोरै किशोरीले मात्र बाहिरको स्यानिटरी प्याड प्रयोग गर्ने बताएका थिए । ९५ प्रतिशत किशोरीले चाहिँ घरको सफा सुतीधोती र सिरकका खोलका भरमा महिनावारी व्यवस्थापन गर्ने बताए । मैले ४६ वर्षअघि प्रयोग गरेको घरेलु प्याड नै अहिले पनि किशोरीले गाउँघरमा प्रयोग गर्दा रहेछन् ।
अहिलेको किशोरीले कट्टु लगाउने हुनाले उनीहरूले घरेलु प्याड लगाउन सजिलो रहेछ तर, जब यही प्रश्न मैले अछाम, डोटी, कैलालीका विवाहित महिलालाई गरेँ, उनीहरूले असाध्यै लाज माने । धेरैजसोले भने, ‘हामीहरू त २ वटा पेटीकोट लगाउँछौँ । हामीहरू त प्याड किन्नै सक्दैनौँ । अनि २–३ दिनमा त्यही लुगा लगाउँछौं र चौथो दिनमा मात्र धुन्छौँ ।’
मलाई सोच्न विवश गरायो । यी महिलाहरूको हातमा मोबाइल छ, विदेश र भारतमा बसेका आफन्तहरूसँग फोनमा कुरा गर्छन् तर आफ्नो स्वास्थ्यको विचार कसरी गर्ने भन्ने आधारभूत जानकारी भने कहीँकतै छैन । ‘हामीहरूले कट्टु लगाउँदैनौँ कट्टु किन्ने पैसा छैन, अनि हामी त यसरी नै बस्छौँ । यस्तो बेलामा जिउ गनाउने हुनाले सकेसम्म हामी मानिसहरूबाट टाढा नै बस्छौँ’ उनीहरूले भनेका थिए ।
यसरी फोहोरी बस्दा त स्वास्थ्यमा अनेक समस्या आइपर्छ नि ? भनेर सरोकार राख्दा महिलाहरूले,‘‘जे होला, देखा जाएगा’ भनेर जवाफ फर्काएका थिए । धेरै महिलालाई सायद थाहा हुँदैन कि ढुसी परेको टालो लगाउनाले प्रजनन अंगमा संक्रमण हुनु आदिले भविष्यमा अनेक समस्या निम्तिन सक्छ ।
र महिलाहरूले विज्ञापनमा देखाएजस्तो महँगो प्याड किन्नुपर्ने जरुरतै छैन । तर भित्री वस्त्र प्रयोग गरेर सफा टालो प्रयोग गरेर पनि महिनावारी व्यवस्थापन गर्नचाहिँ जरुरी छ । महिला स्वास्थ्यमा सरोकार राख्नेले सस्तो तरिकाले ‘प्याड’ उत्पादन गरेर उपलब्ध गराउन पनि सक्छन् । एक प्याडको ५ रुपैयाँमा पाउन सकियो भने यो सबैको पहुँचमा हुन्छ ।
अहिले त गाउँगाउँमा पनि मानौ सनेटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कुलस्कुलमा ‘सनेटरी प्याड खसाउने बाकस’ भनेर ठूला अक्षरमा समाचार आउँछ ।
प्याडको अर्थ शास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर १०० रुपैयाँ पर्यो भने एक महिनामा प्रजनन उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे महिनामा ५ लाख × १०० झण्डै ५० करोड अर्थात् वर्ष भरिमा झण्डै ६ अर्बको प्याड प्रयोग हुन्छ ।
कसैले त दुईवटा प्रयोग गर्नुपर्ने हुन्छ । सुत्केरी भएकी महिलाले लगाउने प्याडको त मैले हिसाब गरेकी छैन ।
‘कुन प्याड प्रयोग गर्ने भन्दा पनि सफा, सुकिलो र सोस्ने खालको प्याडको प्रयोग गर्नुपर्छ । संक्रमण नफैलिने हुनुपर्छ । त्यसको लागि सेनिटरी प्याड नै हुनुपर्छ भन्ने छैन । घरेलु कपडाको पनि बनाउन सकिन्छ ।
प्रयोग गर्दा ध्यान दिनुपर्छ । भिज्न वित्तिकै परिवर्तन गर्ने, पारिलो घाममा सुकाउने हो भने घरेलु प्याडको प्रयोग पनि गर्न सकिन्छ । सफा धुने, अर्को कपडाले छोपेर सुकाउने गर्न भएन । कर्मसियल प्याड प्रयोग गर्न सजिलो, तर खर्चिलो हुन्छ । फाल्न पनि सबै स्थानमा सहज छैन । त्यसैले यही प्रयोग गर्नुपर्छ भन्न सकिँदैन ।
जुन आफ्नो पहुँचमा छ त्यही प्रयोग गर्ने । जुन प्याड प्रयोग गरेपनि सफा, सुकिलो र सोस्ने खालको हुनुपर्छ । डा. वालकृष्ण शाह
नेपालमा सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहहरूलाई दिए वर्षमा कति पैसा बच्थ्यो होला?
घरेलु प्याड बनाउन, प्रयोग गर्न पनि एकदम सजिलो छ, घरायसी प्याडले महिनावारी व्यवस्थापन हुन्छ भनेर कल्ले बोल्ला ?
यसले गर्दा प्राजनन स्वास्थ्य राम्रो बहेर कति पैसा बच्न जान्छ ? मानसिक तनब कम हुन्छ , यो कस्ले विचार गर्ने होला ?
(अरुणा उप्रेतीको फेसबुकबाट)
डा. अरुणा उप्रेती
तपाईँको अभिमत