'दशैंको बेला पहिलो महिनावारी भयो, नयाँ लुगा र दक्षिणा नपाउने पीरले कसैलाई भनिन'
अरुणाको ठूलो परिवार काठमाडौंको कालिकास्थानमा बस्थ्यो । उहाँका हजुरबा र बुबा वकिल हुनुहुन्थ्यो । बुबा कलेज पनि पढाउनुहुन्थ्यो । उहाँहरुको २५–३० जना जतिको संयुक्त परिवार थियो ।
त्यो समय दशैंको रमाइलो र खुसी विशेषगरी दुई/तीन वटा कुरामा अल्झेको हुन्थ्यो । एउटा भेटभरि मासुभात खान पाउने ।
अरुबेला पनि घरमा मासु त पाक्थ्यो तर धित मरुञ्जेल खान पाइन्नथ्यो । एकहप्ता, १५ दिनमा एकपटक घरमा मासु पाक्थ्यो । कि घरमा कोही विशेषा पाहुना आउँदा । ठूलो परिवार, खान मन लागे जति मासु कहाँ पाउनु ? भागमा मासुका टुक्रा दुई/चार वटा अनि धेरै झोल हुन्थ्यो। दशैँमा मात्रै मन लागेजति मासु खान पाइन्थ्यो ।
आफ्नै घरमा टन्न मासुभात, मासुचिउरा खान पाउने अनि आफन्तहरुले पनि घरमा बोलाएर मासुचिउरा खुवाउँथे । उतिबेला केटाकेटीका लागि दशैँको निकै ठूलो खुसी थियो त्यो।
अर्काे भनेको नयाँ लुगा लगाउने । त्यो बेला नयाँ लुगा लगाउनका लागि दशैँ नै पर्खनुपर्थ्यो । दशैँमा लुगा छान्न बजार जाने, सूचीकारकहाँ लुगा छेक्न जाने, सिलाएर घरमा ल्याएपछि नयाँ लुगा लगाएर दिदी बहिनीहरुसँग दाज्ने, जस्ता कुरामा पाइने खुसी वर्णन गरिनसक्नुको हुन्थ्यो।
तेस्रो थियो दक्षिणाको लोभ, त्यो समय दक्षिणामा २५ पैसा, ५० पैसा दिने चलन थियो । कसैले १ रुपैँया दियो भने त्यो धेरै मानिन्थ्यो । त्यसरी दशैंका दक्षिणा जम्मा गरेर के–के काम गर्ने, के–के किन्ने भन्ने योजना बन्थ्यो । यी रौनक हरेक वर्षका दशैँमा आउँथे ।
अरुणाका बाल्यकालमा यस्ता थुप्रै दशैँहरु आए गए तर एक सालको दशैं उहाँका लागि अविस्मरणीय बन्यो। आज भन्दा ४८ वर्षअघि, जतिबेला अरुणा १२ वर्षकी हुनुहुन्थ्यो र कक्षा ७ मा पढ्नुहुन्थ्यो । घर, टोल, बजार सबैतिर दशैँको रमझम थियो । अरुणालाई ठ्याक्कै दिन याद छैन । तर दशैँको षष्ठी वा सप्तमीको दिन हुनुपर्छ ।
उहाँको भित्री बस्त्रमा रगत देखियो । ७ कक्षामा पढ्ने केटी, उहाँले थाहा पाइहाल्नुभयो आफ्नो रजश्वला भयो भनेर । उहाँको त्यो पहिलो पटक थियो । अरुणा अलमलमा पर्नुभयो । पहिलो पटक रजस्वला हुँदा १२ दिनसम्म छुट्टै कोठामा बुबा, दाजुभाइ कसैले नदेख्ने गरी राखिन्थ्यो ।
ओहो ! त्यति बेलासम्म त दशैँ नै सकिन्छ । चोटाकोठा नाचीनाची आफूले मन लागेको खान कहाँ पाउनु ? राम्रो लुगा लगाएर फुरफुर पर्दै हिँडन् नपाइने भो । अनि टीका लगाएर आउने दक्षिणा, त्यो पनि गुम्ने भयो । यसपालीको दक्षिणाले के–के गरौँला भन्ने योजना बनिसकेको थियो । ती सबै कुरा गुमाउनु पर्ने भो भनेर धेरै चिन्ता लाग्यो अरुणालाई । निकैबेर सोचविचार गरेपछि निर्णय गर्नुभो–महिनाबारी भएको कुरा कसैलाई नभन्ने। अनि न छुट्टै कोठामा बस्नुपर्छ न दशैँको रमाइलो नै छाड्नुपर्छ ।
साँच्चै अरुणाले यो कुरा कसैलाई भन्नुभएन । कसैले थाहा पाउला कि भनेर निकै सचेत हुनुभयो । त्यो समय अहिले जस्तो महिनावारीका बेला प्रयोग गर्ने प्याड थिएन । आमा, हजुरआमाका पुराना फरिया, सिरकका पुराना खोलले नै प्याडको काम गर्थ्यो ।
अरुणालाई अर्काे एउटा कुराले समस्या पार्यो । नवरात्रीभर आमा, दिदी बहिनी सबैजना हरेक दिन बिहान पशुपति जाने चलन थियो । महिनाबारी भएका बेला पशुपति जाने कि नजाने ? जान्न भनेर बहाना बनाउन थाल्दा आमा दिदीहरुले कारण खोज्दै जाँदा महिनाबारी भएको रहस्य थाहा पाउलान् भन्ने डर थियो ।
महिनाबारीको रहस्य खुलेर दशैँको रमाइलो, दक्षिणा सबै गुमाउनु भन्दा जेसुकै होस् पशुपति जान्छु भन्ने अठोट उहाँले गर्नुभयो । अनि नियमित दिदी, आमाहरुसँग पशुपति जानुभयो ।
रुढीवादी सोचले ग्रस्त भएको त्यो समयको समाज । अनि ब्राह्मण परिवारमा हुर्किएकी एक बालिका । मैले ठूलो पाप गरेँ, केही संकट आइलाग्ने होकी भन्ने डर लागेन ? यो प्रश्न गर्नेवित्तिकै डा.अरुणा हाँस्दै भन्नुहुन्छ ‘ लाग्यो नि किन नलाग्नु । अरु भन्दा पनि भगवान रिसाएर मलाई ७ कक्षामा फेल गराउने हुनकी भन्ने डर धेरै थियो।’
उहाँका घरमा त्यो बेला महिलाका बारेमा लेखिएका सरिता, मुक्ता जस्ता हिन्दी पत्रपत्रिकाहरु आउने गर्थे । ती पढेर अरुणाको मनमा एकखालको धारणा भने बनिसकेको थियो–रजस्वला हुनु महिलाका लागि सामान्य प्राकृतिक कुरा हो, कुनै पाप होइन भन्ने ।
मनमा रहेको ठूलो डर हट्यो । अरुणा कक्षा ७ मा फेल हुनुभएन । अनि लाग्यो-'पाप गरेको रहेनछु, पाप लाग्छ भन्ने कुरा सही होइन रहेछ।'
महिनावारी भएको कुरा अरुणाले करिब ३ वर्षजति नै लुकाउनुभयो । त्यसपछि घरमा प्रश्न उठ्न थाल्यो-यति उमेरको हुँदा पनि यसको महिनावारी भएन । कतै जिउमा समस्या त छैन ? एक पटक डाक्टरकोमा जचाउन जाने हो कि भन्ने कुरा आमा, दिदीहरूले गर्न थाल्नुभयो।
लौ अब फसाद नै पर्ने भयो । साँच्चै डाक्टरकोमा लगे भने त पोल खुल्छ । अब चाँही पहिलो पटक महिनावारी भएँ भनेर नाटक गर्ने निर्णय भयो । तर १२–१३ दिन एउटै कोठामा एक्लै बस्नुपर्ने कुराले पिरोल्यो । एसएलसीको जाँच सकिएपछि भन्छु भन्ने अरुणाको योजना थियो।
एसएलसी परीक्षा सुरु हुनु एकदुई दिन अगाडि उहाँको महिनावारी भयो । अरुणालाई लाग्यो- ल मौका यही हो । एसएलसीका बेला लुकाएर कोठामा राख्न मिलेन । अनि आफ्नो पहिलो महिनावारी भएको भनेर सुनाउनुभयो ।
उहाँले महिनावारी हुँदा कुनैबेला भन्ने कुनैबेला नभन्ने गरेर केही वर्ष गुजार्नुभयो । करिब साढे १८ वर्षमा अरुणा पढ्नका लागि विदेश जानुभयो । त्यसपछि महिनावारी बार्ने झन्झट सधैँका लागि अन्त्य भयो।
‘त्यो बेला महिनावारी भएको कसैलाई नभनेर, नबारेर क्रान्ति नै गरेको रहेछु, हुन त मिठो खानेकुरा, नयाँ लुगा, दक्षिणाको लोभले त्यसो गरेको थिएँ’ अरुणा ती दिन सम्झेर छक्क पर्नुहुन्छ, ‘त्यो बेला कसैले नदेख्ने गरी कसरी व्यवस्थापन गरेँ हुँला ?' महिनावारीका विषयमा कुनै छलफल कुराकानी हुँदैनथ्यो । सजिलै जानकारी पाइँदैनथ्यो।
पछि आफ्ना ती अनुभव सुनाउँदा थुप्रैले डा.अरुणालाई किन त्यसो गरेको भनेर गाली पनि गरे । कतिले ठिक गरिस् पनि भने ।
दशैंका लुगा दक्षिणाको लोभले पहिलो महिनावारी देखि नै नबारेर थाहै नपाई क्रान्ति सुरु गर्नुभएकी डा. अरुणा महिनावारीलाई लिएर महिलामाथि हुने विभेद, हिंसाको विरुद्धमा बोलिरहनु भएको छ ।
भिडियो
केदार गौतम
तपाईँको अभिमत