नर्भिक अस्पतालमा कोरोनाको व्यापार ! किन चुप छ सरकार ?

आफू इमान्दार छु भन्ने दाबी गर्ने चौधरीलाई जनताको प्रश्न यो छ कि नैतिकवान र इमान्दारीताको पाठ सिकाउने चौधरीको नैतिकता यही हो ?
काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ बढेको बढ्यै सबै कोभिड अस्पतालहरुका आइसोलेसन भरिभराउ छन् । करिब ४० प्रतिशत संक्रमितहरु अहिले होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सुरुमा सरकारी तथा सामुदायिक अस्पतालहरुमा मात्रै कोभिड बिरामी राखिने गरेकोमा पछिल्ला दिनमा निजी अस्पतालहरुले पनि कोभिड बिरामीको उपचार गरिरहेका छन् । सरकारले निजी अस्पतालमा उपचार गर्न बाध्य हुने कमजोर आर्थिक अवस्था भएकाको उपचार खर्च व्यहोर्ने जानकारी दिएको छ ।
सक्नेले आफैँ खर्च गरेर निजी अस्पतालमा उपचार गराउन पाउने निर्देशिका स्वास्थ्य मन्त्रालयले जारी गरेको छ। सुरुमा कोभिड र नन कोभिड बिरामीलाई एउटै अस्पतालमा राख्न नहुने भन्दै कोभिड बिरामीको उपचार गर्न निजी अस्पतालहरुले चासो देखाएका थिएनन् । पछि शुल्क लिन पाउने भएपछि गुपचुप रुपमा पनि निजी अस्पतालहरुले कोभिड बिरामीहरुको उपचार गरिरहकै छन् ।
महामारीको दुखद स्थितिलाई समेत व्यापारको अवसरमा परिणत गर्नु मानवता विरोधी हर्कत हो ।
निजी अस्पतालमा कोरोना बिरामी आइसोलेट गरेर राख्दा वा उपचार गर्दा लिन पाउने शुल्क पनि सरकाले तोकिदिएको छ । महामारी ठूलो राष्ट्रिय संकट भएकाले यस्तो बेला व्यापारभन्दा पनि सेवाको रुपमा निजी अस्पतालले संक्रमितको उपचार गर्नुपर्ने सरकारले जनाएको छ । तर देशमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको बेलामा देशकै उच्च व्यापारिक घरानाले सञ्चालन गरेको नर्भिक अस्पतालले कोरोनाका बिरामी तान्न विज्ञापन नै निकालेको छ । अस्पतालका सञ्चालक वसन्त चौधरी स्वयंले बुधबार अस्पतालले तयार पारेको विज्ञापन आफ्नो ट्वीटरमा सेयर गर्नुभएको छ ।
के छ विज्ञापनमा ?
विज्ञापनमा नर्भिकले कोरोना संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा राख्ने प्याकेज सार्वजनिक गरेको छ । १४ दिन आइसोलेसनमा बसेको शुल्क १ लाख ५० हजारदेखि २ लाखसम्म तोकिएको छ । बेड शुल्क, डाक्टर शुल्क, पीपीईको शुल्क, २ पटक पीसीआर परीक्षणको मूल्य, एक्स रे, इसिजी, अल्ट्रासाउण्ड, रक्त परीक्षण लगायत त्यसै शुल्कमा समावेश हुने विज्ञापनमा भनिएको छ । औषधि तथा अन्य स्वास्थ्य सामग्रीको अतिरिक्त शुल्क लाग्ने उल्लेख गरिएको छ । अनुभव प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थासहित ४० बेडको आइसोलेसन तयार भएको जानकारीसहित आइतबार अर्थात भदौ १४ बाट सेवा सुरु हुने उल्लेख गरिएको छ ।
पहिलो त नैतिक‚ सैद्धान्तिक तथा मेडिकल ईथिक्सले पनि अन्य सेवा तथा वस्तुको जस्तो अस्पतालले बिरामी तान्नका लागि यसरी विज्ञापन नै गर्न मिल्दैन । अर्को, कोरोना महामारीलाई व्यापारको रुप दिँदै यसरी विज्ञापन गर्न नपाइने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमितलाई राख्दा कति शुल्क लिन पाउने भनेर मन्त्रालयले निर्देशिकामा स्पष्ट पारेको छ ।
जसमा लक्षण नदेखिएका संक्रमितलाई आइसोलेसनमा राखेको १ दिनको २००० (खानासहित) सम्म लिन पाउने भनिएको छ । सामान्य लक्षण देखिएकालाई ३५ सय, आइसीयूमै राख्नु पर्ने भएमा ७ हजार र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीसँग सबै चार्जसहित १५ हजारसम्म लिन पाइन्छ । यी सबै नियमहरुलाई बेवास्ता गर्दै पैसा र शक्तिको आडमा नर्भिकका सञ्चालकले खुलेआम विज्ञापन गरेका छन् ।
महामारीका बेला कसैले पनि यस किसिमको विज्ञापन गरेर व्यापार गर्न नमिल्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड फोकल पर्सन बताउनुहुन्छ । ‘महामारीको व्यापार गर्न मिल्दैन, यस्तो बेलामा सबैले सेवाको भावनाले काम गर्नुपर्छ’ श्रेष्ठ भन्नुहुन्छ, ‘यस्तो बेलामा पनि व्यपार गर्न खोज्नु एक प्रकारको मानवता विरोधी हर्कत हो ।’ यस्तो बेलामा उच्च औद्योगिक घरानाका व्यक्तिले त राष्ट्र र जनताका लागि उच्च भूमिका निर्वाह गर्नु आवश्यक रहेको श्रेष्ठ बताउनुहुन्छ । ‘यसरी महामारीको व्यापार गर्न नैतिकताले पनि नदिनु पर्ने हो’ फोकल पर्सन श्रेष्ठको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको काेभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले बनाएको मापदण्ड विपरित कार्य गर्ने जो कोही भए पनि कारबाही गर्ने बताउनु भयो । ‘अध्ययन गरेर आवश्यक कदम अगाडि बढाउँछौँं उपचारका नाममा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिन पाइँदैन।’ डा.लोहनी भन्नुहुन्छ, ‘प्रचार गरेर कोभिड बिरामी तान्ने काम गर्न पाइँदैन ।’
यसबारे बुझ्न नर्भिक अस्पतालका प्रमुख वसन्त चौधरीलाई सम्पर्क गर्न खोज्दा चौधरीका पीएहरुले एकले अर्कालाई पन्छाउनु भयो । अन्तिममा नर्भिक अस्पतालकै एक चिकित्सकसँग सोध्ने भन्दै सम्पर्क गराइयो । ती चिकित्सकले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै आफूलाई यसबारे थाहा नहुने जवाफ दिनुभयो । ‘मैले अस्पतालमा बिरामी हेर्ने हो, मलाई बिरामीका बोरेमा सबै जानकारी हुन्छ’ ती चिकित्सकले भन्नुभयो ‘व्यवस्थापन र फाइनाइन्सका बारेमा थाहा हुँदैन ।’
नेपालकै एकमात्र डलर अर्वपति व्यापारिक घरानाका चौधरीको अस्पतालले शक्ति र पैसाको आडमा काेराेनाकाे व्यापारका लागि पसल थापेको छ ।
उहाँले यसबारे वास्तविक जानकारी पाउन चौधरीका पिएहरुसँगै सोध्न आग्रह गर्नुभयो । नर्भिक अस्पतालका सञ्चालक चौधरी निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालका अध्यक्षसमेत हुनुहुन्छ । पैसा र शक्तिको आडमा नर्भिकले गरेको हर्कत यो पहिलो भने होइन । नेपालमा कोरोनाको त्रास फैलिएपछि अस्पतालमा फिबर क्लिनिकको नाममा बढी पैसा असुल्दा वाणिज्य विभागले छापा मारेपछि त्यो कार्य रोकेको थियो ।
एक टेलिभजिन अन्तरवार्ताको क्रममा वसन्त चौधरी कोरोना महामारीमा पनि कमिशनतन्त्र घुसेको र सामान खरिदमा भ्रष्टाचार भएको भन्दै सरकार विरुद्ध खरो रुपमा उत्रनु भएको थियो । सोही अन्तरवार्तामा सामान खरिदमा भ्रष्टाचार भएको प्रमाण आफूसँग रहेको बताउँदै आफूसँग सरकारको प्रतिनिधिलाइ एउटै टेवलमा राखी आमुन्ने सामुन्ने बहस गराउन प्रस्तोतालाई चुनौती पनि दिनुभएको थियो ।
चौधरीको यस्तो अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसको पर्दाफास गर्न आग्रह पनि गर्नुभएको थियो ।
भ्रष्टाचारको प्रमाण बाहिर ल्याउनु त परको कुरा सरकार विरुद्ध खनिनुभएको केही समयपछि नै चौधरीले भ्रष्टाचार विरुद्ध आफूले दिएको चुनौतीलाई बिर्सिएर भ्रष्टाचार प्रमाणित गर राजनीतिबाट सन्यास लिन्छु भन्ने स्वास्थ्यमन्त्रीको ट्वीटलाई समर्थन गर्दै उहाँको गुनगान गाउँदै फेरि ट्वीट गर्नुभयो ।
अस्पतालमा कार्यरत नर्सहरुलाई समेत जागिरबाट निकालेको, कार्यावधि घटाउने, तलब कटौती गर्ने काम गरेको भनेर गुनासो पनि आएको थियो । कोरोना महामारीभर निजी अस्पतालको सम्पूणर् खर्च सरकारले व्यहोर्नु पर्ने माग राख्ने कार्यको नेतृत्व पनि चौधरीले नै गर्नुभएको थियो । नेपाल कोरोना संक्रमणले आक्रान्त भइरहँदा फेरि नेपालकै एकमात्र डलर अर्वपति व्यापारिक घरानाका चौधरीको अस्पतालले शक्ति र पैसाको आडमा काेराेनाकाे व्यापारका लागि पसल थापेको छ ।
पटक–पटक आफ्नो बोलि फेर्दै फेरि पनि भ्रष्टाचार विरोधी हुँ भन्ने वसन्त चौधरी आफै मेडिकल इथिक्सलाई कुल्चेर अस्पतालको विज्ञापन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री, सरकार र मन्त्रीलाई नैतिकताको पाठ सिकाउने र आफू इमान्दार छु भन्ने दाबी गर्ने चौधरीलाई जनताको प्रश्न यो छ कि नैतिकवान र इमान्दारीताको पाठ सिकाउने चौधरीको नैतिकता यही हो ?
महामारीको दुखद स्थितिलाई समेत व्यापारको अवसरमा परिणत गर्नु मानवता विरोधी हर्कत हो । यस्तो अमानवीय हर्कत रोक्नेतर्फ सरकारको ध्यान किन जाँदैन ? पैसा र शक्तिको आडमा जे पनि गर्न पाइन्छ ? किन चुप छ सरकार ?
तपाईँको अभिमत