सबैलाई बचाउन सकिदैन अनि स्वास्थ्यकर्मीले सधै कुटाइ खानपर्ने हो र ?
स्वास्थ्यकर्मीहरुमाथि कार्यस्थलमा हुने हिंसा कुनै नौलो कुरा होइन र विश्वव्यापी उठिरहेको मुद्दा हो । नेपाली स्वास्थ्यकर्मीहरु त अझ धेरै यसबाट पीडित हुनुपरिहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनका अनुसार १ देखि ३८ प्रतिशत स्वास्थ्यकर्मीहरु आफ्नो भविष्यको एक बिन्दुमा शारिरीक हिंसाको शिकार हुने गरेका छन् भने मानसिक हिंसाको कुनै लेखाजोखा छैन । मानसिक तनाव, धम्की, दुर्व्यवहार वा मौखिक आक्रमणको सामना गर्न धेरै स्वास्थ्यकर्मीहरु विवश छन् ।
बिरामीहरुबाट चिकित्सक वा स्वास्थ्यकर्मीसंगको एक दुई पटकको भेटघाटमानै पूर्ण रोग निवारण हुनपर्ने जस्तो अव्यवहारिक अपेक्षाहरुले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढेको छ । आजको समयमा मानिस बिरामी हुने बित्तिकै अस्पताल जाने प्रचलन बढेको छ र बिरामी सबैनै अस्पतालमा उपचारकै क्रममा मृत्यु हुने कुनै अस्वभाविक कुरा होइन । उपचार असफल हुने बित्तिकै स्वास्थ्यकर्मीको लापरबाही भन्ने सोचाइले बिरामीको आफन्तमा आक्रोश सृजना भई स्वास्थ्यमा हिंसा बढेको हो ।
स्वास्थ्य सेवा, प्रमाण आधारित अभ्यास हो । जुन वैज्ञानिक प्रमाणको आधारमा हुन्छ । स्वास्थ्यकर्मीहरुसंग तथास्तु गरेर उपचार गर्ने जादु हुदैन र उनीहरु सर्वज्ञानी पनि हुदैनन् । स्वास्थ्यकर्मीहरुले आफूले अध्ययन गरेको शिक्षाबाट रोगको उपचार गर्ने हुन् । रोग र रोगको लक्षणहरु किताबमा लेखेजस्तो पनि हुदैनन् ।
भनिन्छ, रोगले किताब पढ्दैन । एक रोग विभिन्न मानिसमा भिन्नै प्रकारले प्रस्तुत हुन्छ र त्यसको उपचार पनि परिस्थिति र क्लिनिकल निर्णयबाट गर्नुपर्ने हुन्छ । बिरामीको सेवामा आफ्नो सम्पूर्ण ज्ञान र सिप, शिक्षा र अध्ययन लगाउँदा लगाउँदै कहिलेकांही असफल पनि भइन्छ । स्वास्थ्यकर्मी भगवान होइनन एक साधारण मानव हुन् ।
बिरामीको उमेर परिस्थिति, अरु दिर्घकालिन रोग, अस्पताल अन्तिम अवस्थामा आउने र अन्य कुराले उपचार असफल हुन्छ तर पटक–पटक गल्ति स्वास्थ्यकर्मीकै औंल्याइन्छ र हिंसाको शिकार भइन्छ । स्वास्थ्यकर्मीको कहिल्यै बिरामीको उपचारमा नराम्रो नियत राखेका हुँदैनन् जसरी पनि मैले बिरामीलाई निको बनाउनुपर्छ,बचाउनुपर्छ भनेर नै सेवामा समर्पित भएका हुन्छन् ।
तर सजिलै लापरबाही भन्ने गरिन्छ र स्वास्थ्यकर्मीमाथी कुटपिट हुन्छ । कडा कानुन नभएकाले यो भइरहेको हो । धेरै देशमा स्वास्थ्यहिंसाको विरुद्ध जेल विथ आउट बेलको कानुन छ । स्वास्थ्यकर्मीको सुरक्षा, समग्र देशको नै स्वास्थ्य क्षेत्र विकासका लागि महत्वपूर्ण हुन्छ । जबसम्म विधिको शासन चल्दैन तबसम्म धेरै प्रकारका अपवादहरु समाजमा रहन्छन् ।
बिरामी पक्षलाई स्वास्थ्य प्रवाह गर्ने संस्था वा स्वास्थ्यकर्मीसंग चित्त नबुझे वा लापरबाही भएको महसुस भए कानुनसम्म जाने वातावरण हुन जरुरी छ । न्यायलयले गर्ने काम कुनै व्यक्ति वा भिडले गर्दा धेरै अप्रिय घटनाहरु भइरहेका छन् । स्वास्थ्य र सुखी समाजको परिकल्पना गरीरहदा कानुनले दुवै पक्षलाई निष्पक्ष न्याय दिने विषयमा ध्यान दिन अति जरुरी छ ।
नेपालमा बारम्बार स्वास्थ्यकर्मीमाथी हिंसा भइरहेको छ यसलाई रोक्नका लागि आवाज उठेको र आन्दोलन पनि हुनेगरेका छन् । तर सबैजसो आन्दोलनहरु कागजी सम्झौता र त्यहि घटनामा मात्र सिमित रहेको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा अस्पताल र स्वास्थ्यकर्मीको लापरबाहीको पनि समाचार आउँछन् । त्यसको कुनै न्यायीक छानविन नभई हराउछन् । यस समस्याको दिर्घकालिन समाधान खोज्नु सरकारको ठूलो चुनौति हो ।
स्वास्थ्य सेवा दिने र लिने दुवै पक्षको लागि उचित कानुन निर्माण र कार्यान्वयन हुनु जरुरी छ । स्वास्थ्यकर्मीमा हुने आक्रमणहरु कुनै स्पष्ट समाधान बिना अगाडि बढिरहेको छ । यसले स्वास्थ्य सेवा हेरचाह गर्ने कर्मचारीहरुको मनोबैज्ञानिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ । यसले काम प्रतिको जोश जाँगरमा निरुत्साहित गरिरहेको छ ।
आफ्नो जीवनको अमूल्य समय अध्ययनमा बिताउने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा र सम्मान दिन नसक्दा डाक्टरी अध्ययनप्रतिको चाहना हराउँदै जाने त होइन ? स्वास्थ्यका दक्ष जनशक्ति विदेश पलायन हुनेक्रम बढ्ने त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।
(लेखक सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत चिकित्सक हुनुहुन्छ । )
तपाईँको अभिमत