युएईमा थप २ नेपाली सहित ७२ लाई संक्रमण, लकडाउनको घोषणा
काठमाडौं, १५ चैत । युनाइटेड अरब इमिरेट्स (युएई)मा थप २ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको अरबी सञ्चार माध्यमहरुले जनाएका छन् ।
मन्त्रालयका अनुसार श्रीलंका, जोर्डन, प्यालेष्टाइन, इरान ,कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्बिया, ग्रीस, उरुग्ये, रोमानिया स्विेडन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।
संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार शुक्रबार ३ जनामा उपचारपछि निको भएका छन् । यो सँगै युएइमा उपचारपछि निको हुनेको संख्या ५५ पुगेको छ । यसअघि २ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । युएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैबीच युएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । युएई सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि लकडाउन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लकडाउन मार्च २९ को ६ बजेसम्म लागू हुनेछ । लकडाउनको समयमा कुनै पनि सार्वजनिक यातायातका साधन चल्ने छैनन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैकका कर्मचारी, विमानस्थल कर्मचारी तथा तोकिएका क्षेत्रका व्यक्ति बाहेकका मानिस अनावश्यक घर बाहिर निस्किए जरीवाना सहित जेल हाल्ने बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत