फागुन ३ गते चीनबाट नेपाली विद्यार्थी ल्याइने
आन्तरिक तयारी तिब्र
काठमाडाैं, २७ माघ । सरकारले चीनबाट फागुन ३ गते नेपाली विद्यार्थी ल्याउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइने १ सय ८० जना नेपाली विद्याथीहरुको व्यवस्थापनका लागि आन्तरिक गृहकार्यलाई तिब्रता दिएको छ ।
विमानस्थलदेखि उनीहरुलाई राखिने क्वारेन्टाइन स्थलसम्म जाने यातायातका साधनको व्यवस्था, यातायातको निर्मलीकरण लगायतकाे व्यवस्थामा मन्त्रालय बिहानैदेखि जुटेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार क्वारेन्टाइन स्थल वरपर सुरक्षाकर्मी परिचालन गरि विद्यार्थीहरुका लागि शौचालय, खाना, खानेपानी, इन्टरनेट जडान लगायतका अन्य चाहिने सामग्रीको व्यवस्थापनमा छुट्टाछट्टै टोली खटिएको छ । क्वारेन्टाइन स्थल वरपर कसैलाई पनि जान दिइएको छैन ।
यस्तै उद्दार गरि ल्याइएका विद्यार्थीहरुको स्वास्थ्य जाँच तथा हेरचाहका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई सोमबार (आज) प्रशिक्षण हुँदैछ । प्रशिक्षणमा डाक्टर नर्स, प्यारामेडिक्स र एम्बुलेन्स चालकहरु सहभागी हुनेछन् ।
नेपाल ल्याउनु अघि विद्यार्थीहरुको चीनमै स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणका क्रममा कोरोना भाइरसको लक्षण देखिएका विद्यार्थीलाई उतै आइशाेलेसनमा राखेर उपचार गरिनेछ । नेपाल ल्याइएका विद्यार्थीहरुको अवतरणपछि पुनः त्रिभुवन विमानस्थलमा परीक्षण गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा लक्षण नदेखिएकाहरु मात्र विमानस्थलबाट सिधै क्वारेन्टाइन लगिनेछ भने लक्षण देखिएकालाई आइशाेलेसनमा ल्याइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुका लागि विभिन्न पाँच हब अस्पतालमा ४३ शैयाको आइशोलेसन वार्डको व्यवस्था गरिसकेको छ । वीर, शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल, पाटन, शिक्षण अस्पताल, आर्मी अस्पतालमा आइशोलेसन वार्डको व्यवस्था गरिएको छ ।
यसैगरि चीनमा रहेका विद्यार्थीहरुलाई भने उद्दार बारे थप कुनै जानकारी दिइएको छैन । बेईजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा दूतावासका प्रथम सचिव सुशिलकुमार लम्सालले उद्दारका लागि आफूहरु तयारी अवस्थामा रहे पनि परराष्ट्रबाट कुनै निर्देशन नआएकाले के गर्ने भन्ने विषयमा आफूहरु समेत अन्यौलमा रहेको बताउनुभएको युहानबाट डा.अमित श्रीवास्तवले हेल्थपाटी डटकमलाई जानकारी दिनुभयो ।
उद्दारका लागि नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरीको टोली चीन जाने तयारी छ । नेपाल एयरलाइन्सको विमान मार्फत चीन जाने टोलीमा आवश्यक परे ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारीहरुलाई पनि लैजाने तयारी सरकारको छ ।
शिवपुरी, इचङ्गुनारायण, सूयविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल तोकिएको छ । क्वारेन्टाइन के हो र किन गरिन्छ ?
तुलसा घिमिरे
तपाईँको अभिमत