मानसिक स्वास्थ्यमा सरकारका कार्यक्रम के-के छन् ? (भिडियो)
नेपालमा पनि नसर्ने रोग बढिरहेको छ। नसर्ने रोगमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। आत्महत्या गर्नेमध्ये ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ। यसमा डिप्रेशन मुख्य कारक रहेको छ ।
नेपालले मानसिक स्वास्थ्यलाई ५ वर्ष अगाडि मात्रै जनस्वास्थ्य समस्याका रुपमा राख्यो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको स्थापना गरेको थियो ।
प्रहरीले इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखालाई उपलव्ध गराएको आत्महत्याको तथ्यांक अनुसार विगत ५ वर्षदेखि नेपालमा आत्महत्याको दर बढिरहेको छ । नेपालमा दिनमा कम्तिमा १७ जनाले आत्महत्या गरिरहेका छन् । वर्षमा झण्डै ७ हजार जनाको मृत्यु आत्महत्याका कारण भइरहेको छ । मानसिक स्वास्थ्य समस्यालाई गम्भिर रुपमा लिएर बृहत्तर जनचेतना फैलाउनेतर्फ लाग्नुपर्ने एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बराल बताउनुहुन्छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच पाइएको छ । १८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ ।
विश्वमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर किशोरीहरूमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन् । वि.सं २०६५ मा प्रजनन उमेर समूहका महिलाहरूमा गरिएको अध्ययन प्रतिवेदन अनुसार यो समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या पाईएको छ । वि.सं २०७२ को महाभूकम्पपछि आफ्नो परिवारका सदस्यहरू र धनसम्पत्ति गुमाउँदाको पीडा साथसाथै भूकम्पको प्रत्यक्ष अनुभव गरेकाहरूमध्ये ३४.२ प्रतिशतमा डिप्रेशन, ३३.८ प्रतिशतमा चिन्ताजन्य समस्या, २०.४ प्रतिशतमा मादक पदार्थको दुव्र्यसन र ५.२ प्रतिशतमा आघातजन्य समस्या पाईएको थियो ।
मानसिक स्वास्थ्यबारे कानूनी व्यवस्था
नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पँहुच हुने हकको व्यवस्था गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ ।
यसैगरी जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ र २ मा पनि मानसिक स्वास्थ्य समस्याहरूलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा समाबेस गर्दै संघ, प्रदेश र स्थानीयस्तरबाट उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
जनशक्ति समस्या र चुनौती
हाल नेपालमा २०० जना मनोचिकित्सक, ३५ जना चिकित्सा मनोविद्, ८५ जना साइक्याट्रिक नर्स, २०० जना मनोविद, ८०० जना तालिम प्राप्त मनोपरामर्शकर्ता र केही सङ्ख्यामा तालिम प्राप्त मनोसामाजिक कार्यकर्ता कार्यरत रहेका छन् ।
हेल्थपाटीका लागि तुलसा घिमिरेले एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बरालसँग मानसिक स्वास्थ्यमा सरकारले गरिरहेकाे र अब गर्नपर्ने कामबारे कुरा गर्नुभएकाे छ ।
नोट : यदि तपाईँ मानसिक तनावमा हुनुन्छ । त्यस्ता तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस् । २४सै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्पलाइन नम्बर ११६६ ।
हेल्थपाटी 
तपाईँको अभिमत