हेटौँडा सञ्चो अस्पतालको घटना के हो ? के भन्छन् मृतकका परिवार ?
हेटौँडा उपमहानगरपालिका-१२ सिक्रेनीका ४० वर्षीय राजेश प्रधानको साउन २५ गते उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भयो । मृत्यु भएको एक महिनापछि बुधबार मृतक राजेशको परिवारले ड्युटीमा रहेका २ जना डाक्टरलाई कुटपिट गरेको घटना सार्वजनिक भयो।
कुटपिट गर्दै गरेको भिडियो बुधबार रातिबाट सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
घटनामा संलग्नमाथि कडा कारबाहीकाे माग भइरहेकाे छ। चिकित्सकहरूको संगठन नेपाल चिकित्सक संघले कुटपिटमा संलग्नलाई कारबाही गर्न अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ । प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीलाई भेटेर कारबाहीका लागि दवाव समेत संघले दिएको छ ।
डाक्टरमाथि कुटपिटमा संलग्न रहेको आरोपमा मृतक राजेश प्रधानकी श्रीमती, छोरी, छोरा र भतिजलाई प्रहरीले पक्राउ गरेको छ ।
तर मृतकका परिवारले भने आफूहरुलाई झनै पीडित बनाएको दुखेसो गरेका छन् । हेल्थपाटीसँग मृतकका भाइ रबिन प्रधानले सञ्चो अस्पतालको लापारबाहीका कारण दाजूलाई गुमाउन परेको आरोप लगाउनुभएको छ ।
घटनाबारे उहाँले दिनुभएको जानकारी उहाँकै शब्दमा:
दाइलाई साउन १९ गते १२ नम्बरको क्लिनिकमा जाँच गर्दा डेंगी पोजेटिभ देखाएको थियो । त्यसपछि औषधि के नै हुन्छ र सिटामोल, भिटामिन दिएर पठायो । त्यही औषधि खाइरहनुभएको थियो। उहाँलाई २० गतेसम्म ठिकै थियो ।
२१ गते बिहानै गाह्रो भयो भन्नुभयो अस्पताल पुर्याएँ । ११ बजेतिर घर लिन बोलाउनुभयो । रगतहरू जाँच गरेको रहेछ घर लिएर आएँ। २२ गते बिहान फेरि ढाड धेरै दुख्यो, टाउको हान्यो आइज न भनेर बोलाउनुभयो। घरबाट अस्पताल लगेँ । त्यो दिन चाहीँ अब घर लाने-ल्याउने नगरौँ भनेर अस्तालमै राखौँ भन्यो राखियो ।
२२ गते पनि रगत परीक्षण गरियो । २ दिनकै रिपोर्टमा डेंगीं नेगेटिभ देखायो । २२ गते त्यही अस्तपालमा राख्ने क्रममा अलि गाह्रो भएपछि हामीले एचडीयूमा राखिएका थियौँ । एचडीयूमा कोही छैन मान्छे । अस्पतालमा खोज्दा कोही छैन। बल्ल-बल्ल खोजेर स्वास्थ्यकर्मी ल्यायौँ । प्रेसर कम भएको भनेर औषधि चलायो ।
भोलिपल्ट बिहान ७ बजे नै हाम्रो मान्छेलाई डिस्चार्ज चाहियो भन्यौँ । रेफर गरिदिनुस् चितवन मेडिकल कलेज जान्छौँ भन्यौँ । बिरामी निको हुनुको सट्टा झन अवस्था विग्रिरहेको छ भन्यौँ तर रेफर गर्न मानिएन । तपाईको बिरामी राम्रो छ । औषधिले काम गर्न समय लाग्छ भनियो । २४ देखि ४८ घण्टा लाग्छ भनियो ।
राति एक्स रे हरू गर्दा राम्रो छ । सिटी स्क्यान गर्नै परेन, १० हजार जोगियो समेत भन्नुभयो । जे भएपनि हामी राम्रो अस्पताल लैजान्छौ भन्दा डाक्टर बिडारीले पठाउनै मानिरहनुभएको थिएन ।
हाम्रै आइसीयू छ । हाम्रैमा राख्नु भन्नुभएको थियो । उहाँलाई एक हप्तामा ४ जना मान्छे कुट्न सक्ने बनाएर पठाउँछौँ भनिरहनुभएको थियो।
तपाईहरुको सिटी स्क्यान गर्न त बाहिर लैजानुपर्छ अक्सिजन दिइरहेको बिरामी लान गाह्रो हुन्छ। हामीलाई रेफर गरिदिनु भनेर जबरजस्ती गरेपछि बल्लतल्ल रेफर गरिदिए । २३ गते बिहानसम्म त्यो अस्तपालमा फोक्सो खराबी छैन भनिएको छ । उहाँ जानासाथै थाहा भयो ८०–८५ प्रतिशत फोक्सो खराबी भइसकेको रहेछ । पानी भरिइसकेको रहेछ ।
बिरामीको आँखा पनि सुन्निइरहेको थियो । त्यो अवस्थामा मान्छे पुग्यो त्यहाँ । चितवन पुग्नेवित्तिकै डाक्टर शंकर लोलारी भन्नेले हेर्नुभयो । यसो परीक्षण गर्नेवित्तिकै उहाँको अवस्था जटिल छ आइसियूमा उपचार गर्नुपर्ने भन्दै उहाँले चितवन मेडिकल कलेज लैजान भन्नुभयो ।
त्यहाँ लैजाँदा टिम तयार रहेछ । सिटीस्क्यान र एक्सरे गर्यौँ । अन्य जाँच पनि भयो । रिपोर्ट तुरुन्तै आयो । रिपोर्ट हेर्नेबित्तिकै डा.गौरीले यसअघि कहाँ राखेको भनेर सोध्नुभयो । हामीले यथार्थ भन्यौँ-सन्चो अस्पताल । स्लाइन धेरै चढाएको जस्तो छ, फोक्सोमा पानी जमेको छ भन्नुभयो । स्लाइन त भतिजले बुबालाई १९ बोत्तल स्लाइन चढाएको भन्यो।
सन्चो अस्पतालका डाक्टरलाई थाहा भइसकेको रहेछ ।अवस्था क्रिटिकल छ भनेर अरु बिरामीका कुरुवासँग चाहिँ भन्नुभएको रैछ । तर परिवारका मान्छेलाई किन भनिएन ? हामी ठिक पार्छौँ भनिरहनुभएको थियो ।
डाक्टरले त्यति भनेपछि त हामी छागाबाट खसेजस्तै भयौँ । अघि बिहानसम्म त ४ जना पिट्ने बनाउँछौँ भन्थ्यो । एकछिनपछि चितवनमा पुग्दासम्म मान्छे १० मा ५ बाँच्छ, ५ बाच्दैन भन्नेमा पुग्यो ।
उहाँहरुको लापरवाहीले अवस्था त्यति बिग्रिइसकेको रहेछ । समयमा रेफर गरिदिएको भए बेलैमा ठाउँमा पु¥याउन पाइन्थ्यो । दाइ ठूलो मान्छे ११० किलोको, उहाँहरुले त्यही सोच्नुभयो कि मान्छे बलियो छ रोगलाई जित्छ । तर रोगले उहाँलाई जितिसकेछ।
डाक्टरहरुबाट हामीलाई राम्रो परामर्श भएन । जसका कारण हामीले बचाउन सकिने सम्भावना हुँदाहुदै दाईलाई गुमायौँ ।
काजकिरिया सकिएको भोलीपल्टै सञ्चो हस्पिटल गयौं । हामीलाई बीमाको लागि हस्पिटलको कागज चहिने थियो, लिन गयौंँ।
हस्पिटलले त दाइको रगत ननिकालेको दिनको रिपोर्ट दियो । २३ गते बिहानै चितवन लगेका थियौँ । तर सञ्चो हस्पिटलले २३ गतेको दिनको रिपोर्ट बनाए दियो, डेंगी पोजेटिभको । रगतै ननिकालेको दिनको रिपोर्ट कसरी बन्यो ? हाम्रो प्रश्न हो ।
जबकी २१ र २२ गतेको रिपोर्टमा डेंगी नेगेटिभ थियो । २३ गते बिहानै चितवन लगेको । सो दिन दाइको शरीरबाट रगत निकालेको पनि थिएन, अरु कुनै परीक्षण पनि गरिएको थिएन । तर २३ गतेको रिपोर्ट बनाएर दियो । त्यसपछि हामी हस्पिटल व्यवस्थापनसँग कुरा गर्न गयौंँ।
हस्पिटलबाट ३ लाख रुपैंया लिएर कुरा मिलाएछ भन्ने हल्ला बजारमा फैलिएछ । यससम्बन्धमा कुरा गर्न चाहन्छौ भनेर हामीले भन्यौँ । सञ्चालक समितिका अध्यक्ष र उपाध्यक्षलाई फोन गर्यौं । अध्यक्ष ज्यूले मैले यसबार हात उठाइसकेँ डाक्टर विकासलाई जिम्मा दिएको छु भन्नुभयो । जे-जे कुरा गर्नुछ उहाँसँगै गर्नुस् भरेर गैरजिम्मेवार बन्नुभयो।
हिजो हामी व्यवस्थापन पक्षसँग कुरा गर्न गएका थियौं । म चाहीँ सञ्चालक समिति खोज्दै तलतिर गएँ । भाउजूले माथि डाक्टरलाई देखेर यसैले गर्दा मेरो बुढा बितेको भनेर आवेगमा आएर हात हाल्नुभएछ । त्यो देखेर छोरा, भतिजले पनि हात हालेछ।
भाउजू मानसिक रुपमै विक्षिप्त हुनुहुन्छ । अहिले आएर हाम्रो मुद्दालाई वास्ता छैन । उल्टै हाम्रो मान्छेलाई ल्याएर थुनेको छ । पीडित हामी हौं । पीडक होइनौँ।
एउटा गल्ति हाम्रो पक्षबाट भएको हो, भाउजूले आवेसमा डाक्टरलाई पिट्न नहुने थियो ।
हेल्थपाटी 

तपाईँको अभिमत