बारम्बार किन कुटिन्छन् डाक्टर, नर्स र स्वास्थ्यकर्मी ? (भिडियो)
स्वास्थ्य सेवालाई नियमित भरपर्दाे, मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुनसक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्न ऐन जारी भयो ।
ऐन चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरुको पूर्ण सुरक्षाको लागि भनेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ ल्याइएको थियो ।
२०७९ सालमा संसोधित ऐनमा स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने तथा स्वास्थ्यकमी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याएमा तत्काल कारबाही गर्ने व्यवस्था गर्यो ।
हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने यदि गरे कारबाहीको व्यवस्था गरेको छ । तर ऐन संसोधन भएपछि पनि लगातार डाक्टर, नर्स स्वास्थ्यकर्मीमाथि दुरव्यवहार र कुटपिटका घटना भइरहेका छन् । असुरक्षित भइरहँदा उनीहरुमा सेवा प्रवाह गर्न भय उत्पन्न भएको छ र काम गर्नै सक्दैनौँ भनिरहेका छन् ।
ऐनको कार्यान्वयन नहुँदा आफूहरु असुरक्षित भइरहेको उनीहरुको भनाइ छ । हेटौडाको सञ्चो हस्पिटलमा कार्यरत २ जना डाक्टरमाथि सांघातिक आक्रमण भयो । ड्युटीमै खटिरहेको बेला सांघातिक आक्रमण हुनुले पक्कै पनि स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको छ । स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । उनीहरुले ऐनमा भएको व्यवस्था बमोजिम कार्बाहीको माग गरेका छन् ।
आज हेल्थपाटी विशेषमा स्वास्थ्यकर्मीमाथि बारम्बार हमला किन भइरहेको छ भन्ने विषयमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीसँगको संवाद प्रस्तुत गरिएको छ । कुराकानीमा हुनुन्छ हेल्थपाटीका लागि जगन्नाथ ढकाल र चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारी ।
ऐनमा भएका व्यवस्था
ऐनको दफा ३ मा भनिएको छ, कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन : (क) स्वास्थ्य संस्थामा आगजनी गर्न,
(ख) स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुऱ्याउन,
(ग) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुऱ्याउन,
(घ)स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न,
(ङ)स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुऱ्याउन, वा
(च) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार
गर्न ।
कसूर र सजाय
कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ ।
दफा ३ को खण्ड (क) अर्थात् कसैले स्वास्थ्य संस्थामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरीवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
दफा ३ को खण्ड (ख) वा (ग) अर्थात् स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पर्याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याए तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्छ ।
दफा ३ को खण्ड (घ), (ङ) वा (च) अर्थात् स्वास्थ्य संस्थामा तालाबन्दी गरे वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याए , स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।
तपाईँको अभिमत