‘उपयुक्त समयमा सहबास नगर्दा गर्भाधान हुँदैन’ (भिडियो)

श्रीमान्–श्रीमतीबीच सहबास गर्ने उपयुक्त समय थाहा नहुँदा पनि कतिपय दम्पतिले गर्भाधान गर्न नसक्ने विज्ञहरूले बताएका छन् । स्त्रीरोग तथा निसन्तानपन विशेषज्ञ डा. अर्चना शाक्यका अनुसार महिलाको महिनावारीको चक्रअनुसार सही समयमा सहबास गर्दा गर्भाधान गर्ने सम्भावना बढी हुन्छ ।
‘फर्टाइल पिरियड भन्छौँ हामी, जुनबेला सहबास गर्दा गर्भाधान हुने सम्भावना बढी हुन्छ’, डा. शाक्यले भन्नुभयो, ‘त्यो भनेको महिलाको महिनावारी २८ दिनमा हुने गरेको छ भने १४ दिनपछि अण्डा निस्कन्छ । महिनावारी भएको १२ वा १३ दिनदेखि सहबास गर्नुपर्छ । यसरी जुन महिलाको जति दिनमा महिनावारी चक्र छ सो दिनमा १४ घटाएर सो दिनबाट १० दिनसम्मको सहबासमा गर्भाधान हुने बढी सम्भावना हुन्छ ।’
उहाँका अनुसार अण्डाको आयु २४ घण्टाको हुन्छ र शुक्रकीटको आयु ७२ घण्टाको हुन्छ । त्यसरी निस्कने अण्डा र शुक्रकीटबीचको मिलन गराउन अण्डा बाहिर आउनुअगावै सहबास हुनुपर्ने हुन्छ । कतिपय दम्पतिले यस्तो प्राकृतिक नियम थाहा नपाउँदा गर्भाधान गर्न नसक्ने गरेको उहाँको भनाइ छ । गर्भाधान हुन नसक्दा आइभीएफमा आउने गरेको उहाँको अनुभव छ ।
डा. शाक्यले आइभीएफ सबैका लागि आवश्यक नहुने भन्दै कतिपयले परामर्श लिएपछि प्राकृतिक रूपमै सन्तान सुख प्राप्त गरेको सुनाउनुभयो । आइभीएफ आफैमा शतप्रतिशत नतिजा दिन नसक्ने उहाँ बताउनुहुन्छ । ‘आइभीएफ सबैलाई आवश्यक पर्दैन । यो अन्तिम उपाय भएपनि शतप्रतिशत नतिजा दिँदैन ।’
आइभीएफ के हो ?
आइभीएफ भन्नाले कृत्रिम गर्भाधान हो । महिलाको डिम्बबाट अण्डा झिकेर र पुरुषको शुक्रकीटसँग ल्याबमा मेल गराएर भ्रुण निर्माण गरी बनेको भ्रुणलाई पुनः महिलाको पाठेघरभित्र राखिदिने प्रक्रिया आइभीएफ हो ।
हाल प्रविधिको विकाससँगै पाँच दिनसम्मको भ्रुण बनाउन सकिने डा. शाक्य बताउनुहुन्छ । यसअघि तीन दिनको मात्र भ्रुण बनाउन सकिने अवस्था हुन्थ्यो ।
कसलाई आवश्यक छ आइभीएफ ?
आइभीएफ गर्नुपर्ने अवस्था महिला वा पुरुष दुईमध्ये एकको कारण हुन्छ । दुवैमा पनि निसन्तानपनको समस्या हुनसक्छ ।
महिलाको कारण : महिलाको पाठेघरसँगै दुई वटा नली हुन्छन् । ती नली दुवै बन्द भए प्राकृतिक गर्भाधान असम्भव हुन्छ । त्यस्तै पाठेघर वा डिम्बमा ठुलो ‘सिस्ट’ अर्थात् मासु पलायो भने आइभीएफल आवश्यक हुन्छ । महिनावारी गडबडी भइरहने तथा अण्डाको भण्डारण न्यून हुने समस्याका कारण पनि निसन्तान हुने समस्या हुन्छ ।
पुरुषको कारण : पुरुषको शुक्रकीटमा समस्या हुनसक्छ । शुक्रकीट उत्पादन नहुने, कम सङ्ख्यामा उत्पादन हुने, चाल नहुने, बनावट नमिल्ने आदि कारण पनि आइभीएफ आवश्यक हुन्छ ।
वातावरण, खानपिन तथा जीवनशैली निसन्तानपनको कारक बन्दै
पछिल्लो समय अण्डाको भण्डारण सानै उमेरमा कम हुँदै गइरहेको डा. शाक्य बताउनुहुन्छ । खानपिन, जीवनशैली आदिका कारण पनि समयअगावै अण्डा भण्डारण न्यून हुँदै गइरहेको हो ।
धूम्रपान तथा मद्यपान गर्ने महिला र पुरुषको अण्डा तथा शुक्रकीटमा कमी आउने गरेको देखिएको छ । ‘चुरोट र रक्सी पिउने महिला पुरुषको अण्डा तथा शुक्रकीटमा जसरी पनि समस्या आउँछ’, डा. शाक्यले भन्नुभयो । यसैगरी कफी धेरै खाने, जंकफुड खाने व्यक्तिमा पनि निसन्तानपनको समस्या निम्तिन्छ । चिप्स, कुर्कुरे, बजारका पेय पदार्थहरू आदि धेरै खाने व्यक्तिको अण्डा वा शुक्रकीटमा ह्रास आएको पाइन्छ ।
शारिरीक व्यायाम नगर्ने तथा बढी दबाब र तनाव लिने व्यक्तिको अण्डा वा शुक्रकीटमा समस्या आएको पाइएको डा. शाक्यको भनाइ छ ।
वैदेशिक रोजगारमा गएका पुरुषको शुक्रकीटको गुणस्तरमा ह्रास
डा. शाक्यका अनुसार वैदेशिक रोजगारमा गएका पुरुषहरूको शुक्रकीटको गुणस्तरमा ह्रास आएको छ । विशेषगरी गल्फ मुलुकहरूमा गएका पुरुषमा यस्तो समस्या देखिएको हो । ‘गर्मीमा लामो समयसम्म बस्दा अण्डकोषमा असर पर्छ । त्यसले गर्दा शुक्रकीटमा हानि हुन्छ’, उहाँले भन्नुभयो, ‘बाहिरी मुलुकमा गएकामा मात्र होइन नेपालमै पनि लामो दुरीसम्म बाइक चलाउने वा बसिरहने, ल्याप्टप काखमा लिएर लामो समयसम्म चलाउने जस्ता कार्यले पनि समस्या पारिरहेको छ ।’
यसैगरी बच्चामा ‘गल्फुलो’ अर्थात् हाडे भएको पुरुषको शुक्रकीटमा ह्रास हुने गरेको पाइएको छ । डा. शाक्यका अनुसार हाइड्रासिल, नसा फुल्ने, औषधि खाने, मधुमेह आदि कारणले पनि शुक्रकीटमा ह्रास आउँछ । कसैको चाहिँ वंशाणुगत समस्या हुने गरेको छ ।
तपाईँको अभिमत