किष्ट अस्पतालमा एक बिरामीको एकैसाथ कलेजो र मिर्गाैला प्रत्यारोपण
ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको छ ।
सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरेको हो । उहाँलाई ३५ वर्षीय श्रीमानले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गर्नुभएको थियो । बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो ।
कलेजोले एक प्रकारको टक्सिस केमिकल निरन्तर उत्पादन गरिरहेको र जसको कारणले गर्दा विरामीको दुवै मृगौला खराब भएको थियो । यही अवस्थाले गर्दा निजको दुवै अङ्गको एकैसाथ प्रत्यारोपण गर्नु परेको हो । अङ्ग ग्रहणकर्ता र अङ्गहरु दानदिने व्यक्तिहरु तीनै जनाको एकै साथ शल्यक्रिया प्रकृया गरिएको अस्पतालले जनाएको छ ।
यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो । यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नु अघि निजको विस्तृत स्वास्थ्य परीक्षण तथा शरिरमा कलेजोले पैदा गरिरहेको टक्सिस केमिकलको प्रभाव कम गरी बिरामीलाई शल्यकृयाको लागि तयारी गर्न करिब ६ महिनाको समय लागेको थियो ।
मिर्गौला बिग्रिएर उहाँले अस्पतालबाट डायलाइसिस सेवा लिइरहनु भएको थियो । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको र जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण भएको हो ।
अस्पतालका अनुसार प्रत्यारोपण गर्न १८ घण्टाभन्दा बढी समय लागेको र १०० जना भन्दा बढी जनशक्ति परिचालन गरिएको थियो ।
प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालबाट डा.निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजा आउनुभएको थियो ।
यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा. मुकुन्दराज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा.सन्तोष क्षेत्री, डा.कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।
यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा एक जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ ।
अस्पतालमा ११५ जनाभन्दा धेरैको अंग प्रत्यारोपण गरिसकेको अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत