पूर्ण स्तनपान गराउनेमा पढेका भन्दा नपढेका महिला धेरै (भिडियो)
अहिले विश्व स्तनपान सप्ताह चलिरहेको छ । शिशुलाई जन्मिएदेखि ६ महिनासम्म पूर्णस्तनपान गराउन प्रेरित गर्ने र स्तनपानको दर वृद्धि गराउने उद्देश्यसहित विविध कार्यक्रम हुने गरेका छन् ।
समाज विकासित हुँदै आउँदा र शिक्षित महिलाको संख्या बढिरहँदा स्तनपानको दर भने घटिरहेको बालरोग विशेषज्ञ डा.सन्तोष अधिकारी बताउनुहुन्छ ।
नेपालको जनसांख्यिकी सर्वेले यस्तो नतिजा देखाएको उहाँले जानकारी दिनुभयो । स्तनपानको दर दुर्गम क्षेत्र भन्दा सुगममा कम र अशिक्षित महिलामा भन्दा शिक्षित महिलामा कम देखिएको पनि डा.अधिकारीले बताउनुभयो ।
स्तनपानको महत्व के छ ? घट्दै गएको यसको दर कसरी बढाउने ? कान्ति बाल अस्पतालका कार्यरत बालरोग विशेषज्ञ डा.सन्तोष अधिकारीले हेल्थपाटीसँगको कुराकानीमा दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत छ।
बच्चालाई चाहिने सबै पोषण तत्व आमाको दूधमा हुन्छ। यदि राम्रोसँग स्तनपान गराइएन भने बच्चाको वृद्धि विकासमा असर गर्छ। बच्चा भनेका भोलिका कर्णधार हुन्। समयमै सजग हुनु पर्ने हुन्छ।
घट्दै गएको स्तनपानको दरलाई पुनर्जाग्रित गर्न विगत ३२ वर्षदेखि स्नतपान सप्ताह मनाइँदै आएको छ। १ अगष्टदेखि ७ अगष्टसम्म नेपालले पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउँदै आएको छ।
अब यसलाई किन महत्व दिने त ? सबैभन्दा पहिले बच्चा जन्मिएपछि उसको अधिकार भनेको पोषण हो। उसले त्यो पोषणतत्व पाउन सक्ने भनेको आमाको दूधबाट नै हुन्छ। त्यसका लागि स्तनपानलाई विशेष जोड दिनु आवश्यक छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा स्तनपानको दर सन २००६ मा एकदमै कम भएर फेरि बढेको थियो। फेरि २०११ देखि घटेर अहिले ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको संख्या करिब ५६ प्रतिशत हाराहारी मात्रै देखिन्छ।
आमाको मात्रै दायित्व होकि भन्ने ठानियो कि अरुको सहयोग भएन कि भन्ने छ।
स्तनपान किन बढाउन सकिएको छैन त ?
यसमा धेरै कुरा हुन्छ। पहिलो भनेको स्तनपान आमाले गराउनु पर्ने भएकाले आमालाई यसको महत्वबारे कत्तिको सचेत गराइयो त भन्ने हुन्छ। गर्भअवस्थामा हुने जाँचदेखि नै यो सुरु गर्नुपर्छ तर अध्ययनका डाटाहरु हेर्ने हो भने ५५–५६ प्रतिशत महिलालाई मात्रै गर्भजाँचका बेला स्तनपानको महत्व बुझाइएको देखिन्छ।
अर्काे धेरै महिलाहरु कामकाजी हुनुहुन्छ। उहाँहरुले कामबाट विदा नपाउने भएकाले पनि पूर्ण स्तनपान हुन सकेको छैन। अझ यस्तो समस्या स्वास्थ्यकर्मीमा बढी देखिन्छ। एक–दुई महिनापछि सुत्केरी विदा सक्किने र ड्युटीमा जानुपर्ने हुँदा समस्या हुन्छ। स्वास्थ्यमा लामो विदा दिन समस्या हुन्छ।
गलत भ्रमले पनि स्तनपानलाई कम गर्न भूमिका खेलिरहेको छ। स्तनपान गराउँदा शरीर बिग्रने, सौन्दर्य घट्ने भन्ने भ्रम पनि कतिपयमा पाइन्छ।
अर्काे भनेको बजारमा आउने खाद्य पदार्थका विभिन्न विज्ञापनमा आकर्षित भएर पनि स्तनपानलाई कम महत्व दिइएको होकि भन्ने पनि देखिन्छ।
समग्रमा भन्नुपर्दा सबै सचेत, सजग र सबैको सहभागिता नभएका कारणले गर्दा पूर्ण स्तनपानको दर घटेको भन्न सकिन्छ।
मान्छे शिक्षित हुँदै आए, स्वास्थ्य सेवाको पहुँच पुग्यो तर स्तनपानको दर किन घट्दै ?
यसमा म नेपालकै एउटा सर्वेको डाटा भन्छु–नेपालको जनसांख्यिक सर्वेमा सबैभन्दा धेरै स्तनपान गराउनेमा सुदूरपश्चिम र कर्णालीका महिला छन्। सबै भन्दा कम गराउनेमा लुम्बिनी र बागमतीका महिला छन्।
भौगोलिक विकटता, शिक्षाको रुपमा बागमती र लुम्बिनी प्रदेश अगाडि छ भने कर्णाली र सुदूरपश्चिम पछाडि रहेको मानिन्छ।
अर्काे पक्षबाट हेर्दा शिक्षित महिला भन्दा अशिक्षित महिलामा स्तनपानको रेसियो बढी छ। जति पढ्दै गयो त्यति स्तनपानको दर कम हुँदै आउने देखिन्छ।
अब यसमा पढ्दैमा स्तनपान नगरेको भन्न पनि मिल्दैन। पढेको महिला कतै जागिर वा त्यही खालका पेशामा आवद्ध भएर स्तनपानमा ह्रास भएको होकि भन्ने अनुमान गर्न सकिन्छ। ती महिलाहरु कहाँ काम गर्छन्, कस्तो पेशा गर्छन् त्यो खालका डाटा हामीसँग छैन।
पहिला हाम्रो आमाहरुको पालामा घरायसी काम र गृहिणीको मात्रै जिम्मेवारी भएकाले होला हामीलाई स्तनपानमा उहाँहरुले बढी दिनुभयो।
अहिले व्यस्त समय र परिवार विखण्डित हुनुको कारणले पनि यो घटेको हो।
स्तनपानको दर बढाउन के गर्ने ?
चिकित्सा क्षेत्रमा हामी उपचारात्मक कार्यमा लागि राखिका छौँ भने रोग रोकथाममा पनि लाग्नुपर्ने हुन्छ।
आमालाई अर्थात कुनै किशोरीलाई उसले पढ्दाखेरी नै स्तनपानको महत्व बुझाउन आवश्यक छ। अन्तिममा गएर त्यही किशोरी आमा बन्ने हो। त्यही विषय पढेको किशोर पछि बुबा बन्ने हो। शिक्षामा यो जोड्न सक्यो भने राम्रो हुन्छ।
गर्भअवस्थामा जाँच गर्ने आउँदा ६ महिनापछि स्तनपानको महत्व बुझाउँदै जानुपर्छ। यसो गर्न सकियो भने बच्चा जन्मने बेलासम्म आमा यसमा अभ्यस्त भइसकेकी हुन्छिन्।
समाजमा रहेका स्वास्थ्यकर्मी, स्वयंसेविका, जान्ने बुझ्ने व्यक्ति सबैले यसमा सहयोग गर्न सक्यो भने घर, परिवार र समुदाय नै मिलेर स्तनपानको दर बढाउन सकिन्छ।
कामकाजी महिलालाई थप विदाका लागि वकालत गर्न सकियो भनेपनि केही हदसम्म समस्या समाधान हुन्छ।
यसमा केही अप्ठ्यारा पाटा पनि छन् नेपालमा अधिकांश नर्स महिला छन्। नर्स स्वास्थ्य संस्थाको मेरुदण्ड नै भए। यस्तोमा उनीहरुलाई बच्चालाई पूर्ण स्तनपान गराउने समयसम्म विदा मिल्न कठिन छ। त्यो समयमा अतिरिक्त कर्मचारी राखेर कुनै योजना बनाएर गर्न सकिन्छ।
कार्यालय, अस्पताल, सरकारी अड्डाहरुमा स्तनपान कक्षको आवश्यकता हुन्छ । कतिपय ठाउँमा यो देख्न पनि सकिन्छ। नभएकामा पनि बनाउनुपर्छ।

हेल्थपाटी
तपाईँको अभिमत