कोठाभित्र धेरै समय बिताउने बालबालिकामा टाढाको नदेख्ने समस्या(भिडियो)
नजिकको वस्तु स्पष्ट र राम्रोसँग देखिने तर टाढाको वस्तु देख्न, चिन्न र ठम्याउन नसक्नुलाई दुरदृष्टिको समस्या भनेर बुझिन्छ । यस अवस्थालाई टाढाको नदेख्ने समस्या भएको बुझिन्छ । यसलाई मेडिकल भाषामा मायोपिया भनिन्छ।
विशेषगरी मायोपिया बालबालिकामा देखिने आँखाको प्रमुख समस्या बन्दै गएको दृष्टिरोग विशेषज्ञ प्रतिभा देवकोटा बताउनुहुन्छ।
उहाँका अनुसार पछिल्ला केही वर्षयता नेपाली बालबालिकाहरुमा दुरदृष्टिको समस्या बढिरहेको छ ।
मायोपिया वंशाणुगत कारण पनि हुन्छ । जन्मजात मात्रै नभई हाम्रो वातावरण (पढ्ने, खेल्ने, काम गर्ने) अवस्थाले पनि आँखाको दृष्टिमा असर पार्ने विभिन्न अध्ययन, अनुसन्धानले देखाएको देवकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार आँखालाई विश्राम नदिई आँखा नजिकै धेरैबेर काम गरिरहँदा टाढाको नदेखिने समस्या बढ्छ ।
अहिले अधिकांश बालबालिकाहरूले स्मार्ट फोनमा भिडियो गेम खेल्ने, सिनेमा हेर्ने क्रम बढेको छ, स्मार्ट फोनमा घण्टौँ समयसम्म झुम्मिरहँदा आँखालाई सुख्खा बनाउँछ, यसपछि बिस्तारै-बिस्तारै टाढाको नदेख्ने समस्या बढ्दै जान्छ । यो नै मायोपिया निम्त्याउने प्रमुख समस्या भएको दृष्टिरोग विशेषज्ञ देवकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार कोठाभित्र धेरै समय बिताउने बच्चाहरूमा मायोपियाको समस्या बढी अध्ययनले पुष्टि गरिसकेको छ । घरमै बसेर किताब, मोबाइल, ल्यापटप, ट्याबमा व्यस्त हुने बालबालिकालाई टाढा देख्न समस्या बढिरहन्छ ।
त्यसैले बालबालिकालाई निश्चित समयमा आँखाको विश्राम दिनेतर्फ अभिभावकले ध्यान दिनुपर्ने र बाहिरी वातावरणमा पनि समय बिताउन प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ।
चाडपर्वको सन्दर्भलाई जोड्दै उहाँले चंगा उडाउँदा बालबालिकाको आँखालाई फाइदा पुग्ने बताउनुभयो । चंगाा उडाँउदा आँखालाई टाढा सम्मको वस्तु हेर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।
बालबालिकाहरुको स्क्रिन टाइमप्रति सचेत रहनुपर्ने भन्दै उहाँले स्कुले बालबालिकाको नियमित आँखा परीक्षण गर्न अभिभावकलाई सुझाव दिनुभयो ।
बालबालिकाको आँखाको दृष्टिलाई सुरक्षित कसरी राख्ने, मायोपियाबाट कसरी जोगाउने भन्ने विषयमा हेल्थपाटीका तुलसा घिमिरेले दृष्टिरोग विशेषज्ञ प्रतिभा देवकोटासँग कुरा गर्नुभएको छ ।
पूरा भिडियो

हेल्थपाटी
तपाईँको अभिमत