कोरोना सङ्क्रमणको असर न्यूनीकरण गर्न उपयोगी खानेकुराहरु
बजारबाट किनेर खाए मात्र भिटामिन प्राप्त हुन्छ भन्ने मानसिकता त्याग्नु
कोरोना लगायत अन्य अवस्थामा समेत उपयोगी भान्सामा पाइने प्राकृतिक भिटामिन। कोभिड सङ्क्रमण भएमा वा नभएमा पनि हाम्रो शरीरलाई विभिन्न प्रकारका जीवनीय तत्वहरुको आवश्यकता पर्दछ। त्यस्ता तत्वहरु हाम्रै घरमा उपलब्ध छन ।
बजारबाट किनेर खाए मात्र शरीरलाई चाहिने भिटामिन प्राप्त हुन्छ भन्ने मानसिकता त्याग्नुपर्दछ। हामीले के कस्तो खानपान वा व्यवहार गर्दा ती तत्व हरु पाउन सकिन्छ भन्ने कुरा जान्नु अति आवश्यक छ । भान्सालाई व्यवस्थित गरे हामी धेरै रोगहरुबाट मुक्त हुन सक्छौं । घरभित्रका यी खाद्य पदार्थबाट प्राप्त जीवनीय तत्वहरु कृतिम तरिकाले बनाइएका भिटामीनहरुभन्दा सयौं गुणा उपयोगी हुन्छन ।
उपचारमा तत्काल जरूरी भएको अवस्थामा चिकित्सकको सल्लाहमा बाहेक कृतिम भिटामीन प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक छ। तल उल्लेखित कुरा मिलाएर खाएमा भिटामीन किनेर खानु पर्दैन।
१. भिटामीन 'ए’ यसलाई संक्रमण प्रतिरोधी भिटामीन पनि भनिन्छ । यो हरियो साग सब्जी, पहेंलो फलफुल, गाँजर, अम्बा, मेवा, माछाको तेल, अण्डा, कलेजो आदिमाप्रशस्त मात्रामा पाइन्छ ।
२. भिटामिन 'डी' भिटामिन डी को कमी भएकाहरूलाई सङ्क्रमण हुँदा निकै गाह्रो हुने गरेको छ । घाममा बस्ने, अण्डा, कलेजो, जस्ता खानेकुरा खाँदा भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
३. भिटामीन 'ई' यो भिटामीन शरिरमा रहेका विजातीय तत्व हरु लाई हटाउन उपयोगी छ। यो सूर्यमुखी तेल, बदाम तेल, दुध, माछा, अण्डा आदिमा पाईन्छ।
४. भिटामीन 'के' यो भिटामीन रगत बग्न बाट जोगाउन आवश्यक पर्छ। यो बन्दा, चिज, साग सब्जी, दुध, अण्डा कलेजो मा पाईन्छ।
५. भिटामिन 'सी' रुघाखोकी र श्वासप्रश्वासको समस्यामा भिटामिन 'सी' उपयोगी हुन्छ । कागती, अमला वा विभिन्न फलफूलहरुको सेवनबाट भिटामिन सी प्रशस्त मात्रामा पाउन सकिन्छ । छुट्टै किनेर खानु पर्दैन ।
६. भिटामीन 'बी' कम्प्लेक्स, यो समुह अन्तर्गत धेरै भिटामीनहरु पर्दछन। यी भिटामीनहरु कार्बोहाइड्रेट, प्रोटिन, फ्याट आदिको चय /अपचय (मेटाबोलिजम) मा भाग लिन्छन। रोग प्रतिरोधात्मक क्षमता निर्माण तथा रक्तकोशिका निर्माणमा पनि यिनीहरू उपयोगी हुन्छन। यो गेडागुडी, दाल, हरियो साग सब्जी, फलफुल, माछा, अण्डा, कलेजो, मृगौला आदिमाप्रशस्त मात्रामा पाइन्छ ।
७. जिङ्क, यो रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी छ। दुध, अण्डा, सोयाबिन, गेडागुडी, फलफूल आदीको सेवन बाट जिङ्क प्रशस्त मात्रामा प्राप्त गर्न सकिन्छ ।
८. क्याल्सियम, यो दाँत र हड्डी बलियो बनाउन, रगत जम्न मद्दत गर्न र शरीरका विद्युतिय तरङ्ग (इलेक्ट्रिकल वेभ) हरूलाई प्रवाह गरी मुटु तथा अन्य अङ्गहरुको चाल नियन्त्रण गर्न उपयोगी छ। यो दुध, अण्डा माछा, मासु, गेडागुडी, फलफुल आदिमा पाईन्छ ।
९. फस्फोरस, यो दाँत र हड्डी बलियो बनाउन उपयोगी छ। यो दुध, अण्डा माछा, मासु, गेडागुडी आदिमा पाईन्छ ।
१०. आईरन, यो रक्त अल्पता कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ। यो हरियो साग सब्जी, कर्कलो, चुकन्दर, लुडे, केरा, अम्बा, अण्डा आदिमाप्रशस्त मात्रामा पाइन्छ ।
११. कपर, यो पनि रक्त अल्पता कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ । यो चुकन्दर, कलेजो, फियो, मृगौला आदिमा प्रशस्त मात्रामा पाइन्छ ।
(लेखक नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत हुनुन्छ । )
हेल्थपाटी
तपाईँको अभिमत