मंसिर ५ गतेबाट यी १० वटा अस्पतालमा रेबिजविरुद्धको सुई उपलव्ध हुने
रेबिजरोग विरुद्ध प्रयोग हुने इम्युनोग्लोबुलिन सुई अब सातै प्रदेशमा उपलव्ध हुने भएको छ । यसअघि रेबिजविरुद्धको सुइ काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्रै उपलव्ध थियो तर अब सातै प्रदेशका १० वटा अस्पतालमा यो सुइ लगाउन सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा आगामी मंसिर ५ गतेदेखि यो सुई काठमाडौंको टेकु अस्पतालबाहेक अन्य प्रदेशहरुमा पनि उपलव्ध हुने जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा जनकपुर अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदनभण्डारी स्वास्थय विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती अस्पताल धनगढीमा रेबिजविरुद्धको सुइ लगाउन पाइने छ ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले रेबिज विरुद्धको सुई नि:शुल्क हुने बताउनुभयो । उहाँले इम्युनोग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमबाट लगाउनपर्ने बताउनुभयो ।
यो सुइ लगाएको ७ देखि १० दिन भित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्छ । एक वा एक भन्दा बढि घाउ हुने गरि टोकेमा, ठुलो घाउ हुनेगरि टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज संकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ ।
बिश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्य लिएको छ । त्यसलाई नेपालले समर्थन गर्दै अघि बढेको छ । रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणिहरुबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो ।
विश्वका १५० देशमा हरेक वर्ष रेबिजका कारण वर्षेनी झण्डै ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा वर्षेनी १५ देखि ३६ जनाको मृत्यु रेबिज लागेर हुने गरेको सरुवा रोग अस्पतालको अनुमान छ ।
हेल्थपाटी
तपाईँको अभिमत