नेपालमा महिलाको कलेजो फेल नहुने होकी उपचारै नहुने ?
नेपालमा २ जना महिलाको मात्रै कलेजो प्रत्यारोपण भएको छ । मिर्गाैला प्रत्यारोपणमा पनि महिलालाई दाता नै पाइँदैन । पुरुषलाई महिलाले मिर्गाैला दिने तर महिलालाई परे दाता नै नपाइने अवस्था छ ।
मिर्गाैला प्रत्यारोपणमा ८० प्रतिशत पुरुषलाई महिला दाताले र २० प्रतिशत महिलालाई (नजिकका नाता महिला पुरुष)दाताले मिर्गाैला दिएको तथ्यांक रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द श्रेष्ठले जानकारी दिनुभयो ।
प्रत्यारोपणमा पहिलादेखि नै महिला प्राथमिकतामा परिरहेका छैनन्, पुरुष आफन्तहरू महिलालाई मिर्गाैला दिन मुस्किलले तयार हुने गरेको श्रेष्ठ बताउनुहुन्छ।
अझ कलेजो प्रत्यारोपणको कुरा गर्दा त प्रत्यारोपणमा आउने महिला निकै कम रहेको चिकित्सकहरूको भनाइ छ । शिक्षण अस्पताल महाराजगञ्ज र चितवन मेडिकल कलेजमा एक-एक जनाको गरी नेपालमा हालसम्म २ जना महिलाको मात्रै कलेजो प्रत्यारोपण भएको छ । तर उपचारमा आउने बिरामीको संख्या हेर्ने हो भने समस्या महिला र पुरुष दुबैमा देखिन्छ र प्रत्यारोपण गर्नुपर्ने संख्या पनि उस्तै हुन्छ तर पुरुषको तुलनामा महिलाको प्रत्यारोपण कमै भएको पाइन्छ । समग्रमा कलेजो प्रत्यारोपण कम भएको छ, त्यसमा पनि महिलाको संख्या अति नै न्यून छ ।
चितवन मेडिकल कलेज(सीएमसी)का पेट तथा कलेजो प्रत्यारोपण फिजिसियन डा. सागर पौडेलले जनचेतनाको कमीका कारण महिलाको प्रत्यारोपण हुन नसकेको अनुमान गर्नुुहुन्छ ।
यद्यपी यस विषयमा गहन अनुसन्धान गरी समस्याको समाधान निकाल्नेतर्फ ध्यान दिनुपर्ने उहाँको जोड छ ।
पुरुषलाई परिवारको मुख्य पात्र मान्ने विभेदकारी सोचका कारण महिला उपचारको बाहिर रहेको उहाँको बुझाइ छ । प्रत्यारोपण गर्नुपर्ने १० जना बिरामीमध्ये ५ जना महिला हुने गरेको पौडेल बताउनुहुन्छ ।
हेपाटाइटिस विरुद्धको खोप
कलेजो खराब हुनबाट जोगाउन एक उपाय हेपाटाइटिस विरुद्धको खोप रहेकाले बच्चाहरूलाई हेपाटाइटिस बीको खोप लगाउन चिकित्सकहरू सुझाउँछन् । यो खोप ३ पटक लगाउनुपर्छ । स्वास्थ्य संस्थाहरूमा यो खोप किनेर पनि लगाउन पाइन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत