कस्तो खालको टाउको दुखाइ हुँदा अस्पताल गइहाल्नुपर्छ ? (भिडियो)
सबैजसो व्यक्तिले कुनै न कुनै समयमा टाउको दुख्ने समस्या भोगेकै हुन्छन् । कसैलाई यो दीर्घकाली समस्याकै रुपमा पनि रहेको हुन्छ ।
दुख्नु आफैँमा एउटा समस्या भएपनि त्यो कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्ने दुखाइ विशेषज्ञ डा.तीर्थराज भण्डारी बताउनुहुन्छ ।
हेल्थपाटीसँगको कुराकानीमा डा.भण्डारीले टाउको दुख्ने अनेकौँ कारण हुने जानकारी दिनुभयो ।
अन्य कुनै स्वास्थ्य समस्या नहुने र टाउको मात्रै दुख्ने भएमा यो सामान्य हुने उहाँको भनाइ छ । टाउको दुखाइ विभिन्न प्राणघातक रोगको लक्षण हुनसक्ने डा.भण्डारीले बताउनुभयो ।
कस्तो खालको टाउको दुखाइ भयो भने तत्काल अस्पताल जाने भन्नेबारेमा डा.भण्डारीले जानकारी दिनुभएको छ ।
हेल्थपाटीसँगको कुराकानीमा डा.तीर्थराज भण्डारीले दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत छ।
-साधारणतया एक्कासी बेस्सरी टाउको दुख्यो वा जीवनमै यति धेरै दुखेको थिएन भने जसरी टाउको दुख्यो भने, त्यसलाई थण्डरक्लाप हेडेक भनिन्छ। यो विशेष गरी हाम्रो मस्तिष्कको बाहिर सानो-सानो नसा हुन्छन्, त्यो फुट्यो भने त्यसरी दुख्छ।
त्यसकारण त्यसरी अध्याधिक दुखेको छ भने नसामा केही असर गरेको हुनसक्छ, यस्तोमा तुरुन्तै अस्पताल जानुपर्छ।
टाउकाको पोजिसन परिवर्तन गर्दा दुख्यो, बिहानमा उठ्नेवित्तिकै टाउको दुख्यो वा हाछ्यूँ गर्दा दुख्यो भनेपनि त्यसलाई पनि जोखिम मानेर तुरुन्त उपचारमा जानुपर्छ। किनभने यस्तोमा मस्तिष्कको प्रेसर बढेको हुनसन्छ। कुनै केसमा ट्युमर भएर प्रेसर बढ्ने र कुनैमा नसामा अवरुद्ध हुँदा पनि दुख्छ। यस कारण पनि यसमा छिटो उपचारमा जानुपर्छ।
५० वर्ष पछाडिको उमेरका व्यक्तिलाई टाउको दुखिरहन्छ भने पनि सचेत भएर उपचारमा जानुपर्यो।
टाउको दुखाइसँगै हात खुट्टा पनि कमजोर हुन थाल्यो भने यसलाई गम्भीर रुपले लिनुपर्छ। मस्तिष्कको पक्षघात भएको खण्डमा टाउको दुख्नुसँगै हातखुट्टा लुलो भएर आउँछ। यस कारण तुरुन्त उपचारमा जानुपर्छ।
केही व्यक्तिलाई टाउको दुख्दा घाममा हेर्न गाह्रो हुने (फोटोफोबिया) हुन्छ। हुन त फोटोफोबिया माइग्रेनमा पनि हुन्छ। तर बान्ता आउला जस्तो हुने, वान्ता हुने, ज्वरो आउने लक्षण देखिन्छ। यस्तो हुँदा मस्तिष्कको कभरमा संक्रमण देखिएको हुनसक्छ। मेनेन्जाइटिस, इन्सेफलाइटिस हुनसक्छ। यो बेला पनि विशेष सचेत हुनुपर्छ।
टाउको दुखाइलाई प्राइमरी हेडेक र सेकेन्डरी हेडेकमा विभाजन गरिन्छ। माथि उल्लेख गरेका सेकेण्डरी हेडेक हुन्। यदि कुनै रोगको लक्षणका रुपमा टाउको दुख्छ भने सेकेण्डरी हेडेक भनिन्छ। यस्तो अवस्थामा तुरुन्तै उपचार गर्नुपर्ने हुन्छ।
प्राइमरी हेडेकमा परीक्षण रिपोर्टहरु सामान्य आउँछ। जस्तो-सिटीक्यान, एमआरआइ, रगतका रिपोर्ट सामान्य देखिन्छ र पनि तपाईलाई टाउको दुखिरहन्छ भने यो प्राइमथरी हेडेक हुन्छ।
प्राइमथरी हेडेकमा प्रायगरी हुने भनेको माइग्रेन र तनावले हुने टाउको दुखाइ धेरै छ।
माइग्रेन हल्काफुल्का हुँदैमा उपचार गर्नुपर्दैन। तर माइग्रेन हो भनेर थाहा पाउनुपर्छ। माइग्रेनमा के कारणले टाउको दुख्ने भन्ने हुन्छ।
कसैलाई खाना खाएपछि टाउको दुख्छ, निद्रा नपुगेर दुख्छ, तनावको कारणले, कसैलाई खाना नपचेर पनि टाउको दुख्छ।
कोहीलाई भीडभाडमा जाँदा दुख्छ, कसैलाई घाममा जाँदा टाउको दुख्छ। टाउको दुख्ने कारण थाहा पाएर त्यसबाट जोगियो भने औषधि नखाए पनि ठिक हुन्छ । २ महिना, ३ महिनामा एक पटक टाउको दुख्ने माइग्रेनमा चाहिँ औषधि लिनुपर्दैन।
टाउको दुख्ने कारणलाई वेवास्ता गर्यो भने कहिल्यै ठिक हुँदैन। जति औषधि खाए पनि समस्या उस्तै हुन्छ । जसरी सुगर भएको व्यक्तिले कार्बाेहाइड्रेड खान नियन्त्रण नगर्दा रोकथाम हुँदैन, माइग्रेनको केसमा पनि त्यस्तै हो।

हेल्थपाटी
तपाईँको अभिमत