कोरोना संक्रमणको जोखिम कायमै, डिसेम्वरमा १० हजार संक्रमितको मृत्यु

फाइल तस्विर
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरसको जोखिम अझै कायम रहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयुसिसले सन् २०२४ सुरु भएपछि पहिलो पत्रकार सम्मेलन गरि कोरोना संक्रमणको विश्वव्यापी रुपमा स्वास्थ्य आपत्कालिन अवस्था नरहेपनि भाइरसको सञ्चार रहिरहेको र यसले कयौंलाई मारिरहेको बताउनुभएको हो ।
उहाँका अनुसार डिसेम्वर महिनामा मात्रै कोरोना संक्रमणका कारण विश्वभर १० हजार जनाको मृत्यु भएको छ, नोभेम्वर महिनाको तुलनामा डिसेम्वरमा अस्पताल भर्ना हुनेको दर ४२ प्रतिशत र आइसियुमा भर्ना हुने दर ६२ प्रतिशतले वृद्धि भएको छ ।
यो तथ्यांक अमेरिका र युरोपका ५० भन्दा कम देशको हो । डिसेम्वरमा बिदाको समय भएको र मानिसहरु भेला हुने क्रम बढ्दा पनि संक्रमण बढेको उहाँको भनाइ छ । हाल विश्वभर कोरोनाको सव भेरियन्ट जेएन१ देखिएको महानिर्देशक टेड्रोसले बताउनुभयो ।
संक्रमण अन्य देशहरुमा पनि बढिरहेको तर रिपोर्ट नभएको महानिर्देशक टेड्रोसले बताउनुभयो । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । ‘कोरोना उत्कर्षको पुगेको बेलाको समयमा भन्दा अहिले एक महिनामा १० हजार जनाको मृत्यु हुनु धेरै कम भएपनि यो मृत्यु रोक्न सकिने थियो, ’ टेड्रोसले भन्नुभयो ।
उहाँले कोरोनो विरुद्धको खोप लगाउन, भीडमा हिड्दा सुरक्षाका मापदण्ड अपनाउन सबैलाई अनुरोध गर्नुभयो ।
सन् २०१९ मा चीनको युहानमा डिसेम्वरमा पहिलो पटक देखिएको कोरोना संक्रमणका कारण सन् २०२३ सम्ममा ७० लाख भन्दा बढी मानिसको मृत्यु भयो । सन् २०२३ को मे मा डब्ल्यूएचओले कोरोना संक्रमणलाई विश्वव्यापी आपत्कालिन संकटको समाप्तीको घोषणा गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत