भिटामिन ‘बी १२' को कमीले देखिन्छ कम उमेरमै बिर्सने समस्या (भिडियो)
शरीरलाई सबै भिटामिन जस्तै भिटामिन ‘बी १२’ पनि उत्तिकै आवश्यक पर्छ। यसलाई शरीर आफैँले बनाउन सक्दैन त्यसैले खानेकुराबाटै प्राप्त गर्नुपर्ने हुन्छ । माछा, मासुमा मात्रै भिटामिन ‘बी पाइन्छ । केही मात्रामा सिन्की, गुन्द्रुकमा पनि भिटामिन ‘बी पाइन्छ ।
शरीरमा भिटामिन ‘बी १२’ ले शरीरमा रातो रक्तकोष बनाउन मद्दत गर्दछ । रक्तकोषले अक्सिजन बोक्ने काम गर्छ । शरीरको सामान्य पद्धतिको काम पनि गर्छ । जस्तै मस्तिष्क र स्नायु कोषिकाहरूलाई बलियो बनाउन सहयोग गर्छ। पाटन अस्पतालमा कार्यरत डाइटिसियन समिक्षा कार्कीकाअनुसार नेपालमा गरिएको एक अध्ययनले गर्भवती महिलालाई भिटामिन ‘बी १२’ को कमी हुने जोखिम रहेको देखिएको छ ।
हेल्थपाटीसँगको कुराकानीमा उहाँले तुलनात्मक रुपमा पुरुषलाईभन्दा महिलालाई भिटामिन ‘‘बी १२’ को कमी भएको पाइएको बताउनुभयो । यो समस्या सामान्यतया शाकाहारी मानिसमा बढी देखिएको उहाँको भनाइ छ ।
भिटामिन ‘बी १२’ नियमित रुपमा परीक्षण नगर्ने परिपाटीले शरीरमा विभिन्न किसिमका असरहरु देखिसकेको हुने उहाँ बताउनुहुन्छ।
‘शरीरमा भिटामिन ‘बी १२’ को कमी भएमा धेरै समस्या आउन थाल्छु' कार्की भन्नुहुन्छ, ‘लामो समयसम्म उपचार गरिएन भने यसले गम्भीर रोगसमेत निम्त्याउन सक्छ। समयमै उपचार नभए मृत्युसम्म हुनसक्छ । ’
लक्षणहरू
भिटामिन ‘बी १२’ को कमीले शरीरमा देखिने असरका बारेमा धेरैलाई ज्ञान नरहेकाले यसको कमीले देखिने स- सानो लक्षणमा वेवास्ता हुने गरेको उहाँले सुनाउनुभयो ।
‘बी १२’ को कमी हुँदा थकान र कमजोर महसुस हुने, गिजाँमा घाउ आउने, हात, पैताला झमझम गर्ने, शरीरमा पिनले घोचेको जस्तो महसुस हुने गर्छ ।
साथै कसैकसैलाई कम उमेरमै क्षणिक बिर्सने समस्या पनि देखिन्छ । बिर्सने समस्या देखियो भने भिटामिन ‘बी १२’ को कमी भयो कि भनेर सचेत हुन उहाँले सुझाव दिनुभयो । कसै-कसैलाई एन्जाइटीको समस्या हुने र उमेर बढ्दै जाँदा डिमेन्सियाको जोखिम रहन्छ ।
भिटामिन ‘बी १२’ को कमीले शरीरमा के कस्ता असरहरु देखिन्छन्, कस्ता लक्षणहरु देखिए भिटिामिन ‘बी १२’ को कमी भयो भनेर थाहा पाउने ? लगायतका विषयमा पाटन अस्पतालमा कार्यरत डाइटिसियन समिक्षा कार्कीसँग जगन्नाथ ढकालले कुराकानी गर्नुभएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत