सेतो अण्डा वा खैरो अण्डा : कुन राम्रो ?
यदि तपाईंलाई अण्डा खान मन पर्छ भने, सेतो र खैरो अण्डाको बहस तपाईंले कहिल्यै न कहिल्यै सुन्नुभएकै होला।
धेरैजसोले सोध्ने गर्छन्—सेतो अण्डा र खैरो अण्डामध्ये कुन पोषणीय रूपमा बढी लाभदायक हुन्छ ?
बजारमा खैरो अण्डा प्रायः सेतो अण्डाभन्दा महँगो पाइन्छ, जसले गर्दा यो प्रश्न झन् जटिल र चासोको विषय बनेको छ।
धेरैको सोचाइ हुन्छ कि खैरो अण्डा अर्गानिक हुन्छ र पोषणमा सेतो अण्डाभन्दा बढी हुन्छ। केहीले स्वादका आधारमा पनि खैरो अण्डा उत्तम ठान्छन्। उनीहरूको मान्यता अनुसार खैरो अण्डाको स्वाद राम्रो हुन्छ र स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुन्छ।
अण्डाको रङ्ग किन फरक हुन्छ ?
बजारमा सेतो र खैरो दुवै प्रकारका अण्डा सजिलै उपलब्ध छन्। तर प्रश्न उठ्छ— यी अण्डाको रङ्ग किन फरक हुन्छरु के रङ्गसँग पोषणको कुनै सम्बन्ध छरु
विशेषज्ञहरूका अनुसार अण्डाको छिल्कोको रङ्ग कुखुराको जातिमा निर्भर गर्छ।
अमेरिकी पत्रिका ‘फुड एन्ड वाइन’ अनुसार सेतो पखेटा र सेतो कान भएका कुखुराले सेतो अण्डा पार्छन् भने रातो पखेटा र रातो कान भएका कुखुराले खैरो अण्डा पार्छन्।
केही जातका कुखुराले निलो वा हरियो अण्डा पनि पार्न सक्छन्, तर त्यो पनि जेनेटिक कारणले हुन्छ।
पोषणमा के फरक पर्छ ?
मेडिकल न्यूज टुडेका अनुसार, सेतो र खैरो अण्डा दुवैमा प्रोटिन, भिटामिन र खनिज करिब समान मात्रामा हुन्छ।
तर खुला ठाउँमा पालन भएका कुखुराका अण्डा र ओमेगा–३ युक्त अण्डामा भिटामिन डी र ओमेगा–३ को मात्रा बढी हुन सक्छ।
सामान्य ठूलो अण्डामा करिब ९० क्यालोरी र ८ ग्राम प्रोटिन हुन्छ। मध्यम अण्डामा करिब ६० क्यालोरी र ६ ग्राम प्रोटिन हुन्छ।
स्वादमा के भिन्नता हुन्छ ?
धेरैले भन्छन्—खैरो अण्डाको स्वाद फरक हुन्छ। तर, हेल्थलाइनका अनुसार—सेतो वा खैरो अण्डा बीच स्वादमा खासै फरक हुँदैन।
तर सबै अण्डाको स्वाद एउटै हुँदैन। कारणहरू :
– कुखुराको जात
– खानाको प्रकार
– अण्डाको ताजापन
– पकाउने तरिका
घरमै पालेका कुखुराको आहार परम्परागत फर्ममा पालिएका कुखुराको भन्दा फरक हुन्छ, जसले अण्डाको स्वादमा असर पार्छ।
कुन अण्डा छान्ने ?
धेरैले भन्छन्—खैरो अण्डा अर्गानिक हुन्छ।
तर अमेरिकन एग बोर्डका मार्क ड्रेस्नर यो कुरा अस्वीकार गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ— ‘सबै खैरो अण्डा अर्गानिक हुँदैनन्। सेतो वा खैरो जे भए पनि अण्डा अर्गानिक वा हेल्दी हुन सक्छ। रङ्गबाट अर्गानिक छुट्याउनु गलत हो।’
रङ्गभन्दा ताजापन र गुणस्तर हेर्नु महत्त्वपूर्ण हुन्छ। अण्डा किन्दा यस्ता कुरामा ध्यान दिनुहोस् :
– फोहोर नभएको र नफुटेको छिल्को भएको अण्डा छान्नुहोस्
– आफ्नो आवश्यकता र बजेट अनुसार आकार मिलाएर अण्डा छान्नुहोस्
– स्रोत र ताजापन प्राथमिकतामा राख्नुहोस्
(बीबीसी हिन्दीबाट)
हेल्थपाटी
तपाईँको अभिमत