राष्ट्रिय ट्रमा सेन्टरमा वास्तुपूजा गरेर भान्सा उद्घाटन (भिडियो)
राष्ट्रिय ट्रमा सेन्टरका बिरामीका लागि अब अस्पतालभित्रै खाना बन्ने भएको छ । खाना बनाउने भन्सा सोमबार उद्घाटन भएको छ। अस्पतालमा भर्ना भएका बिरामीका लागि यस भान्सामा खाना बन्नेछ।
राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा.बद्री रिजालले रिबन काटेर भन्साको उद्घाटन गर्नुभयो।
मेसु डा.रिजालका अनुसार यसअघि पनि यहाँ भर्ना भएका बिरामीलाई अस्पतालले नै खाना सुवाउँदै आएको थियो। आफ्नै किचन नभएका कारण वीर अस्पतालमा पकाएर ल्याउने गरिएको थियो । किचन बनेपछि अब सहज भएको डा.रिजालले बताउनुभयो ।
उहाँका अनुसार फागुन महिनाबाट यहाँ खाना बन्न सुरु हुन्छ ।
२०० शैय्याको यस अस्पतालमा कहिले कहीँबाहेक पूरा शैय्यामा बिरामी हुन्छन् ।
यो किचनमा आहारविद्को निगरानी र निर्देशनमा पोषणयुक्त खाना बन्ने राष्ट्रिय ट्रमा सेन्टरकी डाइटिसिएन सुपर भाइजर योगिता सापकोटाले बताउनुभयो।
सापकोटाका अनुसार खाना तथा खाजा गरी दिनको ४ पटक बिरामीलाई खानेकुरा दिइन्छ । बिरामीलाई आवश्यक पोषणका आधारमा डाइटिसियनको निर्देशन अनुसार खाना बन्नेछ।
बिहानका लागि दूध, अण्डा र जौको सातु दिइन्छ । मध्यान्हको खानामा दाल, भात, तरकारी र मासु मेनुमा रहेको छ । दिउँसो दूध अण्डा र एउटा फलफूल र बेलुकालाई दाल, भात, तरकारी खुवाउने गरी मेनु भयार भएको छ ।
बिरामीको आवश्यकताअनुसार क्यालोरी हिसाब गरेर खानाको मेनु बनाएइको डाइटिसिएन सापकोटाले जानकारी दिनुभयो।
अस्पतालको अण्डरग्राण्डमा पहिला काम नलाग्ने वस्तु थुपारेर राख्ने गरेको ठाउँ खाली गरेर किचेन बनाइएको छ ।
यस्तो ठाउँमा किचेन बनाउन लागेको भनेर धेरैले आलोचना गरेपनि भएको ठाउँको सदुपयोग गरी व्यवस्थित किचेन बनाएको सापकोटाले जानकारी दिनुभयो ।
किचेनमा जो पायो त्यही व्यक्ति छिर्न नपाउने, किचेनमा खटिने कर्मचारी समेत बाहिरी कोठामा आएर सरसफाइ गरिसकेपछि मात्रै मुख्य किचेनमा प्रवेश गर्नुपर्ने उहाँको भनाइ छ ।
सरकारी अस्पतालमा यो खालको किचेन निर्माण भएको पहिलो रहेको सापकोटाको भनाइ छ । यो खालको भन्सा बनाउने भनेर ३ वर्ष अघिनै अवधारणा बनाएको भएपनि त्यसले आज मूर्त रुप लिएको उहाँले बताउनुभयो ।
सरकारी अस्पतालमा भर्ना भएका बिरामीलाई अस्पतालले नै खाना खुवाउन सरकारले बजेट छुट्याएको हुन्छ । त्यही बजेटलाई सदूपयोग गरेर अस्पतालमा नै बिरामीलाई स्वस्थ र पोषणयुक्त खाना खुवाउन भन्सा बनाएको सापकोटाको भनाइ छ ।
अवधारणा अनुसार नै खाना खुवाइने र सरकारले छुट्याएको बजेटले नपेगको आन्तरिक स्रोतबाट समेत व्यवस्थापन गरिने मेसु डा.रिजालले जानकारी दिनुभयो।

हेल्थपाटी
तपाईँको अभिमत