भरतपुर अस्पताल : १ वर्षमा ४ लाख बिरामीको उपचार, कस्ता सेवा उपलब्ध छन् ? (भिडियो)
वि. सं. २०१३ सालमा महेन्द्र आदर्श चिकित्सालय हुँदै सामान्य जाँच सुरु गरेको यो अस्पताल २०१८ सालमा २५ शय्याको भएको थियो । स्थापनाकाल देखि नै चितवन, नवलपरासी, महवानपुर, तनुहँ तथा धादिङ लगायत १८ वटा जिल्लाका बिरामीलाई यस अस्पतालले सेवा दिँदै आएको छ ।
२०७५ साल फागुनमा भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्त्तरोन्नती गरिएको थियो । हाल उक्त अस्पताल ६०० शैय्यामा सञ्चालित छ । जसमा इमरजेन्सी ५०, आइसीयू ३८, एनआइसीयू २०, पिआइसीयू ६ र बाँकी वार्डका शय्या रहेका छन्।
भरतपुर अस्पताल रिफरल अस्पताल हो । १८ वटा जिल्लाबाट रिफर भएर आएका बिरामीको यस अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा मधुमेह, कलेजो, मिर्गाैला, मुटु, हड्डी, नसा, मस्तिष्क, मनोरोग, नाक कान घाँटी, छाला, प्याथोलोजी, डेइटल, मेडिसिन, प्रसूति,नवजात शिशुको उपचार, जटिल शल्यक्रिया लगायतका सेवाहरू उपलब्ध छन् ।
ओपिडी अन्तगर्त मेडिसिन, अर्थाेपेडिक्स, सर्जरी, गाइनो, पेडियाट्रिक्स, डर्माटालोजी, इनटी, साइक्याट्रिक, डेन्टल, अप्थाल्मोलोजी, रेडियोलोजी, एनेस्थेसिया कम्युनिटी मेडिसिन। जिओपिडी सेबा उपलब्ध छन् ।
ओपिडीमा १५३ जना डाक्टरले बिरामीको उपचार गरिरहनुभएको छ । सुपरस्पेसियालिटी सेवा अन्तर्गत कार्डियोलोजी, नेफ्रोलोजी, न्यूरोलोजी, हेपाटोलोजी, न्यूयोनाटालोजी, इन्ड्रोक्रिनोलोजी, न्यूरो सर्जरी, प्लाष्टिक सर्जरी, सिटिभिएस, यूरोलोजी विभागबाट उपचार सेवा प्रदान भइरहेको छ । यी सेवा दिनका लागि १६ जना विशेषज्ञ डाक्टर उपलब्ध हुनुन्छ ।
अस्पतालमा वार्षिक ४ लाख बिरामीले सेवा लिने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिनुभयो । ४ वटा ब्लकबाट सेवा प्रदान गर्दै आएको अस्पतालमा अझै २ वटा भवनको अभाव रहेको उहाँ बताउनुहुन्छ।
डा.तिवारीका अनुसार प्रसूति र आकस्मिक सेवाका बिरामीका लागि छुट्टै भवन आवश्यक छ। भरतपुर अस्पताल प्रसूति सेवाका लागि चर्चित छ । प्रसूति सेवामा यस अस्पताल थापाथलीपछि दोस्रोमा पर्दछ । यहाँबाट वर्षेनी कम्तिमा १२ हजार गर्भवतीले प्रसूति सेवा लिने गरेको मेसु डा.तिवारी सुनाउनुहुन्छ।
अस्पतालमा बीमा कार्यक्रम पनि सञ्चालन छ, त्यसैले बीमाका बिरामी धेरै पुग्ने गरेका छन् । साथै विपन्न नागरिकको नि:शुल्क उपचार भइरहेको छ ।
वार्षिक रुपमा यस अस्पतालमा ४ लाख बिरामीले सेवा लिने गरेका छन् । ओपीडि मा ३ लाख, इमर्जेन्सी ३० हजार बिरामीले सेवा लिएको तथ्यांक रहेको छ । आकस्मिक उपचारमा सुरुको प्रारम्भिक उपचार नि:शुल्क हुँदै आएको छ ।
अस्पतालमा अनलाइन टिकटको व्यवस्था छ । यो सुविधाबारे थाहा नहुँदा धेरै बिरामीले लाइनमै बसेर टिकट काट्ने गरेका छन् ।
२०७६ सालमा यस अस्पतालका लागि सरकारले ५०० बेडको स्वीकृति दियो तर सो अनुसार दरबन्दी स्वीकृत भने भएको छैन ।
बिरामीको चाप धेरै भएकाले पालो कुर्नुपर्ने अवस्था छ । बिरामीको चाप अनुसार अस्पताललाई ८०० बेडमा विस्तार गर्न आवश्यक भएको तिवारीको भनाइ छ।
यसका लागि बजेटको माग गरेर स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पनि गरिसकेको मेसू तिवारीले जानकारी दिनुभयो ।
हाल अस्पतालमा २०० डाक्टर, ६०० नर्ससहित १ हजारभन्दा बढी कमचारी कार्यरत छन् ।
हाल अस्पतालमा मुटुरोग सम्बन्धी सम्पूर्ण उपचार र एमआरआइ सेवा छैन । बिरामीको चाप अनुसार स्थान साँघुरो छ ।
साथै अन्य जिल्लाहरूबाट आएका बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन नपर्ने गरी काम थालनी गरिएको उहाँको दाबी छ ।
यसका लागि अस्पतालको स्रोत साधन र संरचना निर्माणका लागि योजना बनाएर स्वास्थ्य मन्त्रालयमा पेश गर्ने तयारी भइरहेको तिवारीले बताउनुभयो ।
अस्पतालमा अपरेशन थियटर ८ वटा छन् । इलेक्टिभ शल्यक्रियाका लागि कम्तिमा ३-४ महिना पालो कुर्नुपर्ने अवस्था रहेको छ
शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समयलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको मेसु तिवारीले जानकारी दिनुभयो ।
काठमाडौं बाहिर विशिष्ट सेवा प्रदान गर्दै आएको भरतपुर अस्पतालको सेवा सुविधा र बिरामीको सुविधाका लागि अब गर्नैपर्ने कामका विषयमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीसँग तुलसा घिमिरेले गर्नुभएको कुराकानी भिडियोमा हेर्नसक्नुहुनेछ ।
तपाईँको अभिमत