वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन, यी सेवा प्रवाह हुनेछन्
काठमाडौं । कोभिड - १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा ५०० बेड थपिने भएको छ ।
नव निर्मित भवनको उद्घाटन कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्राडा.जागेश्वर गौतमले आइसियु, एचडियु र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको बताउनुभयो । पुरानो भवन र ट्रमामा नन कोभिडको बिरामीको उपचार सुरु भइसकेको गौतमले जानकारी दिनुभयो ।
२५ वटा आकस्मिक बेडलाई बढाएर १००, थप १०० थपि आइसियु बेड २०० पुर्याउने तथा मिर्गाैला डाइलाइसिसको मेशिनलाई १५बाट बढाएर १०० पु्याउने, दैनिक ७५ वटा सर्जरी पुर्याउने लक्ष्य अनुसार काम अघि बढाइएको उहाँको भनाइ छ ।
साथै मिर्गाैला प्रत्यारोपणको सेवालाई बढाएर मासिक १५ जनाभन्दा बढीको प्रत्यारोपण गर्नेगरि काम अघि बढाइएको पनि गौतमले बताउनुभयो । वीरलाई थप ५ अर्ब अनुदान दिए निशुल्क विशेषज्ञता सेवा प्रदान गर्न सकिने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । गौतमले वीरमा ८३१ जना दरबन्दी थप भएसँगै विशेषज्ञता सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
यस आर्थिक वर्षमा असार २५ गतेसम्म २१ सय १८ जना कोभिडका बिरामीको उपचार भएको जसमध्ये १७५५ जना निको भएको र २७९ जनाको मृत्यु भएको छ । हाल ८४ जना उपचाररत छन् । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत