बालबालिकालाई क्यान्सर देखिए तीन अस्पतालमा नि:शुल्क उपचार हुने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर देखिए नि:शुल्क उपचार हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले यस्तो निर्णय गर्नुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्ण गरी नि:शुल्क उपचारको व्यवस्था मिलाउन लागेको हो।
तीन वटा अस्पतालमा निशुल्क उपचार सेवा उपलब्ध हुने गरी निर्णय भएको स्वास्थ्य मन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रालयको सचिवालयका अनुसार कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवन भरतपुरस्थित बीपी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल यो सेवा प्राप्त हुनेछ ।
मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।
नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हरेक वर्ष करिब १५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावका कारण मृत्युको मुखमा पुग्न नदिन उपचार निशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।
‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ, उहाँले भन्नुभयो, ‘आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौँ।’
मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेर थाल्नुभएको थियो ।
नीतिअनुसार बालबालिकाको क्यान्सर न्यूनीकरण गर्न पहिलो निर्णय गरेको तीन महिनामा उपचार निःशुल्क गराउने निर्णय गर्नुभएको हो ।
सकेसम्म आन्तरिक स्रोतबाटै गर्ने र अपुग रकम मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।र
हेल्थपाटी
तपाईँको अभिमत